एनआरएनए अध्यक्ष शर्मा नेतृत्वको कार्यसमितिसँग सहकार्य गरेर अगाडि बढ्ने प्रधानमन्त्रीको आश्वासन
सरकारले आरके शर्मा नेतृत्वको एनआरएनए कार्यसमितिलाई बैधता दिएको हो ?
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको आर्थिक विकास र समृद्धिमा गैर आवासीय नेपालीहरूको भूमिका आवश्यक भएको भन्दै त्यसका लागि सरकार सहजीकरणको लागि तयार रहेको बताएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको भेटमा प्रधानमन्त्री प्रचण्डले आर के शर्मा नेतृत्वको गैर आवासीय नेपाल संघको (एनआरएनए) नव निर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दैै उक्त कुरा बताएका हुन् ।
“एनआरएनए अभियान एकताबद्ध भएर अगाडि बढ्छ भन्नेमा म विश्वस्त छु,” प्रधानमन्त्री प्रचण्डले भने, “देश विकासका मुद्दामा सरकार सदैव गैरआवासीय नेपालीसँग सहकार्य गर्न तयार छ।”
प्रधानमन्त्री प्रचण्डले गैरआवासीय नेपालीहरूको माग अनुसार नागरिकता विधेयक कार्यान्वयन आएर गैरआवासीय नागरिकता दिन थालिएको र आगामी दिनमा विदेशबाट नेपाली मत दिन पाउने व्यवस्था कार्यान्वयन हुने पनि बताए ।
प्रधानमन्त्रीको यस भेटबाट सरकारले आरके शर्मा नेतृत्वको एनआरएनए कार्यसमितिलाई बैधता दिएको स्पष्ट पारेको छ भने बद्री केसी नेतृत्वको कार्यसमिति अलपत्र पर्ने देखिएको छ । यस अघि नै बिनोद कुँवरको नेतृत्वको एनआरएनएले अहिले पनि समानान्तर गतिविधि गर्दै आएको छ ।
शर्मा नेतृत्वको एनआरएनए नयाँ कार्यसमितिसमक्ष नेपालमा लगानीको अनेकौँ अवसर भएको भन्दै प्रधानमन्त्रीले लगानी गर्न सुझाव दिए । उनले मुलुकको समृद्धिमा गैर आवासीय नेपालीहरूको महत्त्वपूर्ण भूमिका हुने भन्दै समृद्धिको यात्रामा सहकार्य गर्न सरकार तयार रहेको उल्लेख गरे ।
सो अवसरमा एनआरएनएका नवनिर्वाचित अध्यक्ष शर्माले संघ सरकारसँगको सहकार्यमा काम गर्न तयार रहेको बताए । आफूले चुनावी घोषणापत्रमा २४ महिने कार्यकालमा २४ वटा काम गर्ने वाचा गरेको भन्दै सोहीअनुसार काम गर्ने प्रतिबद्धता जनाए । आफूहरू गैरआवासीय नेपालीलाई एकताबद्ध बनाउने अभियानमा रहेको पनि उनको भनाई थियो ।
प्रधानमन्त्री प्रचण्डसँगको भेटमा एनआरएनए अध्यक्ष शर्मा सहित पूर्वअध्यक्ष कुल आचार्य, सल्लाहकार महेश श्रेष्ठ, उपाध्यक्ष गोविन्द श्रेष्ठ, गंगाधर गौतम, महासचिव बुद्धिसागर सुवेदी, उपमहासचिव प्रविन गुरुङ, सचिव टंक गैरे, मनोज श्रेष्ठ गोर्खाली, कोषाध्यक्ष ठाकुर ढुंगाना, एनसीसी बेल्जियम अध्यक्ष सीता सापकोटा, एनआरएन अभियन्ता डिबी क्षेत्री, नारायण आचार्य, युरोप क्षेत्रीय संयोजक चिन्तामणि सापकोटा लगायत अभियन्ताहरू सहभागी थिए ।
एनआरएनए अध्यक्ष शर्माको नेतृत्वको टोलीले आइतबार नै अर्थमन्त्री प्रकाशरण महत र परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गरेको थियो । आइतबार सम्पन्न भएको एनआरएनए विश्व सम्मेलनले शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको उनीहरुको दाबी छ भने अर्कोतिर बद्री केसीले आफुले जितेको भन्दै शनिबार नै सपथ ग्रहण पनि गरिसकेका छन् ।
शर्माको नेतृत्वमा अर्थमन्त्रीसँगको भेटमा एनआरएनएको पदाधिकारीको टोलीले रेमिटेन्स रकमलाई उत्पादन मूलक क्षेत्रमा लगाउनुपर्ने, वैधानिक तरिकाले रेमिटेन्स पठाउनेलाई २ प्रतिशत प्रोत्साहन रकम दिनुपर्ने र रेमिट्यान्सको रकम उत्पादन मूलक क्षेत्रमा लगाउन सामूहिक लगानी प्राधिकरण बनाउनुपर्ने माग राखेको थियो ।
एनआरएनएको शर्मा नेतृत्वको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै अर्थमन्त्री महतले नेपालको आर्थिक विकासको लागि एनआरएनएसँग सहकार्य गरेर अगाडि बढ्ने र रेमिटेन्स रकमलाई उत्पादन मूलक क्षेत्रमा लग्नको लागि आफूले आवश्यक नीति लिने प्रतिबद्धता व्यक्त गरे ।
यस्तै साना मझौला स्टार्टअप कम्पनी प्रोत्साहन गर्नुपर्ने सस्तो ब्याजदर ऋण दिने तथा विदेशमा रहेका नेपालीलाई टेलिमेडिसिन स्थापना गराउन माग एनआरएनएले राखेको थियो । नेपालीहरूको हितको कुरा विषयमा आवश्यक पर्ने बजेट विनियोजन गर्न शर्माले अर्थमन्त्री महतको ध्यानाकर्षण गराएका थिए ।
यस्तै, आइतबार नै शर्माको टोलीले परराष्ट्रमन्त्री एनपी साउँदसँग पनि भेटघाट अन्तरक्रिया गरेको छ । परराष्ट्रमन्त्री साउदले शर्मा नेतृत्वमा रहेको एनआरएनएको नवनिर्वाचित कार्यसमितिले राज्यको लागि राम्रो काम थालनी गर्ने लगानी पुँजी, भित्राउने विदेशमा रहेका नेपालीहरूको लागि बृहत्तर हितको लागि काम गर्ने सशक्त रूपमा अघि पुर्याउन सकोस् भन्नेमा आफू विश्वस्त रहेको बताए ।
भेटमा परराष्ट्रमन्त्री साउदले शर्माको नेतृत्वको नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिदैं आफूहरु सहकार्य गरेर अगाडि बढ्ने जानकारी दिए ।
परराष्ट्रमन्त्रीसँगको भेटमा शर्मा नेतृत्वको टोलीले नेपालीको पासपोर्ट रिन्यू, श्रम स्वीकृति सहजीकरण तथा नेपालमा विद्यार्थी भिसामा विदेशीलाई ल्याउनुपर्ने नीति सहजीकरणको लागि आग्रह गरेको छ । कुवेत, इराक, माल्टालगायतका देशमा पासपोर्ट नवीकरण र श्रम स्वीकृतिमा सहजीकरण गरेर समस्या समाधान गर्न शर्माको नेतृत्व टोलीले परराष्ट्रमन्त्री साउदको ध्यानाकर्षण गराएको छ । हालै मात्र सरकारले नेपालीको युरोपका केही देशमा दूतावास खोल्ने निर्णय गरेको छ ।
अर्थमन्त्री महत र परराष्ट्रमन्त्री साउँदसँगको भेटमा एनआरएनए अध्यक्ष शर्मा सहित एनआरएनएका सल्लाहकार महेश श्रेष्ठ, उपाध्यक्ष गोविन्द श्रेष्ठ, गंगाधर गौतम, खगेन्द्र न्यौपाने, विजय मोक्तान, महासचिव बुद्धिसागर सुवेदी, सचिव टंक गैरे, कोषाध्यक्ष ठाकुर ढुंगाना, एनसीसी बेल्जियम अध्यक्ष सीता सापकोटा, एनआरएन अभियन्ता डिबी क्षेत्री, नारायण आचार्य, युरोप क्षेत्रीय संयोजक चिन्तामणि सापकोटालगायत अभियन्ताहरू सहभागी रहेको शर्मा नेतृत्वको नवनिर्वाचित कार्यसमितिले जनाएको छ ।