२५ गुणाले बढ्यो तिहारमा मिठाईको माग, मूल्य कति बढ्यो ?




काठमाडौं । तिहार लागेसँगै मिठाई पसलमा भीड छ । मिठाई व्यवसायीलाई कुरा गर्नु परैको कुरा, पैसा गन्नसम्म भ्याइनभ्याई छ । तिहार सबैभन्दा बढी मिठाई खपत गर्ने पर्व हो । तिहारमा मुख्ययता दूधको खुवा र पिठोजन्य पदार्थबाट निर्मित दर्जनौं प्रकारका मिठाईको ठूलो कारोबार हुने गर्छ ।

दसैं, तिहार, आमाको मुख हेर्ने दिन, दर खाने दिन, वैशाख १ गते पनि मिठाईको माग अचाक्ली बढ्छ । सामान्य दिनभन्दा यी दिनमा चार दोब्बर माग बढ्छ ।

तिहार झिलिमिली बत्ति र मिठाईको तिहार भएकाले मिठाईको माग ह्वात्तै बढ्छ । यो वेला सामान्य दिनभन्दा झण्डै २५ गुणा बढी मिठाईको बजार बढ्ने र खपत पनि त्यति अनुपातमा हुने मिठाई व्यवसायी अनिलराज राजकर्णिकार बताउँछन् ।

नेपाल डेरी प्राइभेट लिमिटेडका निर्देशक अरनिको राजभण्डारीका अनुसार तिहारमा बढ्ने अत्यधिक मागलाई व्यवस्थापन गर्न छुट्टै कामदार नराखिने भएकाले व्यवसायीलाई पसलको व्यवस्थापन गर्न निक्कै हम्मे पर्छ ।

मिठाईको माग अत्यधिक बढेर बजार धान्न धौ धौ परेको व्यवसायीलाई भने यो वर्ष चिनीको अभाव र अत्यधिक मूल्यका कारण पिरोलेको छ । सहज रुपमा पर्याप्त परिमाणमा चिनी नपाइदा व्यवसायीलाई मिठाई बनाएर बजारमा पठाउन समस्या भएको सम्बन्धित व्यवसायीहरुले बताएका छन् ।

व्यवसायीहरुका अनुसार दहीमा करिब ७ प्रतिशत र मिठाईमा करिब १७ प्रतिशत चिनीको प्रयोग हुन्छ । कुनै कुनै मिठाई चास्नीमा डुवाएर राख्नुपर्ने भएकाले चास्नी बनाउन अत्यधिक परिमाणमा चिनी खपत हुने उद्योग वाणिज्य महासंघको कार्यसमिति सदस्य समेत रहेका राजभण्डारीले बताए ।

उनका अनुसार यो वर्ष सरकारले जानेर चिनीको अभाव गरेका कारण मिठाई व्यवसायी ठूलो मारमा परेका छन् ।

कुन समयमा कति खपत हुन्छ भन्ने बिषयमा पहिलेदेखि प्रक्षेपण गरी सहज रुपमा चिनीको आपूर्ति नहुँदा व्यवसायीले प्रतिकिलो १७० रुपैयाँसम्ममा मूल्य अभिवृद्धि कर वाहेकको बीलमा खरिद गर्न बाध्य भएको उनले बताए ।

‘हाम्रो सरकार निकम्मा नै भयो, सर्वसाधारण र उद्योग व्यवसायीलाई कुन महिनामा कति माग हुन्छ भन्ने बिषयमा पनि प्रक्षेपण गर्न नसकेको सरकारले तिहारमा चिनीको चर्को अभाव सिर्जना गरायो,’ उनले भने,‘यसले गर्दा व्यवसायीले चर्को मूल्यमा चिनी खरिद गर्न बाध्य भए ।’ सरकारले चिनीको कालोबजारी गर्न प्रश्रय दिएको राजभण्डारीको भनाइ छ ।

महँगो मूल्यमा चिनी खरिद गरेका मिठाई व्यवसायीले यो वर्ष लागत खर्च बढेर प्रत्येक मिठाईमा १० देखि २० प्रतिशतसम्म मूल्य वृद्धि भएको छ । उनका अनुसार चिनी अभाव हुँदा घरेलु मिठाई उत्पादन गर्ने स साना व्यवसायीले तिहारको समयमा मिठाई नै बनाउन पाएनन् ।

‘चिनीको चर्को मूल्य र सहज रुपमा उपलब्ध नहुँदा धेरै मिठाई व्यवसायीले मिठाई बनाएर तिहारमा बिक्री गर्न पाएनन,’ उनले भने,‘तिहारमा बढि रुचाइने तर चिनी बढी लाग्ने अनर्सा, सेलरोटीलगायतका अन्य मिठाईहरु व्यवसायीहरुले निक्कै कम परिमाणमा बनाएका छन् ।’

चिनीको चर्को अभाव हुँदा स्वदेशी विस्कुट, चललेट, क्याण्डी, आइसक्रिमलगायतका उद्योगले उत्पादन क्षमता ठूलो परिमाणमा कटौती गर्नुपरेको उनले बताए ।

उनका अनुसार यो वर्ष चिनीको चर्को अभाव हुँदा मिठाई बनाउन निक्कै समस्या परेको छ । बजारमा बिक्री हुने महँगो मूल्यमा चिनी खरिद गरी मिठाई बनाउनु परेको उनको कथन छ ।

‘चिनी नै महँगो मूल्यमा उपलब्ध भएपछि मिठाई पनि महँगो हुने नै भयो,’ भण्डारीले भने,‘यो वर्ष मिठाईको मूल्यमा केही वृद्धि भएको छ । काठमाडौंमा उपलब्ध नहुँदा तराईको जिल्लाबाट पनि आपूर्ति गरेर मिठाई बनाउनु पर्ने बाध्यता यो वर्ष भयो ।’

भण्डारीको नेपाल डेरी प्राइभेट लिमिटेडले पनि परम्परागत र आधुनिक मिठाई तयार पारेर तिहारमा बजारीकरण गर्दैआएको छ । यो उद्योगले मात्रै दैनिक ४० बोरा चिनीको खपत गर्दैआएको छ ।

दुग्ध विकास संस्थान (डीडीसी) लाई पनि यो वर्षको तिहारमा मिठाई बनाउन चिनीले पिरोलेको छ । डीडीसीका महाप्रवन्धक संजिवकुमार झाले मिठाई बनाउन मूल्य अभिवृद्धि कर वाहेकको बीलमा प्रतिकिलो १५० रुपैयाँ सम्ममा चिनी खरिद गर्नुपरेको गुनासो गरे ।

‘वर्षभरमध्ये सबैभन्दा बढी तिहारमै चिनीको माग र खपत हुन्छ, यस्तो वेलामै हामीले चिनीको चर्को अभाव सिर्जना गर्न बाध्य भयौं,’ झाले भने,‘भ्याट बील बिना प्रतिकिलो १६० रुपैयाँमा जति पनि चिनी बजारमा पाइन्छ । भ्याट बील माग्दा चिनी पाइदैन ।’

डीडीसीका अनुसार तिहारमा सामान्य समयभन्दा २० दोब्बरभन्दा बढी परिमाणमा मिठाईको बजार बढ्ने गर्छ । यो वर्षको तिहारको माग धान्न डीसीसीले मिठाईको ६० हजार वट्टा बजारमा ल्याएको छ । रसभरी, लालमोहन र पेडा तयार पारी बजारिकरण गर्दैआएको डीडीसीको मिठाईको एक वट्टामा १० पीस मिठाई हुन्छ । प्रति बट्टालाई २ सय ९० रुपैयाँ उपभोक्ता मूल्य तोकिएको छ ।

‘अझै न्युरोड र लैनचौरस्थित मुख्य बिक्री केन्द्रबाट खरिद गर्दा प्रतिवट्टामा १० रुपैयाँ छुट पनि दिएका छौं,’ महाप्रवन्धक झाले भने,‘गत वर्षको तुलनामा यो वर्ष २० प्रतिशतले बढी मिठाई बजारमा ल्याएका छौं ।’

गत वर्ष डीडीसीले ४२ हजारको संख्या मिठाईको बट्टा बजारमा ल्याएको थियो । त्यो वेला प्रति वट्टाको मूल्य २२० रुपैयाँ थियो । डीडीसीले दैनिक ३ सय बोरा चिनी खपत गर्दैआएको छ । डीडीसीको हेटौंडा र बुटवलस्थित आयोजनामा तयार हुने मिठाई उपत्यकासहित अन्य सहरीक्षेत्रमा बजारीकरण गर्दैआएको छ ।

यस्तो छ नेपालको मिठाईको इतिहास

मल्लकालमा भारत बैंगलोरको त्रिपुरासुन्दरीबाट मछिन्द्रनाथसँगै मिठाई बनाउने हलुवाई भित्रिएको इतिहास छ । तिनै हलुवाई कालान्तरमा राजकर्णिकारमा परिणत भए । राजकर्णिकारको रूपमा परिणत भएका हलुवाईबाट सुरुआत भएको मिठाई बनाउने र बिक्री गर्ने परम्परा अहिले पनि उपत्यकामा जीवितै छ ।

राजकर्णिकारले राजस्थानबाट थप कामदार भित्र्याइ मिठाईको कारोबार सुरु गरेका थिए । मिठाई उत्पादन गर्ने व्यवसायी अनिल राजकर्णिकारका अनुसार मल्लकालीन समयमा दरबारमा दैनिक हुने पूजा आदि शुभकामनामा राजकर्णिकारले तयार पारेको लाखामरी, ऐंठ, अनर्सा, मालपुवा, हलुवा, गुआरामारीलगायत ३२ प्रकारका मिठाई प्रयोग गर्ने चलन थियो ।

राजकर्णिकारले मरु टोल, पाटन, भक्तपुर, ललितपुरलगायत स्थानबाट नेपाली संस्कृति झल्कने मिठाईको कारोबार गरेको मानिन्छ । त्यसपछि राणाकालीन समय र शाहवंशीय समयमा पनि राजकर्णिकारकै मिठाई दरबारमा प्रयोग हुन्थ्यो ।

तत्कालीन राजा महेन्द्र, वीरेन्द्र, ज्ञानेन्द्रको समयमा पनि दरबारमा राजकर्णिकारले तयार पारेको स्वादिलो मिठाई पस्किने चलन थियो । नारायणहिटी दरबारमा राजकर्णिकारका लागि मिठाई तयार पार्ने स्थान नै छुट्टयाइएको थियो ।

समय परिवर्तनसँगै राजकर्णिकार परिवारकै खलकले पछि गएर थापाथलीमा राम भण्डार, श्याम भण्डार, टेकुमा काष्टमण्डप भण्डारलगायत करिब एक दर्जनको हाराहारीमा मिठाई बनाउने काम गर्दै आएका छन् ।

‘उहिले हामीले तयार पार्ने मिठाई मात्रै बजारदेखि दरबारसम्म खान पाइन्थ्यो, तर यो दिन धेरै समयसम्म टिक्न सकेन । हाम्रो परिवारका धेरै सदस्य यो पेसाबाट पलायन मात्रै भएनन् । विदेशिए पनि । त्यसपछि भारतबाट नेपाल आउने उच्च ओहोदाका व्यक्ति उतैबाट मिठाई बोकेर ल्याउन थाले,’ अनिलराज राजकर्णिकार भन्छन्,‘भारतीय मुलका कूटनीतिज्ञ, व्यापारी, कामदार घनत्व बढ्दै गएपछि विस्तारै भारतीय मिठाईको माग बढ्दै गयो । माग बढ्दै गएपछि भारतका प्रख्यात औद्योगिक घरानाबाट मिठाईको आयात हुन थालेको हो ।’

भारतीय मिठाईको तुलनामा नेपाली मिठाई गुणस्तरमा उच्च रहेको अनिल राजकर्णिकारको भनाइ छ । नेपाली मिठाई भन्ने बित्तिकै नाक खुम्च्याउने र आयातीत मिठाई भनेपछि मुख मिठ्याउने नेपालीको बानीका कारण नेपाली परम्परागत मिठाई विस्तारै बजार हिस्सा गुमाउँदै गएको उनको कथन छ ।

तर, पछिल्लो समयमा राजकर्णिकारले स्वदेशी मिठाईको स्तर सुधार गरेर ब्रान्डिङ गरी विदेशसमेत पठाउन थालेका छन् । उनी भन्छन्,‘राज्यले स्वदेशी उत्पादनलाई प्रोत्साहन नदिएका कारण हाम्रो पुर्खौली पेसा विस्थापित हुने अवस्थामा छ ।’

भारतीय ब्रान्डको दबदबा

राजधानीमा परम्परागत मिठाई पसल खुम्चिँदै बन्द हुँदैछन्, भारतीय ब्रान्डका फ्रन्चाइजको विस्तार तीव्र गतिमा जारी छ । आंगन, रामेश्वर, गंगौर, गुलाबलगायत भारतमा चलेका ब्रान्डको आउटलेट खुलेको खुल्यै छन् ।

यस्ता ब्रान्डेड मिठाई सोरुमबाट जेरी अर्थात् जलेवी र जिल्फी, चकलेट बर्फी, पेडा, बेसनको लड्डु, मोतिचुड्को लड्डु, सुजीको लड्डु, मुंगको लड्डु, नरिवल लड्डु, मसला लड्डु, केसरी पेडा, रसवरी, रसगुल्ला, लाल मोहन, गुलाव जामुन, क्रिम मिठाई, काजुको मिठाईलगायत छन् ।

यस्तै कलाकन्द, काजुको बर्फी, कालो जामुन, दूध रवडी, दूधवरी, रस मलाई, गाजरको हलुवा, मुम्बई वदामी हलुवा, सनपापडी, घेवर, काजु कमल, खोया बदाम, राजभोग, बालु शाही, चन्द्रकलालगायत मिठाई बिक्रीवितरण हुँदै आएको छ । उपभोक्ताको स्वाद र छनोटअनुसार विभिन्न स्वाद र सुगर फ्री (चिनी नभएको) मिठाई पनि यस्ता प्रतिष्ठानबाट बजारमा उपलब्ध हुन थालेका छन् ।

विदेशी ब्रान्डसहित स्वदेशी व्यापारिक प्रतिष्ठान राम भण्डार, श्याम भण्डार, बागमती स्विट्स, अनमोल स्वीट्ससहित केही प्रमुख डेरी उद्योगले पनि विभिन्न प्रकारका मिठाई उत्पादन गर्दै आएका छन् ।

नेपाल डेरी प्रालिले ‘एनडीएस’ ब्रान्डमा र नेपाल दुग्ध विकास संस्थान (डीडीसी) ले विभिन्न प्रकारका मिठाई उत्पादन गर्दै आएको छ ।

कम छन् स्वदेशी गुँदपाक

झण्डै सय वर्षको इतिहास भएको परिस्कृत नेपाली गुँदपाक अहिले बजारमा थप परिस्कृत र गुणस्तरीय रूपमा आउन थालेको छ । गुँदपाक ब्रान्डिङ गर्ने श्रेय ताहाचलका स्व. द्रव्यलाल मास्केको परिवारलाई जान्छ । मास्के परिवारले नै परिष्कृत गुँदपाकको इतिहासको सुरुवात गरेका हुन् ।

यो मिठाई उत्पादनमा मास्के परिवारको तीन पुस्ताले न्युरोड गेट नजिकैको कर्नर ताजा गुँदपाक भण्डारमा आफ्नो जीवन व्यतित गरिसकेका छन् । केही वर्षअघि गुणस्तरमा प्रश्न चिह्न खडा भएर सरकारी अनुगमनको तारो बनेको यो क्षेत्र नेपालबाट करिब निमिट्यान्न भइसकेको थियो ।

२०६८ भदौमा गुँदपाक अखाद्य भएको भन्दै तत्कालीन समयमा सरकारले उक्त भण्डारमा गरेको सिलबन्दी र कारबाहीका कारण स्वदेशी उत्पादन गुँदपाकको बजार नै धरासायी बनेको थियो । तर, अहिले यो क्षेत्र फेरि गुणस्तरमा कुनै सम्झौता नगर्ने प्रतिबद्धताका साथ ठडिन प्रयास सुरु गरेको छ ।

०६८ सम्म गुँदपाकको बजार उत्कर्षमा थियो । त्यति वेला सामान्य दिनमा दैनिक सय किलो बिक्री हुने गुँदपाक अहिले दैनिक ३० किलोसम्म बिक्री हुन थालेको छ ।

‘एक पटक गल्ति गरेपछि त्यसको सजाय हामीसहित समग्र गुँदपाक क्षेत्रले नै व्यहोरी सक्यौं । त्रुटिका कारण स्वदेशी उत्पादनलाई नै धराशायी बनाउन हुन्न्,’ गुँदपाक भण्डारका सञ्चालक मदनबाबा मास्के भन्छन्,‘मैले सुधार गरेर उत्पादन गरेको गुँदपाक बिक्री नभए पनि अन्यले उत्पादन गरेको गुँदपाकलाई उपभोक्ताले कम्तीमा रुचाइदिनु पर्छ । एउटाको सानो गल्तिका कारण समग्र गुँदपाक क्षेत्रलाई धरासायी बनाउनु हुन्न् ।’

नेपाली मौलिकता भएको गुँदपाकलाई पुनः बजारमा खडा हुन आवश्यक सहयोग गर्नुपर्ने उनको सुझाव छ । मास्केका अनुसार सामान्य दिनभन्दा चाडवाडको समयमा २० गुनाले मिठाईको माग बढ्छ । २०६८ अघिसम्म उनले दसैंतिहारको अवधिमा दैनिक चार सय किलोसम्म गुँदपाक बिक्री गरेका थिए ।

ताजा कर्नरले गुणस्तरमा सुधार गरेर गुँदपाकको बिक्रीवितरण सुरु गरेको छ । ‘अहिले हामी सचेत भएर गुणस्तरसम्बन्धी सम्पूर्ण मापदण्ड पूरा गरी बाहिरबाटै प्रत्यक्ष रेखदेखमा तयार भएको गुणस्तरयुक्त गुँदपाक ल्याएर बिक्री गर्दैआएका छौं ।’

उनको प्रतिष्ठानबिरुद्ध सर्वोच्च अदालतमा रहेको मुद्दा २०७३ माघमा किनारा लागेको थियो ।

सर्वोच्च अदालतले सामान्य जरिवाना गरी सरसफाइ र गुणस्तरयुक्त गुँदपाक उत्पादन गर्न बाटो खोलेपछि मास्केले यो व्यवसायलाई पुनः सुचारु गरेका छन् । गुँदपाक व्यवसाय धराशयी बनेपछि त्यसको स्थान भारतबाट आयातीत विभिन्न ब्रान्डका मिठाईका साथै सनपापडीले लिएको छ ।

विचार गरी मिठाई खाउ

मिठाईलाई स्वास्थ्य, व्यायामअनुसार ठिक्क खाए स्वास्थ्यवद्र्धक हुन्छ, विचार नगर्दा हानि गर्छ । देशमा प्रतिव्यक्ति प्रतिदिन ०.५५ प्रतिशतको हाराहारीमा मिठाई उपभोग गर्दै आएका छन् । मिठाई नियमित रूपमा थोरै परिमाणमा खाँदा स्वास्थ्यका लागि फाइदा मानिए पनि एकै दिन बढी परिमाणमा खाँदा ठूलो नोक्सानी गर्न सक्ने विज्ञ बताउँछन् ।

मिठाई खाइसकेपछि कम्तीमा एक घण्टा व्यायाम गर्नुपर्ने विज्ञको सुझाव छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका पूर्व महानिर्देशक सञ्जिवकुमार कर्णका अनुसार मिठाई, खाना, रक्सी, तरकारी र मासु सकेसम्म सँगसँगै खानु हुन्न् ।

मिठाई खाँदा शरीरले क्यालोरी ठूलो परिमाणमा पाउने तर पेट नभर्ने समस्या हुन्छ । यस्तो अवस्थामा केही समयपछि विभिन्न प्रकारका खाना उपभोग गर्दा शरीरमा आवश्यकभन्दा थप परिमाणमा क्यालोरी थपिन्छ ।

‘यसले गर्दा मोटोपना हुनसक्छ’, उनी भन्छन्,‘मिठाईमा अत्यधिक परिमाणमा चिनी, घिउ र तेल प्रयोग हुन्छ । यसले गर्दा क्यालोरी पनि उच्च परिमाणमा पाइन्छ ।

मोटोपना र सुगरको बिरामीले सकेसम्म मिठाईको प्रयोगबाट टाढै बस्नुपर्छ । खानै मन लाग्यो भने एक दुई पिस खाएर मज्जाले व्यायाम गर्नुपर्छ ।’

मिठाईमा फाइवर पनि निकै कम भएकाले यसको सेवनपछि कब्जियत हुने समस्या प्रवल हुन्छ । मिठाई खाने बितिकै ग्लाइसेमिक इन्डेक्स (खाइसकेपछि रगतमा चिनीको मात्रा मापन गर्ने आधार) तत्कालै उच्च गतिमा बढ्ने भएकाले मधुमेह हुने सम्भावना पनि त्यतिकै हुन्छ ।

बजारमा पाइने रंग प्रयोग भएका रंगीचंगी र चाँदीको वर्कले सजाइएका मिठाईबाट पनि सकेसम्म टाढै बस्नुपर्ने कर्णको सुझाव छ । बालबालिकाले मिठाई सेवन गरिसकेपछि तत्कालै ब्रसले मुख धुनुपर्छ ।


राजेश बर्मा