राष्ट्र बैंकका कर्मचारीको भत्ता साढे १८ प्रतिशतले बढाउने तयारी



काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले कर्मचारीहरुको भत्ता बढाउने तयारी गरेको छ ।

कर्मचारी युनियनले तलब तथा भत्ता बढाउन दबाब दिएपछि राष्ट्र बैंकको सञ्चालक समितिले सरकारको नीति अनुसार तलब बढाउन नमिल्ने भन्दै भत्ता बढाउन लागेको हो ।

‘कर्मचारी युनियनसँग नेगोसिएशन भइरहेको छ,’ राष्ट्र बैंकका एक सञ्चालकले भने, ‘हामी १८.६ प्रतिशतले भत्ता बढाउने तयारीमा छौं ।’

कर्मचारीको भत्ता बढाउने प्रस्ताव बिहिबार नै सञ्चालक समितिमा पेश भइसकेको छ।

‘चाँडै निर्णय हुन्छ,’ स्रोतले भन्यो ।

खर्च कटौति गर्ने सरकारको नीति भएपनि दुई वर्षदेखि तलब भत्ता नबढेकाले भत्ता बढाउन दबाब परेको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् । राष्ट्र बैंक कर्मचारीलाई राम्रो सेवा सुविधा दिने संस्थामा अग्रस्थानमा पर्छ ।

राष्ट्र बैंकमा ११०० को हाराहारीमा कर्मचारी छन् । १९५६ मा राष्ट्र बैंक स्थापना हुँदा गर्भरसहित जम्मा २३ जना कर्मचारी थिए । त्यो संख्या निरन्तर बढेर १९८८ मा सबैभन्दा बढी अर्थात् ३३०८ जना पुगेको थियो । त्यसयता लगातार घटिरहेको छ । सन् २०१८ मा ९५१ जना कर्मचारी रहेको राष्ट्र बैंकमा सन् २०२२ मा १०८२ जना पुगेको छ ।

सन् १९५६ मा जम्मा ६ जना अफिसर र १६ जना गैरअफिसर कर्मचारी थिए । अहिले ५६३ जना अफिसर र ५२५ जना गैरअफिसर छन् ।

कुन उमेरका कति कर्मचारी ?

राष्ट्र बैंकको मानव संशाधन व्यवस्थापन विभागले गत साउनमा सार्वजनिक गरेको ‘नेपाल राष्ट्र बैंकमा मानव संशाधन व्यवस्थापन अभ्यास सम्बन्धी अध्ययन प्रतिवेदन’काअनुसार राष्ट्र बैंकमा कार्यरत कर्मचारीहरुको औषत उमेर ४० वर्ष रहेको छ । न्यूनतम २१ वर्ष पूरा नभएको र अधिकतम ५८ वर्ष पूरा भइसकेको व्यक्तिले राष्ट्र बैंकमा जागिर खान पाउँदैनन् ।

राष्ट्र बैंकमा कार्यरतमध्ये १९ प्रतिशत कर्मचारी ३० वर्षभन्दा कम उमेर समूहका छन् भने ३१ देखि ४० वर्ष उमेर समूहका कर्मचारीहरुको हिस्सा ३३ प्रतिशत छ । त्यस्तै, ४१ देखि ५० वर्षको उमेर समूहका २६ प्रतिशत र ५० वर्षभन्दा माथिको उमेर समूहका कर्मचारी २२ प्रतिशत छन् ।

उच्च तहमा महिलाको सहभागीता कम

राष्ट्र बैंकमा कार्यरत कूल ५६१ जना अफिसर तहका कर्मचारीमध्ये १३० जनामात्रै महिला छन् । ४३१ जना अफिसरहरु पुरुष छन् । अफिसर तहको सबैभन्दा उच्च पद स्पेशल अफिसर अर्थात् कार्यकारी निर्देशकको १८ जनाको दरबन्दीमा सबै पुरुष कार्यरत छन् । निर्देशक तहको ५५ जनाको दरबन्दीमा ८ जना महिला छन् भने ४७ जना पुरुष छन् ।

कति पढेका छन् ?

नेपालमा भएका संस्थाहरुमध्ये सबैभन्दा बढी प्रोफेसनल राष्ट्र बैंकलाई मानिन्छ । राष्ट्र बैंकमा काविल कर्मचारीहरु पनि छन्। यद्यपि अझै पनि राष्ट्र बैंकमा कार्यरत कर्मचारीमध्ये ५.८ प्रतिशत कर्मचारी एसएलसीरअन्डर एसएलसी छन् । नेपाल राष्ट्र बैंकले हालै गरेको एक सर्भेक्षणमा जम्मा १.४ प्रतिशत अर्थात् १४ जना कर्मचारीले मात्रै विद्यावारिधी गरेका छन् । राजनीतिक नियुक्ति हुने ३ जनाको उच्च व्यवस्थापनमा एक जनाले मात्रै विद्यावारीधी गरेका छन् । गभर्नर महाप्रसार अधिकारीले चाटर्ड एकाउन्टेन्सी र डेपुटी भगर्नर मास्टर्स गरेका छन् भने डेपुटी गभर्नर डा. निलम तिम्सीनाले विद्यावारिधी गरेकी छन् ।

७ सदस्यीय सञ्चालक समितिमा ३ जनाले मात्रै विद्यावारिधी गरेका छन् भने ४ जनाको पढाइ मास्टर्स वा सो शरह मात्रै हो ।

‘नेपाल राष्ट्र बैंकमा मानव संशाधन व्यवस्थापन अभ्यास’ सम्बन्धी अध्ययनअनुसार अधिकांश कर्मचारीले मास्टर डिग्री गरेका छन् भने १.४ प्रतिशतले विद्यावारिधी र १.४ प्रतिशतले एमफिल गरेका छन् । ६०.८ प्रतिशतले मास्टर डिगी गरेका छन् भने १९ प्रतिशतले स्नातक गरेका छन् । त्यस्तै, ७ प्रतिशतले आइए, ७ प्रतिशतले एससएलसी र ५.८ प्रतिशत कर्मचारीले एसएलसी पनि पास गरेका छैनन् ।

१८ कार्यकारी निर्देशकमध्ये ३ जनाले पीएचडी, ४ जनाले एमफिल

राष्ट्र बैंकमा कार्यरत कर्मचारीहरुमध्ये १४ जनाले पीएचडी गरेका छन् भने १४ जनाले नै एमफिल गरेका छन् । १८ जना कार्यकारी निर्देशकमध्ये ३ जनाले पीएचडी र ४ जनाले एमफिल गरेका छन् भने ५५ जनाको दरबन्दी रहेको अफिसर फस्ट अर्थात् निर्देशकमध्ये ३ जनाले पीएचडी र ४ जनाले एमफिल गरेका छन् । त्यस्तै, १९८ जनाको दरबन्दी रहेको अफिसर सेकेन्ड अर्थात् उपनिर्देशक तहका कर्मचारीमध्ये ८ जनाले पीएचडी र ५ जनाले एमफिल गरेका छन् ।

२९० जनाको दरबन्दी रहेको अफिसर थर्डमा कार्यरत कर्मचारीमध्ये कसैले पनि पीएचडी र एमफिल गरेका छैनन् ।

६१ प्रतिशत कर्मचारी मास्टर्स गरेका, ५.३ प्रतिशत सीए

कूल कर्मचारीमध्ये ६०.८ प्रतिशत अर्थात् ६०७ जनाले मास्टर्स पास गरेका छन् । ५.३ प्रतिशत अर्थात् ५३ जना कर्मचारीले चार्टर्ड एकाउन्टेन्सीको अध्ययन पूरा गरेका छन्। मास्टर्स गरेका ८ जना, चाटर्ड एकाउन्टेन्सी गरेका ३ जना कार्यकारी निर्देशक छन्।

१८.६ प्रतिशत अर्थात् १८६ जना कर्मचारीले स्नातक र ६.७ प्रतिशत अर्थात् ६७ जना कर्मचारीले आइएमात्रै पढेका छन् । ५८ जना अर्थात् ५.८ प्रतिशत कर्मचारी एसएलसी र अन्डर एसएलसी छन् ।


क्लिकमान्डु