राष्ट्रपति पौडेलले महासंघलाई भने- निजी क्षेत्रको सहभागिता उत्साहजनक भए मात्र देशको विकास सम्भव



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रमा निजी क्षेत्रको सहभागिता उत्साहजनक रूपमा भए मात्र देशको आर्थिक विकास सम्भव हुने बताएका हुन् ।

राष्ट्रपति पौडेलले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं कार्यकारिणी समितिसँगको भेटमा विद्यमान आर्थिक अवस्थाका सुधारका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताएका हुन् ।

‘यही तथ्यलाई ध्यानमा राखेर सरकार र निजी क्षेत्रबीच पारस्परिक सहअस्तित्व र समभावको दरिलो साझेदारी आवश्यक छ भन्ने मलाई लाग्छ,’ उनले भने ।

नेपालको अर्थव्यवस्थामा निजी क्षेत्रको ८० प्रतिशतभन्दा बढी हिस्सा रहेको भन्दै उनले अर्थतन्त्रमा देखिएको समस्याले अहिले आर्थिक गतिविधि सुस्त बनाएको धारणा राखे ।

राष्ट्रपति पौडेल उद्योगी व्यवसायीले अहिले असजिलो परिस्थितिको सामना गरिरहनुपरेको यथार्थबारे आफु अनभिज्ञ नरहेको स्पष्ट पारे ।

‘रोजगारी सृजना हुन नसक्नु, विप्रेषणमा निर्भरता बढ्दै जानु, निर्यात घट्दै जानु, नीतिगत सुधार र सामन्जस्यता नहुँदा आन्तरिक तथा विदेशी लगानी बढ्न नसक्नु, सेवा प्रवाहमा बेलाबेलामा विध्न बाधा देखा पर्ने गरेका छन्,’ उनले भने, ‘यसैले गर्दा मूल्य वृद्धिलगायत साना र मझौला उद्योग समस्याग्रस्त हुँदै जाने यो अवस्थामा निजी–सार्वजनिक साझेदारी वाञ्छनीय छ भन्ने मलाई लाग्छ ।’

उनले नेपालमा रोजगारी सृजना गर्न र देशको अर्थतन्त्र सुधार्न सबैको ध्यान जानुपर्नेमा जोड दिँदै केही दिनअघि आफूले बोलाएको सर्वदलीय बैठकमा समेत अर्थतन्त्र सुधारका लागि सबैको ध्यानाकर्षण गराएको जानकारी गराए ।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रका केही सूचक सकारात्मक रहे पनि आम नागरिक र व्यवसायीको आत्मविश्वास बढाएर अर्थतन्त्रलाई चलायमान बनाउनेतर्फ सरोकारवालाको ध्यान जानुपर्ने बताए ।

निजी क्षेत्र र सर्वसाधारणको मनोबल घटेको अहिलेको अवस्थामा बजारमा माग सिर्जना गर्न सरकार, केन्द्रीय बैंक र निजी क्षेत्रले सहकार्य गर्नुपर्ने उनको भनाइ छ ।

सरकारले पुँजीगत खर्च गर्न नसकेको र बैंक वित्तीय संस्थाहरुबाट पनि कर्जा प्रवाह हुन नसकेको अवस्थामा बजारमा मागको कमी आएको छ । यस्तो अवस्थामा पुँजीको लागत कम गरी लगानी बढाउन निजी क्षेत्रलाई हौसला आवश्यक रहेको धारणा अध्यक्ष ढकालको छ ।

व्यवसाय शतप्रतिशत चल्न सक्ने आधारमा राजस्वको लक्ष्य राखिएको हुन्छ । तर, व्यवसाय दुई तिहाई खुम्चिँदा करिब पाँच दशकपछि अघिल्लो वर्षभन्दा कम राजस्व संकलन भएको छ ।

यससँगै सरकारी लक्ष्यभन्दा ६ प्रतिशत बिन्दुले कम आर्थिक वृद्धि हासिल भएको छ । त्यसैले पुँजीको लागत घटाई बजारमा रकम प्रवाह गर्नुपर्ने धारणा अध्यक्ष ढकालको थियो । निर्यात प्रवर्धन गर्न, वैदेशिक लगानी आकर्षण गर्न र पर्यटन प्रवर्धन विशेष पहल आवश्यक रहेको उनले बताए ।


रवि धिताल