सेयर धितो कर्जाको सीमा बढ्दा पनि किन खुसी छैनन् लगानीकर्ता ?



काठमाडौं । करिब २ वर्षदेखि सेयर लगानीकर्ताको बिरोध र अर्थमन्त्रायको दबाबकाबीच नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमा १२ बाट बढाएर १५ करोड रुपैयाँ पुर्‍याएको छ ।

सेयर लगानीकर्ता, राजनीतिक दल, अर्थमन्त्री लगायतले यसलाई बढाउन माग गरेका थिए । पटक पटकको आन्दोलन, दबाब, बिरोधका क्रममा पनि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नघटाएको सीमा बिहीबार भने १२ करोडबाट बढाएर १५ पुर्याएका छन् ।

नेपाल राष्ट्र बैंकले ‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७९ परिमार्जन गरी सेयर धितो कर्जाको सीमा व्यक्तिगत १५ करोड र संस्थागत २० करोड रुपैयाँ बनाएको छ ।

परिमार्जित एकीकृत निर्देशनमा भनिएको छ, ‘कुनै एक वा सबै इजाजतपत्र प्राप्त संस्थाहरुबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल १५ करोड रुपैयाँ कायम गरिएको छ । धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताका लागि यस्तो कर्जाको अधिकतम सीमा २० करोड रुपैयाँ कायम गरिएको छ ।’

यसअघि कुनै एक वा सबै इजाजतपत्र प्राप्त संस्थाहरुबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल १२ करोड रुपैयाँ कायम गरिएको थियो ।

राष्ट्र बैंकले सीमा बढाए पनि सेयर लगानीकर्ताहरु भने खासै खुसी देखिँदैनन् । राष्ट्र बैंकको पछिल्लो नीतिले सेयर बजारमा कुनै सकारात्मक प्रभाव नपार्ने लगानीकर्ताहरुको तर्क छ ।

नेपाल राष्ट्र बैंकलाई सेयर लगानीकर्ताले १२ करोडको सीमा हटाउन लामो समयदेखि हटाउन आग्रह गरे पनि अहिले १२ करोडबाट बढाएर १५ र २० पुर्याउँदा लगानीकर्तामा खासै उत्साह नथपिएको नेपाल इन्भेष्टर फोरमका पूर्व अध्यक्ष छोटेलाल रौनियार बताउँछन् ।

‘हामीले १२ करोडको सीमा हटाउनुपर्छ भनेर पटक पटक भनेका थियौं राष्ट्र बैंकले टेरेन’ उनले भने, ‘यसअघि १२ करोडको सीमा नहटे पनि व्यक्तिगत २० र संस्थागत ५० करोड हुने भन्ने चर्चा रहेको थियो । त्यसले लगानीकर्तालाई केही हदसम्म खुसी मिल्ने देखिएको थियो । तर, यो १५ र २० करोडको नीतिले केही पनि फरक पर्दैन ।’

लगानीकर्ताले हाल कायम रहेको भारित औषत १५० बाट १०० प्रतिशत कायम गर्न माग गरेका थिए तर राष्ट्र बैंकले केही पनि नगरेकाले लगानीकर्तालाई निराश बनाएको उनको भनाइ छ । राष्ट्र बैंकको पछिल्लो नीतिले लगानीकर्ताको मनोबल नबढ्ने उनको भनाइ छ ।

यस्तै नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले राष्ट्र बैंकको पछिल्लो नीतिबाट लगानीकर्ता उत्साहित हुन नसक्ने बताइन् । दुई वर्षदेखि राष्ट्र बैंकले सेयर बजारमा गरेको हस्तक्षेप कायमै रहेको सीमालाई १५ र २० करोड पुर्याउने नीति सेयर लगानीकर्ताका लागि ‘हात्ती आयो हात्ती आयो फुस्सा’ भएजस्तै भएको उनको बुझाइ छ । यसले लगानीकर्ता खुसी नभएको र उत्साहित समेत नहुने उनको तर्क छ ।

‘राष्ट्र बैंकले सेयर धितो कर्जाको क्याप संशोधन गर्दै व्यक्तिगततर्फ १५ करोड र संस्थागतलाई २० करोड कायम गरेको छ । राष्ट्र बैंकको चेपुवा नीतिबाट थिलथिलो बनेको पुँजी बजारमा समय समयमा लिने नीति नियमको परिवर्तन हेर्दा खर्बौंको बजारसँग लंगुर्बुर्जाको जस्तो ब्यवहार गर्ने गरेको देखियो’ उनले भनिन् ।

सेयर बजारका विषयमा राष्ट्र बैंकले बेला बेलामा लिने नीति ‘बेमौसमी बाजा’ जस्तै भएको उनको तर्क छ । ‘धेरै समयदेखि राष्ट्र बैंकको नीतिको मारमा रहेको सेयर बजारमा कतिपय बजार बिरोधी व्यवस्था, नियामकको बेमौसमी प्रहार, ब्याजको मारमा प्रताडित लगानीकर्ता चारै तिरबाट थिलथिलो हुँदै गएको पुँजी बजारमा ब्याजदर वृद्धिको अस्वस्थ प्रतिस्पर्धा लगायतका कारणले बजार घटिरहँदा धेरै लगानीकर्ता अलमलमा छन्’ उनले भनिन् ‘त्यसका बाबजुद लगानीकर्ताको चर्‍याइरहेको घाँउमा राष्ट्र बैंकले थप नुन चुक छर्किएको छ ।’


क्लिकमान्डु