चन्द्रागिरीमा प्याराग्लाइडिङ गर्ने पर्यटक बढे, कति लाग्छ शुल्क ?



काठमाडौं । आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धनका लागि सुरु गरिएको चन्द्रागिरी—चित्लाङ प्याराग्लाइडिङमा पर्यटकको आकर्षण बढेको छ ।

हाइ अल्टिच्युड प्याराग्लाइडिङको नेपालकै पहिलो प्रशिक्षक पाइलट सानोबाबु सुनुवारको कम्पनी ’बाबु एड्भेन्चर्स’ले प्याराग्लाइडिङ सञ्चालनमा ल्याएको हो । चन्द्रागिरीमा प्याराग्लाइडिङको व्यवसायिक उडान सुरु भएसँगै पर्यटकहरु पनि शाहसिक पर्यटनमा आकर्षित भएका हुन् ।

भालेश्वर मन्दिरबाट २० मिनेट पश्चिमतर्फको चन्द्रागिरी डाँडाबाट प्याराग्लाइडिङ उडान सुरु हुन्छ । चन्द्रागिरी—२३ सय मिटरबाट सुरु भएको उडान त्यहाँबाट आकासमा सय मिटरसम्म उचाइ लिन्छ ।

मनोरम दृश्यहरूको अवलोकन गर्दै समुन्द्र सतहबाट १७ सय मिटर उचाइ रहेको चित्लाङमा प्याराग्लाइडिङको अवतरण हुने बताउँछन् प्रशिक्षक पाइलट सुनुवार ।

प्याराग्लाइडिङ उडानका क्रममा भालेश्वर मन्दिरको एरियल भ्युका साथै काठमाडौं उपत्यकाको अधिकांश भूभागको अवलोकन गर्न सकिन्छ ।

रसुवा र धादिङका भूभाग समेत देख्न पाइने उडानबाट मकवानपुरको टिस्टुङ, पालुङ लगायत मानव निर्मित इन्द्रसरोवर तालको समेत आकर्षक दृश्यावलोकन गर्न सकिन्छ ।

मौसम खुलेको बेला उत्तरतर्फ देखिने फराकिलो हिमश्रृंखलाले पर्यटकहरुलाई मोहित पार्छ । उनले उडान अवधि १५ देखि २० मिनेट भनेपनि २० देखि २५ मिनेटसम्म आकाशमा चराझैँ उडेर रमाइलो गर्न सकिने बताए ।

यो काठमाडौं शहरबाट छोटो दूरीको प्याराग्लाइडिङ स्थल हो । उडानमा चुनौति भन्दा बढी रमाइलो रहेको उनले बताए । उडान गर्नेहरुका लागि पिकअपको लागि सोह्रखुट्टे र कलंकीमा पुग्नुपर्नेछ । समय र मौसमअनुकुल प्याराग्लाइडिङको मज्जा लिन सकिने उनको भनाइ छ । एयरपोर्टबाट एकदमै सुरक्षित ठाउँ र यो रुटमा कुनै उडान नहुने भएकाले पनि सुरक्षित स्थान रहेको बताए । ६ वर्षदेखिको दौडधुपले काम सफल भएकोमा खुशी लागेको बताए ।

उडानका लागि अहिले ६ जना पाइलट रहेको र आवश्यकताअनुसार बढाउँदै लैजाने उनको भनाइ छ । सुरुवाती एक महिनाको लागि फोटो भिडियोसहित नेपालीलाई अहिले आफ्नै भेइकलबाट आउनेलाई ७ हजार २ सय र आफूहरुको साधनमा आउनेलाई ८ हजार रुपैयाँ लाग्ने उनले जानकारी दिए । त्यस्तै फोटो भिडियोसहित विदेशी नागरिकलाई पनि हाललाई १२ हजार तोकिएको छ । मौसमले साथ दिएसम्म ३० देखि ४० जनाले दिनमा प्याराग्लाइडिङ गर्नसक्ने उनले बताए ।

अहिलेसम्मको लगानी डेढ करोड भन्दा बढी रहेको उनले बताए ।

‘उड्ने स्थान समुन्द्री सतहबाट २३ सय मिटर अग्लो छ । ल्याण्डिङ हुने ठाउँ समुन्द्री सतहबाट १७ सय मिटर रहेको छ । ल्याण्डिङ चित्लाङमा हुन्छ भने चन्द्रागिरी डाँडाबाट उड्दैछौँ । उडान अवधि १५ देखि २० मिनेट भनेपनि कति रमाइलो लाग्छ, २० देखि २५ मिनेटसम्म उड्नेछौँ । यो नेपालको काठमाडौं शहरबाट एकदमै छोटो दूरीको प्याराग्लाइडिङ स्थल हो’सुनुवारले भने ।

यता प्याराग्लाइडिङ गर्न पुगेका सर्वसाधारण नागरिकहरु भने चित्लाङ पर्यटकका लागि उचित स्थल भएकाले प्याराग्लाइडिङले थप पर्यटन प्रवद्र्धन गर्न मद्दत पुग्ने बताउँछन् । सर्वसाधारण मदन खड्काले चन्द्रागिरीबाट चित्लाङ प्याराग्लाइडिङ गर्दा पर्यटनका साथै रमाइलो अनुभव गर्न सकिने बताए ।

‘साथीहरुसँग रमाइलो लाग्छ । चित्लाङ पर्यटकका लागि राम्रो छ । त्यसअनुसार अहिले यसरी सहजै चन्द्रागिरीबाट चित्लाङ जान राम्रो हुन्छ’ खड्काले भने ।

त्यस्तै प्याराग्लाइडिङ गर्न चन्द्रगिरी पुगेका नेपाल प्रहरीका सहायक हवल्दार सुवास कुमारले प्याराग्लाइडिङ गरिसकेपछि कुरा गर्दै रमाइलो लागेको अनुभव सुनाए । सरकारले पर्यटन प्रवद्र्धनका लागि आवश्यक काम र पहलकदमी गर्नुपर्ने उनले बताए ।

यता चित्लाङ घुम्न आएका सिन्धुलीका शिक्षक लक्ष्मीप्रसाद घिमिरेले चित्लाङमा प्याराग्लाइडिङ नयाँ आएको र आम नागरिकले धेरै मन पराएको बताए ।

‘प्याराग्लाइडिङ नयाँ आएको रहेछ । यो राष्ट्रिय र अन्तर्राष्ट्रिय तथा आन्तरिक र वाह्य पर्यटन प्रवद्र्धनका लागि आकर्षक हुनेछ । सरकारले पनि केही व्यवसायिक लगानी गर्नुपर्छ’ उनले भने ।


क्लिकमान्डु