सेयर लगानीकर्ताका गोप्य जानकारी चुहाएको आरोपमा नेप्सेलाई धितोपत्र बोर्डले सोध्यो स्पष्टीकरण
लगानीकर्ताको सेयर कारोबारसम्बन्धी व्यक्तिगत जानकारी सफ्टवेयर कम्पनी वाइकोको पहुँचमा सहजै पुग्ने व्यवस्था मिलाएको आरोप लगाउँदै नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई स्पष्टीकरण सोधेको छ ।
काठमाडौं । नेपाल धितोपत्र बोर्डले कानुनविपरीत काम गरेको आरोप लगाउँदै नेपाल स्टक एक्सचेञ्जलाई स्पष्टीकरण सोधेको छ । मंगलबार बिहान बसेको धितोपत्र बोर्डको सञ्चालक समिति बैठकले स्टक एक्सचेञ्जलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको स्रोतको भनाइ छ ।
‘एउटा निजी कम्पनीलाई दोस्रो बजारको सबै तथ्यांकमा पहुँच नदिने नेप्सेलाई मौखिक रुपमा सचेत गराएका थियौं,’ स्रोतले भन्यो, ‘तर, उहाँहरुले हाम्रो कुरा सुन्नुभएन । त्यसैले, सेयर लगानीकर्ता र सेयर कारोबारसम्बन्धी सबै जानकारीमा एउटा कम्पनीको पहुँचमा जाने प्रणाली बनाउनुको कारण के हो भनेर स्पष्टीकरण सोध्ने निर्णय गरेका हौं ।’
नेप्सेले २०७५ साल कात्तिकदेखि अनलाइन माध्यमबाट सेयर कारोबार सुरु गरेको थियो । अनलाइन माध्यमबाट सेयर कारोबार गर्न आवश्यक पर्ने म्याचिङ इन्जिन बनाउने ठेक्का प्रतिस्पर्धाबाट वाइकोले पाएको थियो ।
भारतीय कम्पनी एकेएस इन्फरमेसन टेक्नोलोजी एन्ड सर्भिसेजबाट अनलाइन ट्रेडिङ सफ्टवेयरको युजर एसेपटेन्स टेस्ट (युएटी) गरेपछि वाइकोले नेप्सेलाई सफ्टवेयर हस्तान्तरण गरेको थियो ।
युएटी गर्दा सफ्टवेयर निर्माता कम्पनी वाइकोले नेप्सेसँग भएको करार सम्झौता, एसआरएस (सिस्टम रिक्वायरमेन्ट स्पेसिफिकेसन) बमोजिम सफ्टवेयर बने नबनेको परीक्षण गर्नुका साथै सफ्टवेयरका सुरक्षा प्रणालीका विषयमा समेत हेरिएको थियो ।
भारतीय कम्पनी एकेएस इन्फरमेसन टेक्नोलोजी एन्ड सर्भिसेजले युएटी गर्दा वाइकोले बनाएको सफ्टवेयर सेयर कारोबार गर्न सक्ने आशयको प्रतिवेदन दिएपछि नेप्सेले अनलाइन सेयर कारोबार सुरु गर्यो ।
त्यसक्रममा नेप्सेको सेयर कारोबार प्रणाली अर्थात् म्याचिङ इन्जिन निर्माण गरेको वाइकोले ब्रोकरहरुले प्रयोग गर्ने ट्रेड म्यानेज जस्तै ब्रोकर कम्पनीको टेड्र म्यानेजमेन्ट सिस्टम (टिएमएस) पनि बनाएको थियो ।
२०७५ सालदेखि नेप्सेको म्याचिङ इन्जिनको प्राविधिक सहयोग गरिरहेको वाइकोले नै ब्रोकरले प्रयोग गर्ने टिएमएस बनाउनु द्वन्द्व भएको बोर्डको निष्कर्ष छ ।
म्याचिङ इन्जिनले नेप्सेले सञ्चालन गर्ने भए पनि वाइकोले निरन्तर सपोर्ट गर्ने र टिएमएससमेत वाइकोले सञ्चालन गर्ने व्यवस्था ठिक नभएको ब्रोकरहरु बताउँछन् ।
‘वाइकोले टिएमएस चलाउने हो भने म्याचिङ इन्जिन (सेयर कारोबार मिलान हुने ठाउँ) मा सपोर्टको काम गर्नु हुँदैन, ’एक ब्रोकरले भने, ‘म्याचिङ इन्जिनको सपोर्टमा नयाँ कम्पनीलाई राखेर वा टिएमएस थपेर अहिलेको समस्या समाधान गर्न सकिन्छ ।’
टिएमएस र म्याचिङ इन्जिनको पहुँच एउटै कम्पनीमा हुने हो भने कुन लगानीकर्ताले कुन सेयर किन्न खोजेको छ भन्नेदेखि बजारमा काल्पनिक माग देखाउँदै विभिन्न कम्पनीको मूल्य प्रभावित पार्ने काम गर्न सहज हुने ब्रोकरहरुको दाबी छ ।
धितोपत्र बजारलाई प्रभावित पार्न नेप्सेले सेयर कारोबारसम्बन्धी सबै तथ्यांकमा निजी कम्पनीलाई पहुँच दिएको आरोप लगाउँदै धितोपत्र बोर्डको सुपरभिजन विभागले नेप्सेलाई कारबाही गर्नुपर्ने प्रतिवेदन दिएपछि मंगलबार बसेको धितोपत्र बोर्डको सञ्चालक समितिको बैठकले नेप्सेलाई स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।
नेप्सेलाई कस्तो कारबाही होला ?
झुटो कारोबार गर्दा, मूल्यमा उतारचढाव गराउँदा र धितोपत्र बजारलाई प्रभावित पारेमा ५० हजार रुपैयाँदेखि १ लाख पचास हजार रुपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुने धितोपत्रसम्बन्धी ऐनको दफा १०१ मा उल्लेख छ ।
बोर्डले गरको कारबाहीबाट कसैलाई हानि नोक्सानी पर्न गएको रहेछ भने त्यस्तो हानी नोक्सानीसमेत गलत गर्नेमा भराउनुपर्ने कानुनमा उल्लेख छ ।
यस्तै, भुक्याउने विवरणहरु दिने, जालसाजीयुक्त कारोबार गर्ने र जालसाजी गरी वा झुक्यानमा पारी धितोपत्र कारोबार गरेमा र लिखत विवरण वा अभिलेख नष्ट गरेमा वा लुकाएमा १ लाख रुपैयाँदेखि ३ लाख रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुनेछ । त्यस्तो कारोबारबाट कसैलाई हानी नोक्सानी भएको रहेछ भने त्यस्तो हानी नोक्सानीसमेत भराइदिनुपर्ने ऐनमा उल्लेख छ ।
कसैले जानीजानी वा वदनियत साथ यो ऐन वा यस ऐनअन्तर्गत बनेका नियम वा विनियमबमोजिम राख्नु, बनाउनु, तयार गर्नु वा पेस गर्नुपर्ने हिसाबकिताब, खाता, विवरण, प्रतिवेदन, सूचना, जानकारी वा यस्तै अन्य कुनै कागजात सो राख्नु, बनाउनु, तयार गर्नु वा पेस गर्नुपर्ने समयमा पेस नगरेमा, नराखेमा वा नबनाएमा वा तयार नगरेमा वा झुटा विवरण वा कागजात बनाएमा वा राखेमा, तयार गरेमा त्यस्तो गर्नेलाई बोर्डले ५० हजार रुपैयाँदेखि २ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।
मंगलबार बोर्डले यही व्यवस्थाअनुसार केयर रेटिङलाई ५० हजार रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको थियो ।
ऐनको दफा १०१ को उपदफा ५ मा कसैले जानीजानी यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियम वा विनियम वा यस ऐनअन्तर्गत जारी गरिएको आदेश वा निर्देशनको बर्खिलाप काम गरी कुनै संगठित संस्था, धितोपत्र बजार, धितोपत्र व्यवसायी वा लगानीकर्तालाई हानी नोक्सानी गरे गराएमा बोर्डले त्यस्तो व्यक्तिलाई ५० हजार रुपैयाँदेखि १ लाख पचास हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ ।
त्यस्तो काम कारबाहीबाट कसैलाई कुनै हानी नोक्सानी पुग्न गएको भए सोबापत बोर्डले वास्तविक हानी नोक्सानीको क्षतिपूर्तिसमेत भराइदिनसक्ने कानुनी व्यवस्था छ ।
कसैले यो ऐन वा यस ऐनअन्तर्गत बनेका नियम वा विनियमबमोजिम पुर्याउनुपर्ने रित नपुर्याई धितोपत्र निष्कासन गरेमा या धितोपत्र बजार वा धितोपत्र व्यवसायीको हैसियतले धितोपत्र कारोबार सञ्चालन गरे गराएमा त्यस्तो काम गर्ने गराउने व्यक्तिलाई बोर्डले ५० हजार रुपैयाँदेखि एक लाख ५० हजार रुपैयाँसम्म जरिवाना गर्न सक्छ ।
धितोपत्रसम्बन्धी ऐन वा ऐनअन्तर्गत बनेको नियम वा विनियम वा सोअन्तर्गत जारी गरिएका कुनै आदेश वा निर्देशन वा बोर्डले तोकिदिएका सर्तहरुको उल्लंघन गरेमा वा आफूले गर्नुपर्ने काम नगरेमा वा गर्न नहुने काम गरेमा त्यस्तो व्यक्तिलाई बोर्डले २५ हजार रुपैयाँदेखि ७५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने कानुनी व्यवस्था छ ।