चिनी निर्यातमा प्रतिबन्ध लगाउने भारतको तयारी
काठमाडौं । भारत सरकारले आगामी अक्टोबर महिनामा चिनीको निर्यातमा प्रतिबन्ध लगाउने सम्भावना देखिएको छ । रोयटर्सको एक रिपोर्टमा भारत सरकारका तीन जनालाई उदृत गर्दै चिनीको निर्यातमा प्रतिबन्ध लगाउने सम्भावना देखिएको जनाएको छ ।
वर्षाका कारण उखुको उत्पादनमा कमी आएकाले चिनीको मूल्यलाई नियन्त्रण गर्न र एथेनोलको उत्पादनका लागि पर्याप्त उखु बचाउनका लागि निर्यातमा प्रतिबन्ध लगाउन सक्ने ती स्रोतले बताएका छन् ।
भारतले यस्तो निर्णय गरेमा विश्व बजारमा चिनीको मूल्य बढ्नेछ । भारत सरकारले यसअघि २०१६ मा चिनीको निर्यातलाई कम गर्नका लागि २० प्रतिशत कर लगाएको थियो । उक्त वर्षमा २०२ लाख मेट्रिक टन चिनी उत्पादन भएकोमा भारतबाट ०.४८ लाख मेट्रिक टन निर्यात भएको थियो ।
२०२२/०२३ मा मार्च महिनासम्ममा भारतमा २८८ लाख मेट्रिक टन चिनी उत्पादन भएको छ, जसमध्ये ६२.६७ लाख मेट्रिक टन चिनी गत मे महिनासम्ममा निर्यात भएको छ ।
रोयटर्सकाअनुसार भारत सरकारले अघिल्लो सिजनको तुलनामा यसपटक भारतका चिनी उद्योगहरुलाई झण्डै आधा मात्रै चिनी निर्यात गर्ने अनुमति दिएको थियो । अघिल्लो सिजनमा १ करोड ११ लाख मेट्रिक टन चिनी निर्यातको अनुमति दिइएकोमा यसपटक ६१ लाख मेट्रिक टन चिनी निर्यात गर्ने अनुमति दिइएको थियो ।
सँगै, खुद्रा बजारमा चिनीको मूल्यलाई नियन्त्रण गर्न हरेक हप्ता चिनीको स्टकको जानकारी दिनुपर्ने व्यवस्था गरेको छ ।
भारत सरकारले चिनी व्यापारीहरुले हरेक सोमबार आफूसँग भएका स्टकको जानकारी सरकारलाई दिनुपर्ने व्यवस्था गरेको हो । चिनीको मूल्यमा नियन्त्रण गर्न र कालोबजारीलाई रोक्नका लागि यस्तो व्यवस्था गरिएको बुधबार भारत सरकारले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
उक्त विज्ञप्तीमा उल्लेख भएअनुसार चिनीका खुद्रा व्यापारी, होलसेल व्यापारी, उत्पादकलगायत सबैले चिनीको स्टकको विवरण हरेक हप्ता अद्यावधिक गर्नुपर्ने उल्लेख गरिएको छ । यो व्यवस्थालाई पूर्ण रुपमा डिजिटल प्रणालीबाट गरिने बताइएको छ ।