प्राइभेट इक्विटी फन्डसँग साझेदारी गर्दा बिजनेस डुब्यो भने पनि घरखेत जाँदैन



आफूसँग प्रोजेक्टसम्बन्धी राम्रो आइडिया हुनसक्छ । प्रोजेक्ट अघि बढाइएको पनि हुन्छ तर प्रोजेक्टको गति निकै सुस्त हुनसक्छ । प्रोजेक्ट राम्रो भएर पनि लगानी अभाव भइरहेको हुनसक्छ । आफूसँग प्रोजेक्टको कुल सम्पत्तिको कम्तीमा ३० प्रतिशत सम्पत्ति नभएसम्म बैंकबाट पनि कर्जा प्राप्त हुँदैन ।

त्यस्तो अवस्थामा के गर्ने ? कसरी अघि बढ्ने ? कि आफ्नो आइडिया ओइलाउन दिने ?

खासमा यस्तै अवस्थाका प्रोजेक्टहरुलाई गति दिन पुँजी र वित्तीय व्यवस्थापनको ज्ञान दुवै नहुन सक्छ । त्यसबेला प्राइभेट इक्विटी दुवै हिसाबले पार्टनरका रुपमा देखापर्न सक्छ ।

उदाहरणका लागि कुनै पनि बिजनेस अघि बढाउन सय करोड रुपैयाँ लगानी लाग्ने देखियो । सय करोडमध्ये बैंकले अधिकतम लगानी गर्ने भनेको ७० करोड हो । बाँकी ३० करोड इक्विटी आफूले जुटाउनुपर्ने भयो ।

मानिससँग थोरै पैसा छ । बैंकले कर्जा (७० प्रतिशत) पनि दिनसक्ने अवस्था छ । तर, ३० करोड रुपैयाँ नहुन सक्छ । उससँग १६ करोड मात्र हुनसक्छ । १४ करोड रुपैयाँ अपुग भएर बिजनेस नै अलपत्र परिरहेको हुनसक्छ । बाहिरको लगानीकर्ता खोज्न पनि विभिन्न सीमाहरु हुनसक्छन् । यस परिप्रेक्ष्यमा त्यो १४ करोड संस्थागत रुपमा हाल्ने संस्था प्राइभेट इक्विटी फन्ड हो ।

उद्यमीले १६ करोड हाल्ने र प्राइभेट इक्विटीले १४ करोड हाल्ने भन्नुको पनि खास अर्थ छ । एउटा उद्यमी जोसँग पुँजी छैन तर उद्यमशीलता छ । पुँजी मात्र नभएर वित्तीय व्यवस्थापनको ज्ञान पनि नहुन सक्छ । यी दुवैका लागि उपयुक्त साझेदार नै प्राइभेट इक्विटी हुन्छ । अरु व्यक्ति साझेदार हुँदा कि पुँजी मात्र कि त वित्तीय विज्ञता मात्र हुनसक्छ । तर, प्राइभेट इक्विटी साझेदार हुँदा दुवै कुरा प्राप्त हुन्छ ।

यसको बहुआयामिक अर्थ र प्रभाव छ । एउटा पुँजी जुट्यो । अर्को वित्तीय व्यवस्थापन र विज्ञताको कुरा भयो र अर्को ऊ स्वयं उद्यमी त भइहाल्यो । यो सम्पूर्ण चक्रलाई नै व्यवस्थापन गरिदिन सक्रिय सहयोग गर्ने साझेदार संस्था प्राइभेट इक्विटी हुन्छ ।

प्राइभेट इक्विटी कहिल्यै उद्यमी होइनन् । लगानीकर्ता र साझेदार मात्र हुन् । तर, प्राइभेट इक्विटीले आफूलाई उद्यमीसरह सोच्नुपर्छ । उद्यमीचाहिँ स्वयं उद्यमी नै हो । प्राइभेट इक्विटी साझेदारमा मात्र रहन्छ ।

प्राइभेट इक्विटी त बिजनेस साझेदार नै हुन्छ । अझ भनौँ बिजनेस साझेदारसहित फाइनान्सियल कन्सल्ट्यान्ट पनि हुन्छ । बैंकलगायत अन्य ऋणदाताले तिर्नसक्ने क्षमता छ कि छैन त्यो मात्र हेर्छन् ।

इक्विटी फिर्ता गर्ने खालको हुँदैन । दीर्घकालका लागि हुन्छ । सम्भव भएसम्म ५१ प्रतिशत हिस्सा उद्यमीसँगै रहोस् भन्ने उद्देश्य प्राइभेट इक्विटीले राखेको हुन्छ । प्राइभेट इक्विटीको आइडल साइज १५ देखि ४९ प्रतिशतसम्म हुनसक्छ ।

नेपालमा इतिहास र सम्भाव्यता

नेपालमा प्राइभेट इक्विटी फन्डको इतिहास खासै पुरानो होइन । अन्तर्राष्ट्रिय वित्त निगमले सहयोग गरेको ह्वाइट लोटस (बिजनेस अक्सिजन) नामको संस्था सबैभन्दा पुरानो हो । यो विदेशी फन्डबाट चलेको छ।

स्वदेशमै हेर्ने हो भने विशिष्टीकृत लगानी कोष नियमावली २०७५ आयो । केही मर्चेन्ट बैंकहरुले आवेदन दिएका थिए । यसअन्तर्गत आवेदन दिएर लाइसेन्स लिने कम्पनीहरु १२ वटा छन् तर तीमध्ये ७-८ वटाचाहिँ मर्चेन्ट बैंकर नै हुन् । बैंकले ती मर्चेन्ट बैंकरलाई एउटा युनिटमा म्युचुअल फन्ड चलाएजस्तो गरी चलाउने हुन्।

अन्य प्राइभेट इक्विटीमा पनि नेसनल फन्ड म्यानेजमेन्ट लिमिटेड ठूलो चुक्ता पुँजीसहित पब्लिक प्राइभेट पार्टनरसिप मोडलमा सञ्चालनमा आएको छ । यो कर्मचारी सञ्चय कोष, चारवटा वाणिज्य बैंकहरु र एनआरएन मिलेर खोलेको संस्था हो।

विशिष्टीकृत लगानी कोष नियमावली धितोपत्र बोर्डले जारी गरेको हो । यसको लाइसेन्स पनि धितोपत्र बोर्डले नै दिन्छ । यसले प्राइभेट इक्विटी, भेन्चर क्यापिटल र हेज फन्डलाई नै दिशानिर्देश गर्छ । भेन्चर क्यापिटल अलि जोखिमपूर्ण हुन्छ, यसले आइडियामै लगानी गर्छ । प्राइभेट इक्विटीचाहिँ आइडियाले एउटा मुर्त रुप लिइसकेर अघि बढिसकेपछि प्रवेश गर्छ । विश्वव्यापी रुपमै प्राइभेट इक्विटी बजार ठूलो छ ।

आवश्यकता र सम्भाव्यता

नेपालका धेरै उद्यम व्यवसायहरु बैंक तथा वित्तीय संस्थाको भरमा चलिरहेका छन् । मेरो अनुमानमा बैंक तथा फाइनान्समा १५ खर्ब रुपैयाँबराबरको इक्विटी छ । अर्को १० खर्बजति आफ्नो फाइनान्सिङ छ । यसको अर्थ २५ खर्ब रुपैयाँबराबरको यहाँको मार्केट हो ।

विश्व बैंक समूहको अन्तर्राष्ट्रिय वित्त निगमकै प्रतिवेदनले पनि नेपालमा जीडीपीको १० देखि १५ प्रतिशत अझै लगानीको सम्भाव्यता रहेको देखाएको छ । त्यस हिसाबले नेपालमा लगानीका लागि प्रशस्त सम्भावना छ । त्यसमा सबै बैंक र फाइनान्सबाट लगानी हुने सम्भावना पनि रहँदैन । हामी त्यसमा प्रवेश गरेर त्यसलाई ‘बैंकेबल (बैंकले लगानी गर्न सक्ने)’ प्रोजेक्ट पनि बनाउन सक्छौँ ।

पहिलो कुरा हामी सबै ठाउँमा पुग्नुपर्छ भन्ने हुँदैन । उद्यमीको आइडिया, उसको प्रवृत्ति, क्षेत्र, सम्भावनालगायतका सबै कुरालाई ख्याल गरेर लगानी गर्छौं ।

बैंक र प्राइभेट इक्विटीबीच फरक

बैंकले विशुद्ध कर्जा लगानी गर्छ र ब्याज आम्दानी गर्छ । ब्याज तिर्न सक्छ कि सक्दैन भन्ने हेर्छ । कम्पनी नोक्सानमा भए पनि ब्याज तिर्नसक्ने हुनसक्छ । त्यसमा पनि बैंकले कर्जा प्रवाह गर्छ । तर, प्राइभेट इक्विटीहरु साधारणतया इक्विटीमै साझेदार बनेर आउँछन् । प्राइभेट इक्विटी साझेदार संस्था हुने भएकाले ब्याजको बोझ हुँदैन ।

कम्पनीले नाफा गर्‍यो भने मात्र हामीले पाउने हो । कम्पनीले गरेको नाफाको आधारमा लगानीको आनुपातिक लाभ हामीलाई प्रतिफलका रुपमा प्राप्त हुन्छ । प्राइभेट इक्विटीको साझेदारीले कम्पनी डुब्यो भने सबैको इक्विटी डुब्छ तर उद्यमीको कर्जामा जस्तो घरखेत जाँदैन ।

लगानीसम्बन्धी व्यवस्था पुनरावलोकन

नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशनको बुँदा नम्बर ८ अनुसार बैंक तथा वित्तीय संस्थाले प्राथमिक पुँजीको ३० प्रतिशतसम्म कर्जाबाहेकका विभिन्न क्षेत्रमा लगानी गर्न सक्छन् । सोही अन्तर्गत बैंकहरुले लगानी गरिरहेकै छन् । तर अझ स्पष्ट रुपमा धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त विशिष्टीकृत लगानी कोष भनिदियो भने काम गर्न सजिलो हुन्छ ।

चालू आर्थिक वर्षको मौद्रिक नीतिले भनेकै छ- धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका प्राइभेट इक्विटी फन्ड या भेन्चर क्यापिटल फन्डमा बैंक तथा वित्तीय संस्थाबाट हुने लगानीलाई सहजीकरण गर्न विद्यमान लगानीसम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिनेछ ।

(गुरागाईं नेसनल फन्ड म्यानेजमेन्ट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हुन् ।)


क्लिकमान्डु