क्यान्सरको विशेषज्ञ सेवा दिन चितवन मेडिकल कलेजले डेढ अर्ब ऋण लिँदै, वर्षमा २ अर्ब आम्दानी



काठमाडौं । हालै क्यान्सर अस्पताल सञ्चालनमा ल्याएको चितवन मेडिकल कलेजले डेढ अर्ब रुपैयाँ बढी ऋण लिने भएको छ । कुल लगानी १ अर्ब १२ करोड १० लाख रुपैयाँमा निर्माण गरेको क्यान्सर अस्पताल सन् २०२३ को जनवरीदेखि व्यवसायिक आम्दानी गर्न सुरु गरेको थियो।

७९ करोड ऋण र ३३ करोड १० लाख रुपैयाँ कम्पनीले लगानी गरी क्यान्सर अस्पताल निर्माण भएको थियो । जसमा लगानीको हिस्सा ७०:३० राखिएको थियो ।

अहिले स्वास्थ्य सेवा र शिक्षा दुबै क्षेत्रका लागि ३४ करोड १० लाख रुपैयाँ खर्च गरेर अस्पतालमा केही परिवर्तनको काम भइरहेको छ । त्यसका लागि अस्पतालले हालसम्ममा ८३ प्रतिशत आर्थिक प्रगति गरेको छ ।

मेडिकल कलेजले १ अर्ब ५८ करोड ५५ लाख रुपैयाँ दीर्घकालीन तथा अल्पकालीन कर्जाको रेटिङ गराएको छ ।

सन् २०२० मा १ अर्ब ५१ करोड ८० लाख, सन् २०२१ मा १ अर्ब ८७ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको अस्पतालले सन् २०२२ मा २ अर्ब ७ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको छ ।

अस्पतालले विभिन्न प्रकारका सेवा प्रदान गर्दै आएको छ । अस्पतालकाअनुसार सन् २०२३ मा क्यान्सर सम्बन्धी रोगको सेवा दिन सुरु गरेसँगै आम्दानी रिबाउन्ड हुँदै गएको जनाएको छ । तर, सन् २०२३ मा भने आम्दानी घटेको उल्लेख छ । सन् २०२३ को अप्रिलमा स्वास्थ्य बीमा दिन बन्द भएसँगै आम्दानीमा उच्च असर पुगेको अस्पतालले जनाएको छ ।

सन् २०२२ मा अस्पतालको आम्दानी ११ प्रतिशतले बढेको छ ।

सन् २०१९ देखि सन् २०२१ सम्ममा कोभिडका कारणले मेडिकल कलेजको आम्दानीमा कमी आएको थियो । सन् २०२२ मा कलेजबाट ४७ करोड २० लाख रुपैयाँ मात्रै आम्दानी भएको छ ।

कोभिडले गर्दा कलेजको नयाँ भर्नामा ढिला हुँदा आम्दानीमा असर पुगेको कम्पनीको भनाइ छ । सन् २०२२ मा कम्पनीले ३० करोड ६० लाख रुपैयाँ नाफा कमाएको छ ।

मेडिकल कलेजले सन् २०२३ को ९ महिनाको अवधिमा १ अर्ब २६ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ । सन् २०२० को सोही अवधिमा अस्पतालले १ अर्ब ५६ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

अघिल्लो वर्षको तुलनामा सन् २०२३ को ९ महिनामा ७७ करोड कम आम्दानी भएको कम्पनीले जनाएको छ । सन् २०२३ को ९ महिनाको अवधिमा ८९ प्रतिशतले व्यापारमा रिबाउन्ड हुँदै गएको उल्लेख छ ।

सन् २००६ मा स्थापना भएको अस्पतालमा डा. हरिशचन्द्र न्यौपाने अध्यक्ष छन् । उनी लखनाउमा रहेको एक सय शय्याको शेखर अस्पताल प्रालिको लगानीकर्ता पनि हुन् । त्यस्तै, अस्पतालको निर्देशक डा. दयाराम लम्साल हुन् ।

अस्पतालमा ११ सय ४ जना कर्मचारी छन् भने १३४ जना शिक्षा क्षेत्रका कर्मचारी छन् । ७५० शय्याको सुविधा रहेको अस्पतालले डेन्टिष्ट्रि, फोरेन्सिक मेडिसिन, ओम्थामोलोजी, ओरल एण्ड म्याक्सिलोफेसियल सर्जरी, प्याथोलोजी, अर्थोडोन्टिक, पेडोडोन्टिक, रेडियो डाइग्नोसिस, सर्जरीलगायत आइसीयू, एनआइसीयू र पीआइसीयूको सुविधा दिँदै आएको छ ।

त्यति मात्रै नभएर अस्पतालले १२ वटा विभिन्न कोर्सको शिक्षा प्रदान गर्दै आएको छ । अस्पतालले विश्वविद्यालयअन्तर्गतको एमबीबीएस र एमडीको कोर्स प्रदान गर्दै आएको छ । अस्पतालले ७० प्रतिशत आम्दानी अस्पतालबाट र २३ प्रतिशत मेडिकल कलेजबाट गरेको छ ।

चितवन मेडिकल कलेजले ब्याचलर इन नर्सिङ, बीएससी, ब्याचलर अफ मेडिसिन र ब्याचलर अफ सर्जरी र अन्य विभिन्न ब्याचलर लेभलकौ शैक्षिक शिक्षा प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु