चुनावको बेला बालकको मृत्यु भएपछि झलनाथले गरेका थिए सर्प पाल्ने घोषणा, १८ करोड खर्च, काम शून्य



काठमाडौं । एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको नाममा स्थापना भएको झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको सर्प पाल्ने कार्यक्रममा भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेशका पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

प्रतिष्ठानको नाममा सरकारबाट १७ करोड ९८ लाख ३३ हजार रुपैयाँ खर्च भइसक्दासमेत कामको प्रगति शून्य देखिएपछि अख्तियारले मधेस प्रदेशका पूर्व आर्थिक मामिलामन्त्री विजय कुमारसहित ७ जनाविरुद्ध विशेष अदालतमा आइतबार भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

सर्लाहीको लालबन्दी रहेको स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग मिलेर सर्पको विष संकलन, प्रशोधन र उत्पादन केन्द्र स्थापनाका लागि प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेट वक्तव्यमार्फत संघीय सरकारबाट समपुरक अनुदानका रुपमा प्राप्त रकमसहित बजेट विनियोजन गरेको थियो ।

तर, आर्थिक मामिलामन्त्री यादव र लालबन्दी नगरपालिकाका प्रमुख मानबहादर खड्काले आफूलाई नभएको अधिकार प्रयोय गरी कानुनविपरित झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग साझेदारी गरेको र बदनीयतपूर्वक १७ करोड ९८ लाख ३३ हजार निकासा गरेको अख्तियारको अभियोग पत्रमा उल्लेख छ ।

अख्तियारले तत्कालीन झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान, हालको राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठानका अध्यक्ष रेवतीप्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष निरज भण्डारी र सदस्य देवेन्द्र रायविरुद्ध पनि भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

अध्यक्ष पन्तले प्रचलित कानुनविपरीत लागत साझेदारी शून्य रहेको प्रतिष्ठानको नाममा सरकारी रकम प्राप्त हुने साझेदारीमा हस्ताक्षर गरी १७ करोड ९८ लाख ३३ हजार निकासा लिएको र अरुले सञ्चालक समितिको बैठकबाट कानुनविपरीत निर्णय गरी सरकारी रकम संस्थाको उद्देश्य र स्वीकृत कार्यक्रम विपरीत खर्च गरेको अख्तियारको ठहर छ ।

१७ करोड ९८ लाख ३३ हजार सरकारी सम्पत्ति दुरुपयोग गर्ने काममा मतियर भई लाभ र सुविधा लिए-दिलाएको भन्दै अख्तियारले प्रतिष्ठानका पदाधिकारीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐनको दफा ३ को उपदफा १(३) अनुसार सहप्रतिवादीलाई हुने सरहको कैद र जरिवाना मागदाबी गरेको छ ।

चुनावको बेला झलनाथको घोषणा

पूर्वप्रधानमन्त्री खनालले २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा सर्लाही क्षेत्र नं १ बाट चुनाव लड्दा चुनावी प्रचारका क्रममा उक्त क्षेत्रमा सर्पपालनको प्रतिबद्धता जनाएका थिए । लालबन्दी नगरपालिका–१७ स्थित रानीगञ्जमा सर्पदंशबाट एक बालकको मृत्यु एपछि खनालले सोही समयमा प्रतिष्ठान स्थापना गर्ने घोषणा गरेका थिए ।

सर्पको टोकाइबाट घाइते बालकले समयमै भ्याक्सिन नपाउँदा मृत्यु भएको थियो । त्यसैले नेपालमै पहिलो पटक एन्टिस्नेक भेनम (एएसभी) उत्पादन गर्न पहल शुरु गर्नका लागि प्रतिष्ठान स्थापना गरी सर्पपालन सुरु गर्ने घोषणा गरिएको थियो ।

एन्टिस्नेक भेनम उत्पादन आफैँमा महत्वपूर्ण भए पनि आफ्नै नाममा प्रतिष्ठान स्थापना गरेका भन्दै खनालको चर्को आलोना भएको थियो । आलोचना पछि खनालले त्यसको प्रतिरक्षा गर्दै आएका थिए । विवाद बढ्दै गएपछि गत साउनमा संस्थाको नाम परिवर्तन गरी राष्ट्रिय स्वास्थ्य विज्ञान एवं अनुसन्धान परिषद् बनाइएको थियो ।

संस्था स्थापना भएको आठ वर्ष बितिसक्दा पनि विभिन्न न्यूनतम संरचना समेत निर्माण हुन सकेको छैन । लालबन्दी नगरपालिका–१ मा सर्पपालनका लागि खरिद गरिएको प्रतिष्ठानको करिब १० बिघा जमिन पछिल्लो समय चरन क्षेत्र बनेको छ । जग्गामा कम्पाउन्ड वाल निर्माणका लागि पिल्लर ठड्याइए पनि त्यो अपूरो छ ।

भारतको सेरम इन्स्टिच्युटले भेनम बनाइदिने समझदारी भएको थियो यो सर्पपालनका लागि आवश्यक प्राविधिक जनशक्ति उत्पादनमा सहयोग गर्न विभिन्न निकायले प्रतिबद्धता जनाएको प्रतिष्ठानले जनाएको थियो ।

हालसम्म सरकारबाट प्राप्त भएको रकम डीपीआर, जग्गा खरिद, अध्ययन अनुसन्धानमा खर्च भएको प्रतिष्ठानले जनाएको छ ।
। लालबन्दी नगरपालिका– १ मा सात करोड रुपैयाँ खर्चेर परिषद्ले जग्गा खरिद गरेको छ । नन्देश्वर महादेव सामुदायिक वन क्षेत्र नजिकै खरिद गरिएको करिब १० बिघा जमिन अहिले चरन क्षेत्रमा परिणत भएको हो ।

कुल २२ वटा भवन बनाउने योजना भए पनि चार वटा भवन निर्माण गर्न ३४ करोडमा ठेक्का लगाइएको छ तर भवनको जगसमेत खनिएको छैन । शर्मा एन्ड धुलिखेल जेभीले निर्माणको ठेक्का पाएको थियो ।

परिषद्ले अस्पताल, प्रयोगशाला, प्रशासनिक भवन र सर्प पाल्न भवन निर्माणको लक्ष्य राखेको छ । एन्टिभेनम उत्पादन, परीक्षण र अध्ययन गर्ने केन्द्र यही क्षेत्रभित्र बनाउने भनिएको छ ।

प्रतिष्ठानको गुरुयोजनामा साढे तीन अर्बको लागतमा नेपालमै एन्टिभेनम उत्पादन सम्भव हुने उल्लेख छ । केपी शर्मा ओली नेतृत्वको सरकारले ७२ करोड दिने घोषणा हुँदा केन्द्र सरकारले ४० प्रतिशत र प्रदेश सरकारले ६० प्रतिशत बजेट बेहोर्ने भनिएको थियो ।

केपी शर्मा ओली नेतृत्वको सरकारले ७२ करोड दिने घोषणा हुँदा केन्द्र सरकारले ४० प्रतिशत र प्रदेश सरकारले ६० प्रतिशत बजेट बेहोर्ने भनिएको थियो । ओली नेतृत्वको सरकारले आफ्नै दलका नेताको नामको प्रतिष्ठानलाई रकम दिने निर्णय गरेको भन्दै आलोचना भएको थियो ।

आर्थिक वर्ष २०७६/७७ मा केन्द्रले छ करोड रुपैयाँ बजेट पठाएको थियो । प्रदेश सरकारले उक्त रकममा ६० प्रतिशत थप गरेर पठाउने व्यवस्था छ ।

स्थानीय सरकारले समेत वार्षिक एक करोड दिने सम्झौता भएको थियो ।

परिषद्मा हाल चार जना कर्मचारी छन् । उनीहरुको तलबमा मासिक डेढ लाख रुपैयाँ खर्च हुन्छ । कार्यालयको भाडा मासिक ५० हजार रुपैयाँ छ ।

सर्पको टोकाइबाट नेपालमा वार्षिक ३ हजारको मृत्यु

नेपालमा सर्पको टोकाइबाट वार्षिक तीन हजार मानिसको मृत्यु हुने गरेको तथ्याङ्क छ ।

पहिलो चरणमा विष निकालेर भारतको सेरम इन्स्टिच्युटमा परीक्षण गराइ एएसभी बनाउने योजना छ । त्यसका लागि घोडा पाल्नु पर्दैन । सर्पबाट विष निकालेपछि निश्चित मात्रा घोडालाई दिइन्छ ।

विष निष्क्रिय पार्ने क्रममा घोडाले एन्टिबडी निकाल्छ र त्यही एन्टिबडी रगतबाट सङ्कलन गरिन्छ । त्यसरी सङ्कलित रगतलाई प्रशोधन गरेर एएसभी बनाइन्छ । साथै दोस्रो चरणमा भेन प्रयोगशाला निर्माण गर्ने र घोडापालन गर्न सकिन्छ ।

सर्लाही, झापा, महोत्तरी, चितवन, नवलपरासी, बाँकेलगायतका जिल्ला वातावरणीय हिसाबले सर्पपालन उपयुक्त स्थान मानिन्छन्।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालमा वार्षिक रूपमा ५० हजारभन्दा बढी भाइल एएसभी आयात हुने गरेको छ । तराईका २३ जिल्लामा वार्षिक सर्पदंशका ३७ हजार छ सय ६१ वटा घटना हुने गरेको युनिभर्सिटी अफ जेनेभा, बीपी प्रतिष्ठान, विश्व स्वास्थ्य सङ्गठनका छ जना चिकित्सकले गरेको एक वर्ष लामो अध्ययनबाट पुष्टि भएको छ।

ल्यान्सेट जर्नलमा प्रकाशित ‘स्नेकबाइट इपिडिमियोलोजी इन ह्युमन एन्ड डमेस्टिक एनिमल्स एक्रस द तराई रिजन इन नेपाल: अ मिल्टक्लस्टर रेन्डम सर्भे’ शीर्षकमा प्रकाशित आलेखले हरेक वर्ष सर्पदंशका २६ हजार सात सय ४९ देखि ३७ हजार छ सय ६१ घटना हुने गरेको उल्लेख गरेको छ। ती घटनामा दुई हजार तीन सय ८६ देखि तीन हजार दुई सय २५ जनाको मृत्यु हुने गरेको छ।

विश्व स्वास्थ्य सङ्गठनले यसअघि नेपालमा बर्सेनि २० हजार वटा सर्पदंशका घटना हुने र तीमध्ये एक हजार जनाको मृत्यु हुने उल्लेख गरेको थियो । तराईका २३ जिल्लाका दुई सय ४९ गाउँका १३ हजार आठ सय ७९ वटा घरमा एक वर्ष लगाएर गरिएको सर्वेक्षणबाट उक्त तथ्य निकालिएको थियो ।

सर्पदंश घटनामध्ये ४८ दशमलव आठ प्रतिशतलाई विषालु सर्पले टोकेको पाइएको थियो। तीमध्ये सात दशमलव आठ प्रतिशत मानिसको मृत्यु भएको अनुसन्धानमा उल्लेख छ। अनुसन्धानले तराईका हरेक एक लाख मानिसमा दुई सय ५१ जनालाई सर्पले टोक्ने गरेको देखाएको छ। तीमध्ये २२ जनाको मृत्यु हुने गरेको छ ।

सर्पदंशका कारण मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका छन् । जसमा ६४ प्रतिशत महिला मात्र छन् । पूर्वी नेपाल र मध्यमाञ्चलमा मृत्युदर बढी पाइएको थियो ।

यसअघि सन् २००४ मा पूर्वी नेपालमा गरिएको अनुसन्धानले सर्पदंशका कारण ८० प्रतिशत मानिसको अस्पताल पु¥याउनु अघि नै ज्यान जाने गरेको देखाएको थियो । विश्वमा हरेक वर्ष २० लाखभन्दा बढी सर्पदंशका घटना हुने गर्छन् । तीमध्ये ८१ हजारदेखि एक लाख ३८ हजार मानिसले ज्यान गुमाउने गरेका छन् ।

नेपालमा हाल ८४ प्रजातिका सर्प पाइन्छन् । तीमध्ये करिब २१ प्रजाति विषालु छन् । विषालुमध्ये गोमन, करेत, रुसेल्स भाइपर, किङ कोब्रा र कोरल स्नेक (कर्कट नाग) सबैभन्दा धेरै विषालु हुन् ।


क्लिकमान्डु