विद्युतीय भुक्तानीका जोखिम तथा व्यवस्थापन



विश्वव्यापीकरणको उर्लंदो लहरमा हातेमालो गर्न सक्ने गरी नेपाली वित्तीय क्षेत्रको दरिलो उपस्थितिलाई सुनिश्चित गर्न पुँजीवृद्धिलगायतका अन्य नियामकीय आधार स्तम्भहरु सुदृढ गर्दै कसिलो विकासको मार्गमा अगाडि बढिरहेको नेपाली बैंकिङ व्यावसाय वर्तमान समयमा विश्वबजारमा विकास भएका विभिन्न डिजिटल प्रविधिका नवप्रर्वतनहरु भित्र्याउन पनि उत्तिकै प्रयत्नरत छ ।

विश्वभर देखापरेको कोरोनाभाइरस महामारीको कहरले सर्वत्र असहजता सिर्जना गरिरहेको भए पनि बैंकिङका व्यावसायिक गतिविधि प्राविधिक रुपमा स्वचालित गर्ने तथा डिजिटल बैंकिङ सेवा विस्तार गर्ने सवालमा भने रचनात्मक भूमिका खेलेको भेटिन्छ । नेपाली वित्त-बजारमा भएका विद्युतीय भुक्तानीका पूर्वाधारको विकास, विद्युतीय भुक्तानी कारोबारका लागि गरिएका प्रोत्साहन तथा सर्वसाधारणको विद्युतीय भुक्तानीका उपकरणहरुको प्रयोगमा बढ्दो रुचीका कारण वर्तमान समयमा नेपालमा पनि डिजिटल बैंकिङ कारोबारमा उल्लेख्य बढोत्तरी भएको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाहेक १० भुक्तानी प्रणाली सञ्चालक, २७ भुक्तानी सेवाप्रदायकहरु तथा तिनीहरुका १४ हजार १२३ एजेन्टले नेपालको विद्युतीय भुक्तानी प्रणाली विकासको दरिलो आधारस्तम्भ तयार गर्दै आवश्यक सेवा सुविधा प्रदान गरिरहेका छन् । नियमनकारी निकायले पनि भुक्तानी प्रणालीको दिगो प्रवर्धन, विकास तथा त्यसबाट सिर्जना हुन सक्ने सम्भावित जोखिम पहिचान एवं व्यवस्थापन गर्न आवश्यक ऐन, नियम, निर्देशन तर्जुमा गरी कार्यान्वयनसमेत गरिसकेको छ भने विभिन्न परिपत्रहरु जारी गर्दै विद्युतीय भुक्तानी प्रणालीलाई थप सशक्त बनाउन निरन्तर अभ्यासरत छ ।

विकास एवं विनास एउटै सिक्काका दुई पाटा भएजस्तै विद्युतीय भुक्तानी प्रणालीको विकास एवं विस्तार जुन गतिले भइरहेको छ, सोही अनुपातमा विभिन्न आपराधिक क्रियाकलाप, धोखाधडी, ठगी आदि पनि बढ्दै गएको छ । यसै सन्दर्भमा विद्युतीय भुक्तानीका उपकरणहरु प्रयोग गर्दा वा प्रत्यक्ष वा परोक्ष रुपमा संयन्त्रमा आबद्ध हुँदा सिर्जना हुने जोखिमका आधार, प्रकार तथा व्यवस्थापनका लागि गर्नुपर्ने केही प्रसंगलाई केलाउने प्रयत्न गरिएको छ ।

बासेलको सिद्धान्तलाई नियाल्ने हो भने प्रायः अपर्याप्त आन्तरिक प्रक्रिया, व्यक्ति तथा प्रणाली एवं बाह्य घटनाहरुले बैंकिङमा सदैव सञ्चालन जोखिम सिर्जना गरिरहेका हुन्छन् । त्यसैले विद्युतीय कारोबारको इकोसिस्टम पनि जोखिमको परिधिभन्दा बाहिर रहेर सञ्चालन हुन सक्ने कुरा हुँदैन । विशेषतः परिपस्थितिजन्य विभिन्न क्रियाकलापले जोखिम सिर्जना हुनु वा विकास हुनुमा प्रमुख भूमिका खेलिरहेका हुन्छन्, जसमध्ये प्रमुख केही यसप्रकार छन्:

सूचना प्रविधिको विघटन

व्यावसायिक विस्तार एवं परिस्थितिजन्य अनिवार्यताबाट स्वचालित प्राविधिको अवलम्बन तथा बदलिँदो भर्चुअल कार्यसम्पादन पद्धतिले सेवाप्रदायकहरुको विद्यमान मूल प्राविधिक आधारलाई खल्बल्याएको छ, जसलाई अद्यावधिक गर्न थप ठूलो वित्तीय स्रोतको आवश्यकता पर्छ । केही सबल संस्थाहरुले प्राविधिक आधार तुरुन्तै अद्यावधिक गर्न सके पनि अधिकांश सेवाप्रदायकले वित्तीय स्रोतको जोहो गर्दैमा समय व्यतित भएको छ, जसबाट सेवाप्रदायकहरुको साइबर सुरक्षणको सबालमा ठुलो प्रश्नचिह्न खडा गरिदिएको देखिन्छ ।

तत्थ्यांकको हेरफेर

नियमित कार्यालय उपस्थित भएर एउटा संयन्त्रमा काम गरिरहेको जनशक्ति भर्चुअल स्थानमा भीपीएन (भर्चुअल प्राइभेट नेटवर्क), घरको वाईफाई आदिको माध्यमबाट कार्य सम्पादन गर्दा निश्चित रुपमा संस्थाको साइबर सुरक्षण पद्धति उल्लंघन भइरहेको हुन्छ भने खण्डित कार्यतालिकाका कारण व्यावसायिक तथ्यांकहरु नियमित अनुगमन एवं रिपोर्टिङ हुने सम्भावना न्यून रहन्छ । यस्तो परिस्थितिलाई आंकलन गरी आपराधिक गिरोहहरुले फिसिङ तथा विभिन्न प्रोग्राममार्फत सेवाप्रदायकहरुको तथ्यांकहरु फेरबदल गर्न सक्छन् । सबल संस्थाहरुले यस्तो परिस्थिति न्यूनीकरण गर्न विभिन्न रक्षात्मक प्राविधि विकास गरे पनि अधिकांश सेवाप्रदायहरुले यस किसिमको जोखिम बहन गरिहेका हुन सक्छन् ।

लचकता जोखिम

सेवा प्रवाहलाई स्वचालित गर्नै पर्ने अकाट्य प्रतिस्पर्धा एवं विद्यमान विषम परिस्थितिहरुबीच पनि निरन्तर व्यावसाय सञ्चालन गर्नुपर्ने अनिवार्यताका कारणले सेवाप्रदायकहरुले आफ्ना विद्यमान कार्यढाँचाहरुमा केही लचकता अपनाउनुको विकल्प नहुँदा डिजिटल बैंकिङ सेवा सञ्चालनमा केही कमजोरी देखा परिरहेका हुन सक्छन्, जसले संस्थामा जोखिमको गम्भीर भार सिर्जना गरिरहेको हुनसक्छ ।

चोरी र धोखाधडी

डिजिटल बैंकिङको तीव्र विस्तारलाई टेवा दिन सक्ने स्तरको वित्तीय साक्षरताको अभाव तथा परिस्थितिजन्य अन्य कारणले सेवाप्रदायक तथा बैंक तथा वित्तीय संस्थाले साइबर सुरक्षणलाई केही लचिलो बनाएबाट आपराधिक गिरोहमा संलग्न व्यक्ति र संस्थाले विभिन्न प्रलोभनमा सेवाग्राहीका सूचना प्राप्त गरी खातामा रहेको रकम चोरी गर्ने तथा प्राप्त सूचनालाई प्रयोग गरी विभिन्न प्रकारका धोखाधडी गरिरहेका थुप्रै उदाहरण बैंकिङ क्षेत्र बढिरहेका छन् ।

तेस्रो पक्ष जोखिम

डिजिटल बैंकिङ व्यवसायसँग सम्बन्धित सेवाप्रदायक र बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना कार्य विभिन्न अन्य संस्थामार्फत आउटसोर्स, सम्झौता आदि द्वारा सम्पादन गराइरहेका हुन्छन्, जसका लागि विद्यमान प्राविधिक संरचनामा काम गराउन चाहेको संस्थाको प्राविधिक संरचना अनुकूल बनाउनुपर्ने बाध्यात्मकता कारणले साइबर सुरक्षणमा केही लचकता देखाउँदा तेस्रो पक्षले यो अवस्थाको गलत प्रयोग गरी विभिन्न आपराधिक क्रियाकलाप गर्न सक्ने सम्भावना रहन्छ । विशेषतः एपीआईमा आधारित प्रणाली, दूरीमा आधारित कार्य पद्धति विकासलगायतको विभिन्न व्यावसायिक प्रक्रिया व्यवस्थापनसँग सम्बन्धित विभिन्न सूचना प्रणालीसँग सम्बन्धित डिजिटल प्रणालीहरुको विकास गर्दा आफ्नो सर्भरमा तेस्रो पक्षको पहुँच स्तहः पुगिरहेको हुन्छ ।

व्यवहारगत जोखिम

बैंक तथा वित्तीय संस्था वा सेवाप्रदायकसँग सम्बन्धित विभिन्न व्यक्ति, कर्मचारी र संस्थाको कपटपूर्ण व्यवहारका कारण पनि जोखिम मौलाइरहको हुन्छ । प्रायः यो जोखिम बद्नियतपूर्ण कारोबार, कर्मचारी वा तेस्रो पक्षबाट सम्बन्धित संस्थाले सार्वजनिक प्रकाशनमा नल्याएका सूचना प्रवाह गरी आपराधिक क्रियाकलाप गरिरहेका हुन्छन् ।

नियामकीय जोखिम

डिजिटल बैंकिङ व्यवसायको तीव्र विस्तारसँगै नियामक निकायले विभिन्न ऐन, कानुन, पद्धतिहरु विकास गरी अनिवार्य कार्यान्वयन गरिरहेको हुन्छ, जसलाई आत्मसात् गर्न सेवाप्रदायक र बैंक तथा वित्तीय संस्थालाई थप पूर्वाधार विकास गर्नुपर्ने अवस्था सिर्जना हुन्छ, जसबाट अनुपालन गर्दा पनि थप लागत सिर्जना हुन्छ भने नगर्दा पनि विभिन्न हर्जना भुक्तान गर्नुपर्ने हुन्छ, जसबाट दुबै तवरले लागत वहन गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना हुन्छ ।

संस्थागत परिर्वतन

महामारीको चपेटाबाट सिर्जित भएको आर्थिक भारलाई कम गर्न सेवाप्रदायकहरुले आफ्नो प्राविधिक, व्यवस्थापकीय कार्यढाँचा एवं जनशक्ति फेरबदल तथा थपघट गर्दा सेवाप्रवाहमा कमजोरी भइरहेका हुन सक्छन्, जसबाट सेवाप्रदायकहरुलाई अर्को जोखिमको भार सिर्जना हुन्छ ।

सेवा प्रयोगगत जोखिमहरु

प्राविधिक विस्तार एवं परिस्थितिजन्य अवस्थाले डिजिटल बैंकिङ सेवाको द्रुत विस्तार भइरहे पनि कमजोर वित्तीय साक्षरताका कारण सेवाग्राहीले उपलब्ध सेवा प्रयोग गर्दा विभिन्न झन्झट झेलिरहेका भेटिन्छन् । जस्तै: चलाउन जान्ने मान्छेसँग सोधपुछ गर्दा आफ्नो गोप्य सूचना चुहावट भई वित्तीय अपराधको सिकार हुनु, कारोबार गर्दा नगद भुक्तान नहुने तर खाताबाट रकम कट्टी हुने, रकम भुक्तान अन्यत्रै हुने आदि जस्ता अनेकौं प्रयोगगत अप्ठ्याराहरुका बारेमा सेवाग्राहीलाई आवश्यक साक्षरताको व्यवस्था गर्ने तथा आवश्यक पर्दा तुरुन्तै सक्रिय हुने छुट्टै डेस्क प्रत्येक सेवाप्रदायकले केन्द्रीय रुपमा गर्नु अपरिहार्य देखिन्छ । अन्यथा, डिजिटल बैंकिङ सेवामा सेवाग्राहीको विश्वास क्रमिक रुपमा घट्दै गई दीर्घकालीन व्यावसायिक जोखिम सिर्जना हुनसक्छ ।

लक्षित आपराधिक क्रियाकलाप

आपराधिक मानसिकता बोकेका प्रविधिमा अब्बल व्यक्ति तथा संस्थाहरुले विद्युतीय भुक्तानी प्रणालीसँग आबद्ध सेवाप्रदायक तथा प्रयोगकर्ताका गतिविधिलाई सूक्ष्म रुपमा विश्लेषण गर्नुका साथै विभिन्न सूचना संकलन गरी विभिन्न प्रकारका वित्तीय अपराध गरिरहेका हुन्छन्, जसबाट सेवाग्राहीको नगद तथा सूचना चोरीको जोखिम क्रमिक रुपमा बढ्दै गएका छन् । डिजिटल भुक्तानी प्रणालीमा देखिएका केही प्रमुख आपराधिक क्रियाकलाप यस्ता छन्:

फिसिङः आपराधिक क्रियाकलापमा संलग्न व्यक्ति तथा संस्थाले बैंकका ग्राहकलाई सम्बन्धित सेवाप्रदायक वा बैंकबाट नै इमेल, एसएमएस आदि पठाएझैं गरी वित्तीय कारोबारसँग सम्बन्धित विभिन्न गोप्य सूचना माग गर्ने र सूचना प्राप्त भएपछि पहिचान तथा पैसा चोरी गरी आपराधिक क्रियाकलाप गर्ने गर्छन् ।

भिसिङ: सेवाप्रदायक तथा बैंकबाट सम्पर्क गरेको भन्दै सेवाग्राहीलाई फोन सम्पर्क गरी वा आवाजको सन्देश पठाएर विभिन्न सेवा सुविधा दिने वा ग्राहक पहिचान अद्यावधिक गर्ने वा यस्तै अन्य बहानामा विभिन्न गोप्य सूचना माग गर्ने र प्राप्त सूचना प्रयोग गरी नगद वा ग्राहकको पहिचान चोरी गरी वित्तीय अपराध गर्ने गर्छन् ।

टाढैबाट पहुँच: सेवाग्राहीलाई आफ्नो मोबाइल फोन तथा कम्प्युटरमा विभिन्न एप्स, प्रोग्रामहरु डाउनलोड गर्न बाध्य बनाएर त्यसै मार्फत सेवाग्राहीका क्रियाकलाप जासुसी गर्दै गोप्य रुपमा सूचना चोरी गर्ने तथा प्राप्त सूचनाको प्रयोग गरी विभिन्न वित्तीय अपराध गर्ने गर्छन् ।

नगद भुक्तानीका झुटा आश्वासनः चिट्ठा परेको, सस्तोमा राम्रो सामान उपलब्ध गराउने, राम्रो देशमा वैदेशिक रोजगारीमा पठाइदिनेलगायत अनेकौं वहानामा सेवाग्राहीलाई सामाजिक सञ्जाल तथा सञ्चारका विभिन्न माध्यमबाट नगद जम्मा भएपछि काम भइहाल्ने आश्वासनसहितका सन्देश पठाएर पनि वित्तीय अपराध हुने गरेका छन् ।

भुक्तानीसँग सम्बन्धित सेवाप्रदायकका नक्कली वेबसाइट तथा सामाजिक सञ्जाल तयार गरी सेवाग्राहीका गोप्य सूचना अद्यावधिक गर्ने वहानामा पनि ग्राहकको पहिचान तथा नगद चोरी भइरहेको हुनसक्छ ।

डिजिटल बैंकिङमा देखापरेका जोखिम व्यवस्थापन

प्रयोगकर्ता एवं कारोबारको आकार दुबैमा उच्च गतिमा विस्तारित डिजिटल बैंकिङ कारोबारलाई विश्वसनीय, भरपर्दो तथा दिगो विकासको पथमा लैजान अत्यन्तै आवश्यक छ । जसका लागि नियामक निकायले निरन्तर विभिन्न ऐन, नियम तथा निर्देशन जारी गर्ने र कारोबार अनुगमन गर्ने आदि गरी नै रहेको छ भने डिटिल बैंकिङ सेवा प्रवाह गर्ने सेवाप्रदायक तथा सेवा प्रयोगकर्ताले पनि समयसापेक्ष आ-आफ्ना तहबाट पूर्वसतर्कता अपनाउन सकेमात्रै डिजिटल बैंकिङ सेवा मौलाउँदा जोखिम क्रमिक रुपमा निस्तेज गर्न सक्ने सबलता प्राप्त हुनेछ । जोखिम कम गर्न संस्थागत तथा उपयोगकर्ताको तहमा गर्न सकिने जोखिम न्यूनीकरणका केही संकेतिक पूर्वतयारी यस्ता हुन सक्छन्:

संस्थागत-तह

– आन्तरिक विद्यमान सूचना प्रविधि एवं नीति-नियमको समयसापेक्ष पुनरावलोकन गरी अद्यावधिक गर्ने ।

– नियामकीय एवं आन्तरिक साइबर सुरक्षा नीतिको विवेकशील अनुपालन गर्ने ।

– डिजिटल बैंकिङमा आधारित कारोबार एवं सूचनाको नियमित अनुगमन गर्ने ।

– डिजिटल बैंकिङ सुविधाका लागि सेवाग्राहीलाई बैंकमा भित्र्याउँदा कठोर ग्राहक पहिचान पद्धतिको विकास गर्नुका साथै सेवा सक्रिय गर्दा ग्राहकको पहिचान पुनरावलोकन गर्ने व्यवस्था मिलाउने । सेवा सुविधा प्रयोग गर्दा दुई तहको प्रमाणीकरणको अनिवार्यतालाई अझ सशक्त बनाउनुपर्ने ।

– लामो समयदेखि सञ्चालनमा नरहेका डिजिटल बैंकिङ प्रयोगकर्ताको प्रणालीगत पहिचान पुनः सक्रिय गर्ने सम्बन्धित सेवाग्राहीबाट निवेदन नआउँदासम्म स्वत: निष्क्रिय हुने प्रणाली विकास गर्ने ।  

– डिजिटल बैंकिङका सेवामार्फत कारोबार गर्दा सेवाग्राहीको वित्तीय साक्षरताका आधारमा कारोबारको सीमा एवं सुविधा निर्धारण गर्ने ।

– कार्यगत तहमा परिचालन हुने कर्मचारीलाई तालिम तथा अभिमुखीकरण गर्ने तथा तिनीहरुलाई प्रदान गरिएको प्रणालीगत पहिचान तथा पासवर्ड परिवर्तनको स्थितिको नियमित अनुगमन गर्नुपर्ने ।

– तेस्रो पक्षबाट काम गराउँदा वा लिँदाको विद्यमान प्रक्रिया समयसापेक्ष अद्यावधिक गरी विवेकशील रुपमा अनुपालन गर्ने ।

– नियमित वित्तीय साक्षरता प्रवर्धनका क्रियाकलापमा सहभागी हुने ।

– डिजिटल बैंकिङ सेवामार्फत हुन सक्ने सम्भावित अपराधको तुरुन्तै पहिचान एवं समाधान गर्न संस्थाभित्र केन्द्रीकृत रुपमा छुट्टै डेस्क खडा गर्ने ।

– सेवाप्रदायक र बैंक तथा वित्तीय संस्थाबीच नियमित अनुभव आदानप्रदान एवं आवश्यकता पर्दा तुरुन्तै सूचना प्रवाह गरी नगद रोक्का, सेवा निष्क्रिय गर्ने, प्रहरी अनुसन्धानका लागि सूचित गर्ने आदि जस्ता क्रियाकलाप गर्न सक्ने स्वचालित डिजिटल संयन्त्र विकास गर्ने ।

सेवा तथा सुविधा उपयोगको तहः

डिजिटल बैंकिङ सेवा प्रयोगकर्ताले बढ्दो जोखिमलाई न्यूनीकरण गर्न कम्तीमा निम्नलिखित पूर्वसतर्कता अवलम्बन गर्नुपर्ने देखिन्छ:

– सञ्चारका विभिन्न माध्यमबाट चिरपरिचित मान्छेको नाममा रकम माग गर्ने, बैंकबाट फोन गरेको भनी मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङलगायतका डिजिटल बैंकिङ सेवाको प्रयोगकर्ताको पहिचान (युजर नेम) तथा गोप्य सूचनाहरु माग्ने, विभिन्न नक्कली वेबसाइट वा जासुसी प्रोग्राममार्फत सेवाग्राहीका सूचना लिने, ठूलो रकमको चिठ्ठा परेको भनी प्रलोभनमा पारी उक्त चिठ्ठा रकम हस्तान्तरण गर्ने बहानामा रकम माग गर्ने, अत्यधिक नाफाको लोभ देखाई गैरकानुनी घोषणा गरिएका उपकरणमा लगानी गर्न उत्प्रेरित गर्ने आदि जस्ता अनेकौं क्रियाकलाप गरी आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिले सेवाग्राहीका सूचना एवं नगद चोरी गर्ने प्रयत्न गरिरहेका हुन सक्छन् । त्यसैले डिजिटल बैंकिङ सेवाका उपकरण वा माध्यमबाट कारोबार गरिरहेका सेवाग्राहीले कारोबार गर्नुपूर्व चनाखो हुनु अत्यन्तै जरुरी छ ।

– अपरिचित व्यक्तिलाई कुनै पनि माध्यमबाट आफ्नो गोप्य सूचना (पासवर्ड, ओटिपी, पिन) वा अन्य कुनै पनि संवेदनशील जानकारी दिनु हुँदैन । मोबाइल तथा अन्य उपकरण एवं प्रोग्रामहरुका पासवर्ड बेलाबेला परिवर्तन गरी गोप्य तरिकाले सुरक्षित राख्दा यस्ता सूचना वित्तीय अपराधमा संलग्न व्यक्तिको पहुँचमा पुग्ने सम्भावना कम हुन्छ ।

– विद्युतीय माध्यमबाट रकम पठाउन कुनै सूचना प्राप्त भएमा रकमान्तर गर्नुअघि रकम माग गर्ने व्यक्तिको पहिचान तथा रकम पठाउनुपर्ने औचित्य अन्य स्रोतहरुबाट समेत यकिन गरेर मात्र रकमान्तर गर्ने गर्नुपर्छ ।

– कम्प्युटर, मोबाइल तथा अन्य विद्युतीय उपकरण, प्रोग्राम (सफ्टवेयर, एप) डाउनलोड गर्दा अत्यन्तै होसियार हुनुपर्छ किनकि तिनै प्रोग्राममार्फत आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिले सेवाग्राहीका सूचना प्राप्त गर्न विभिन्न किसिमका जासुसी गरिरहेका हुन सक्छन् । यसबाट बच्न अनावश्यक तथा अनधिकृत प्रोगाम डाउनलोड गर्ने बानी परिर्वतन गर्नु अति नै आवश्यक छ ।

– कसैले चिठ्ठा वा अन्य कुनै बहानामा रकम भुक्तान गर्न क्यूआर कोड, बारकोड पठाई वा इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङको गोप्य सूचना (पासवर्ड, ओटिपी, पिन) माग गरेको छ भने त्यो शंकास्पद गतिविधि हुनसक्छ किनकि रकम भुक्तानी गर्न वा पठाउन यस्ता सूचना प्रायः आवश्यक हुँदैनन् ।

– कुनै पनि वेबसाइटमार्फत विद्युतीय कारोबार गर्नुअघि सम्बन्धित संस्थाको आधिकारिक हो/होइन यकिन गरेर मात्र कारोबार गर्नुपर्छ ।

– आफूले डिजिटल बैंकिङ सेवा सुविधा उपयोग गरिरहेका विद्युतीय उपकरण तथा एटिएम कार्ड, चेकबुकको अनधिकृत प्रयोगबाट जोगाउन आवश्यक सतर्कता अपनाउने गर्नुपर्छ ।

– आफ्नो बैंक खातामा रकम जम्मा हुँदा वा रकम झिक्दा आउने एसएमएसहरुको नियमित अनुगमन गर्ने तथा कुनै अस्वाभाविक संकेत देखिएमा तुरुन्तै सम्बन्धित बैंकमा खबर गर्ने तथा निश्चित अन्तरालमा आफ्नो बैंक खाताको स्टेटमेन्ट रुजु गर्ने गर्नुपर्छ ।

– नियामक निकाय, बैंक तथा अन्य सेवाप्रदायकले समय-समयमा कारोबारमा देखिने जोखिम कम गर्न विभिन्न सल्लाह र निर्देशन प्रवाह गरिरहेका हुन्छन्, त्यस्ता कुरामा अद्यावधिक रहने ।

– समाज तथा परिवारका सदस्यलाई आफूलाई प्राप्त डिजिटल बैंकिङ सेवा सुविधाको प्रयोग तथा जोखिम न्यूनीकरणसम्बन्धी सूचना सुनाउने वा यसबारे अरुलाई पनि अद्यावधिक गर्ने ।

समयसापेक्ष विकास एवं विस्तारको तीव्रगतिमा अगाडि बढिरहेको नेपालको डिजिटल बैंकिङ व्यवसायलाई थप प्रभावकारी बनाउन संलग्न सेवाप्रदायक र बैंक तथा वित्तीय संस्थाहरुले आन्तरिक प्राविधिक सबलतालाई पुनरावलोकन एवं अद्यावधिक गरेर विद्यमान नियामकीय व्यवस्थाको विवेकशील अनुपालनको सुनिश्चितता गर्दै वित्तीय साक्षरता प्रवर्धनमा सक्रिय रुपमा परिचालित हुनुपर्ने देखिन्छ भने प्रयोगकर्ताहरुले पनि डिजिटल बैंकिङ कारोबार गर्नुपूर्व अत्यन्तै चनाखो हुनुपर्ने आवश्यकता छ । अन्यथा, वर्तमान समयमा देखिएको आशालाग्दो प्रयोगकर्ता एवं कारोबारगत प्रवृत्तिसँगै आपराधिक क्रियाकलाप वृद्धि भई सेवाप्रदायक र बैंक तथा वित्तीय संस्थाको सेवामा सर्वसाधारणको विश्वास क्रमिक रुपमा कमी आई समग्र डिजिटल बैंकिङ सेवाको विकासमा अवरोध सिर्जना हुनसक्छ ।

(उल्लिखित विचार लेखकका निजी भएकाले आबद्ध संस्थाको प्रतिनिधित्व गर्दैन ।)


रवि धिताल