प्रभु पेले दिएन प्रभु महालक्ष्मीको ४४ लाख, कानुनी लडाइँमा जाने चेतावनी



काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले बीमितबाट उठाएको साढे ४४ लाख रुपैयाँ तत्काल भुक्तान गर्न ताकेता गरेको छ । कम्पनीले सोमबार सार्वजनिक सूचना जारी गर्दै बीमितबाट संकलन गरेको ४४ लाख ५४ हजार १२९ रुपैयाँ तत्काल भुक्तान गर्न ताकेता गरेको हो ।

प्रभु ग्रुपअन्तर्गतकै यी दुई कम्पनी भुक्तानी विवादमा तानिएका छन् । तत्काल भुक्तानी नदिए कानुनी लडाइँमा जाने प्रभु महालक्ष्मीको तयारी छ ।

प्रभु महालक्ष्मीले बीमितबाट प्रभु पेमार्फत बीमाशुल्क संकलन गर्दै आएको थियो । प्रभु टेक्नोलोजी प्रालिले सञ्चालन गरेको प्रभु पेले सन् २०२१ अगस्टयताको कुनै पनि रकम भुक्तान गरेको छैन । १६४ जना बीमितको पैसा भुक्तान नगरेको कम्पनीको आरोप छ ।

सन् २०१९ मा इन्स्योरेन्स र प्रभु पेबीच भुक्तानी सम्झौता भएको थियो । सम्झौतामा संकलित बीमाशुल्क ४८ घण्टाभित्रमा कम्पनीलाई सोधभर्ना गर्नुपर्ने उल्लेख रहेको प्रभु महालक्ष्मीले जनाएको छ ।

सम्झौताविपरीत गएर प्रभु पेले रकम भुक्तानी गर्न आनाकानी गरेपछि इन्स्योरेन्सले कानुनी लडाँइमा जाने चेतावनी दिएको हो । इन्स्योरेन्सले प्रभु पेलाई असोज १८ मा ३० दिनभित्र सबै पैसा भुक्तानी गर्न भनेको थियो ।

सोहीअनुरुप दुवै कम्पनीका कार्यकारी अधिकृतबीच लिखित सम्झौता भए पनि कात्तिक १२ सम्म सबै पैसा नपाएको प्रभु महालक्ष्मीले जनाएको छ । सबै रकम नपाएपछि इन्स्योरेन्सले सोमबार सार्वजनिक सूचना निकाल्दै २१ दिनभित्र भुक्तान नगरे कानुनी लडाँइमा जाने स्पष्ट पारेको हो ।


क्लिकमान्डु