सुकुमेल आयातमा उच्च वृद्धि, ग्वाटेमालाबाट आउँछ सबैभन्दा बढी



काठमाडौं । मसलाको रुपमा प्रयोग हुने सुकुमेल आयातमा उच्च वृद्धि भएको छ । ग्रिन कार्डामम या स्मल कार्डामम भनेर पनि चिनिने सुकुमेलको आयातमा आर्थिक वर्ष २०७८/७९ को तुलनामा गत वर्ष ९२.९३ प्रतिशतले वृद्धि भएको हो ।

आव २०७८/७९ मा ७२ करोड ४६ लाख ५६ हजार रुपैयाँबराबरको ४ लाख ६७ हजार ३४८ किलो सुकुमेल आयात भएकोमा आव २०७९/८० मा १ अर्ब ३९ करोड ८० लाख ५४ हजार रुपैयाँबराबरको १० लाख ७४ हजार ६९६ किलो आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ ।

त्यस्तै आव २०७५/७६ मा २९ करोड ५ लाख ५७ हजार रुपैयाँबराबरको १ लाख ८६ हजार ८८९ किलो आयात र आव २०७६/७७ मा ९३ करोड ३३ लाख ३९ हजार रुपैयाँबराबरको ४ लाख ७१ हजार १२४ किलो सुकुमेल आयात भएको छ ।

विभागको तथ्यांकअनुसार आव २०७७/७८ मा ९९ करोड ६५ लाख ४६ हजार रुपैयाँबराबरको ५ लाख ६४ हजार ६५६ किलो सुकुमेल आयात भएको छ ।

चालु आवमा पनि सुकुमेल आयातमा उच्च वृद्धि हुने देखिएको छ । चालु आव २०८०/८१ को साउनदेखि असोजसम्ममा ६४ करोड ९४ लाख ४४ हजार रुपैयाँबराबरको ४ लाख ८२ हजार ९६ किलो आयात भएको छ ।

गत वर्षको सोही अवधिमा भन्दा यो १० गुणाभन्दा बढी हो । गत वर्षको साउनदेखि असोजसम्ममा ६ करोड ६४ लाख ९० हजार रुपैयाँबराबरको ४४ हजार ५७ किलो सुकुमेल आयात भएको थियो । पाँच वर्षमा २७ लाख ६४ हजार ७१३ किलो सुकुमेल आयात भएको विभागको तथ्यांकले देखाउँछ ।

नेपालमा सबैभन्दा बढी ग्वाटेमालाबाट सुकुमेल आयात हुन्छ । त्यसबाहेक भारत पनि सुकुमेल आयात हुने गरेको छ । विगतमा युनाइटेड अरब इमिरेट्स (यूएई) बाट आयात हुने गरेकोमा केही वर्षयता भने आएको छैन ।

सुकुमेलका फाइदा

मुख्यतः मसलाको रुपमा प्रयोग गरिने सुकुमेल स्वास्थ्यका लागि निकै उपयोगी मानिन्छ । सुकुमेलको नियमित सेवनले रक्तसञ्चारमा सुधार हुने र मुटुसम्बन्धी समस्याबाट राहत मिल्ने विभिन्न अध्ययनले देखाएका छन् ।

सुकुमेल दाँतसम्बन्धी रोग र मुत्रनली संक्रमणजस्तै सिस्टाइटिस, नेफ्राइटिस र गोनोरियाको उपचारका लागि पनि फाइदाजनक मानिन्छ । यसले नपुंसकता, यौन उत्तेजना नहुने तथा चाँडै वीर्य झर्ने समस्या पनि समाधान गर्ने बताइन्छ ।

सय ग्राम सुकुमेलमा ३ सय क्यालोरी इनर्जी, कार्बोहाइड्रेट ५८ ग्राम, प्रोटिन ११ ग्राम, फाइबर २८ ग्राम पाइन्छ । सुकुमेलमा भिटामिन पनि प्रशस्त हुन्छ । सुकुमेलमा भिटामिन ए, भिटामिन सी, सोडियम, पोटासियम, क्याल्सियम, कपर, आइरन, म्याग्नेसियम, फोस्फोरस र जिंक पाइन्छ ।

सुकुमेलले डिप्रेसन हटाउन सहयोग गर्छ । दाँतको समस्या समाधान गर्छ । दमको समस्या समाधान गर्छ । रक्तसञ्चार सुधार गर्छ । घाँटी सुकेको अवस्थामा र बान्तामा उपयोगी हुन्छ । पिसाबसम्बन्धी समस्या समाधान गर्छ । श्वासको दुर्गन्ध हटाउँछ ।

वाकवाकी लागेको समयमा सुकुमेल र ल्वाङ राम्ररी उमालेर खाँदा सञ्चो हुने आयुर्वेदका जानकार बताउँछन् ।


क्लिकमान्डु