लम्पी स्किन पीडित किसानलाई २० हजारसम्म राहत दिने प्रस्ताव



काठमाडौं । लम्पी स्किन रोगबाट प्रभावित भएका किसानलाई २० हजार रुपैयाँसम्म राहत प्रदान गर्ने प्रस्ताव कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तयार पारेको छ ।

मन्त्रालयले पीडित किसानलाई न्यूनतम ५ हजारदेखि अधिकतम २० हजार रुपैयाँसम्म उपलब्ध गराउने प्रस्ताव तयार पारेको हो । यो प्रस्तावसहितको आवश्यक मापदण्ड तयार गरी मन्त्रालयले सहमतिका लागि अर्थसहित गृह मन्त्रालयमा पठाएको छ ।

किसानको अवस्था र क्षतिको आधारमा प्रतिकिसान ५ हजारदेखि २० हजार रुपैयाँसम्म राहत स्वरुप उपलब्ध गराउने मापदण्ड तयार भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिब रामचन्द्र तिवारीले जानकारी दिए ।

तिबारीले भने, ‘गृहसहित अर्थ मन्त्रालयबाट प्रस्ताव स्वीकृत भएपछि उक्त प्रस्ताव मन्त्रिपरिषद्को बैठकबाट पारित गराएर राहत वितरण प्रक्रिया अघि बढाउँछौं ।’ उनका अनुसार राहत मापदण्डअनुसार तीन प्रकारको व्यवस्था गरिएको छ ।  

पहिलो व्यवस्थाअनुसार सानो बाच्छा–बाच्छीको हकमा ५ हजार रुपैयाँ तोकिएको छ । यस्तै दोस्रो व्यवस्थाअनुसार स्थानीय जातको सानो गाईको हकमा १५ हजार रुपैयाँ, ठूलो वयस्क भैंसी, राँगा र उन्नत जातका गाईको हकमा २० हजार रुपैयाँ उपलब्ध गराइने मापदण्ड तयार गरिएको छ ।

क्षतिपूर्ति प्रदान गर्नका लागि स्थानीय वडा कार्यालयले मरेका पशुको तथ्यांक संकलन गरी पालिकामा पठाउनुपर्नेछ । वडाले संकलन गरेको तथ्यांक पालिकाले विश्लेषणपश्चात् प्रमाणीकरण गरिदिनुपर्ने हुन्छ । यसरी प्रमाणीकरण भएको तथ्यांक अर्थ मन्त्रालयको विपत् व्यवस्थापन समितिमा पठाउनुपर्ने व्यवस्था गरिएको छ ।

लम्पी स्किन रोगले मरेका पशुको यथार्थ संख्या संकलनपछि कोष तथा लेखा नियन्त्रण कार्यालयमार्फत पीडित किसानको बैंक खातामा रकम उपलब्ध गराइदिने व्यवस्था मापदण्डमा गरिएको छ ।

मन्त्रालयका अनुसार लम्पी स्किन रोगबाट देशभर ५२ हजार ५ सय ४८ पशु मरेका छन् । यसमध्ये बाच्छा–बाच्छी, उन्नत जातका गाई, भैँसी, राँगा र स्थानीय गाई कति संख्यामा मरेको हो, त्यस विषयमा यकिन तथ्यांक संकलन भएको छैन ।

पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालले पनि हालसम्म मरेका ५२ हजार ५ सय ४८ पशुमध्ये कुनको संख्या कति हो, त्यो विवरण छुट्याउन बाँकी रहेको बताए ।

देशभर १५ लाख १९ हजार ७ सय ७९ पशुलाई संक्रमण पुष्टि भएको छ । यसमध्ये १३ लाख ९३ हजार ५ सय ९५ पशु निको भएका छन भने ७३ हजार ६ सय ३६ पशु अझै बिरामी छन ।

२०७९ चैतदेखि कोशी प्रदेशबाट यो रोग फैलिन सुरु भएको थियो । अहिले ७७ वटै जिल्लामा यो रोगको संक्रमण फैलिसकेको छ । देशभर ७४ लाख १३ हजार १ सय ९७ गाई र ५१ लाख ३२ हजार ९ सय ३१ भैंसी छन् ।

नेपाल पशु चिकित्सा परिषद्को अध्ययनअनुसार वैज्ञानिक तथ्यका आधारमा अनुमानित २० प्रतिशत पशुमा रोग सर्ने दर, मृत्युदर ३.८ प्रतिशत र एउटा पशुबाट न्यूनतम ४९ हजार १ सय ३५ रुपैयाँ नोक्सान हुन्छ ।


क्लिकमान्डु