साउनमा वाणिज्य बैंकले कमाए साढे ८ अर्ब नाफाः ग्लोबल आइएमईको सबैभन्दा धेरै
काठमाडौं । लगानी वापत प्राप्त हुने प्रतिफल (रिटर्न अन इक्वीटी-आरओई) घट्दै गएका वाणिज्य बैंकले चालु आर्थिक वर्षको पहिलो महिनामा ८ अर्ब ५२ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकले ८ अर्ब ५२ करोड ४९ लाख ८० हजार रुपैयाँ नाफा आर्जन गर्दा ग्लोबल आइएमईले सबैभन्दा बढी कमाएको छ ।
साउनमा ग्लोबल आइएमई बैंकले सबैभन्दा बढी नाफा गर्दा सबैभन्दा कम नाफा आर्जन गर्ने बैंकको सूचीमा नेपाल एसबीआई बैंक छ । ग्लोबल आइएमईले ९९ करोड २३ लाख ९० हजार रुपैयाँ नाफा आर्जन गरेको छ । सबैभन्दा थोरै नेपाल एसबीआईले १६ करोड ५ लाख ४० हजार रुपैयाँ नाफा गरेको राष्ट्र बैंकले जनाएको छ ।
ग्लोबल पछि धेरै नाफा कमाउनेमा नबिल बैंक रहेको छ । नबिलले ७५ करोड ५५ लाख २० हजार रुपैयाँ नाफा कमाएको छ । नाफा आर्जनमा तेस्रो र चौथो स्थानमा नेपाल इन्भेष्टमेन्ट मेगा र हिमालयन बैंक छन् । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ७४ करोड ७९ लाख ८० हजार र हिमालयन बैंकले ६३ करोड १२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
राष्ट्र बैंकका अनुसार साउनमा कुमारी बैंकले ५७ करोड ७१ लाख नाफा आर्जन गरेको छ भने राष्ट्रिय वाणिज्य बैंकले ४४ करोड ७० लाख ३० हजार, प्राइम बैंकले ४२ करोड ४८ लाख ३० हजार र लक्ष्मी सनराइज बैंकले ४१ करोड ५४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
यस्तै एनआईसी एशिया बैंकले ३८ करोड ४६ लाख, एनएमबि बैंकले ३८ करोड ३१ लाख ५० हजार, एभरेष्ट बैंकले ३६ करोड ७६ लाख ९० हजार, नेपाल बैंकले ३६ करोड ४ लाख २० हजार र कृषि विकास बैंकले साउनमा ३३ करोड १६ लाख १० हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।
राष्ट्र बैंकका अनुसार साउनमा प्रभु बैंकले २९ करोड ९८ लाख ५० हजार, सिद्धार्थ बैंक २९ करोड ९६ लाख, स्ट्यान्डर्ड चार्टर्ड बैंक २५ करोड ७८ लाख २० हजार, सानिमा बैंकले २५ करोड १९ लााख ७० हजार, सिटिजन्स बैंकले २४ करोड ७६ लाख २० हजार र माछापुच्छ्रे बैंकले १८ कोड ८६ लाख ६० हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।