भारतले बासमतीबाहेक अन्य चामलको निर्यातमा प्रतिबन्ध गर्दा नेपालमा मूल्य बढ्ने



काठमाडौं । भारतले बासमतीबाहेकका सबै चामल निर्यातमा प्रतिबन्ध लगाएको छ । भारतको खाद्य मन्त्रालयले चाडपर्वको समयमा आपूर्ति सहज बनाउन तथा मूल्यवृद्धि हुन नदिन चामल निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । तर, स्टिम गरिएका अरु चामल र बासमती चामल निर्यातमा भने प्रतिबन्ध नलगाइएको मन्त्रालयलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतबाट सबैभन्दा बढी स्टिम गरिएको चामल निर्यात हुने गरेको छ ।

भारतबाट निर्यात हुने चामलमध्ये बासमतीबाहेकको चामलको हिस्सा करिब २५ प्रतिशत छ । भारतबाट थाइल्यान्ड, इटाली, स्पेन, श्रीलंका, अमेरिका, नेपाललगायतका १५० भन्दा बढी देशमा चामल निर्यात हुन्छ । सन् २०२१–२२ मा भारतबाट २ करोड १२ लाख टन चामल निर्यात भएको थियो ।

भारत सरकारले बासमतीबाहेक अन्य चामलको निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपालमा त्यसको प्रत्यक्ष असर देखिने भएको छ । भारत सरकारले गत सेप्टेम्बरमा बासमतीबाहेकका अन्य चामल निर्यातमा २० प्रतिशत कर लाग्ने बनाएको थियो । उत्पादन कम भएको भन्दै भारतले खाद्य सुरक्षाको नीति अपनाएर निर्यातमा कडाइ गरेको थियो । उक्त निर्णयलाई भारत सरकारले संशोधन गर्दै निर्यातमा मै प्रतिबन्ध लगाएको छ ।

गत सेप्टेम्बरमा बासमतीबाहेकको अन्य चामल निर्यातमा प्रतिबन्ध गरेसँगै नेपालमा हप्तादिनमै चामलको मूल्य बढेको थियो । सो बेला व्यवसायीहरुले प्रतिबोरा २ सय रुपैयाँदेखि ४ सय रुपैयाँसम्म बढाएका थिए । त्यस्तै, भारत सरकारले निर्यातमा प्रतिबन्ध गरेसँगै नेपालमा चामलको मूल्य बढ्ने व्यवसायीहरुले अनुमान गरेका छन् ।

नेपालले अधिकांश चामल भारतबाट आयात गर्ने भएकाले त्यसको प्रत्यक्ष असर नेपाली बजारमा पर्ने नेपाल चामल, तेल, दाल तथा उत्पादक संघका महासचिव दिपककुमार पौडेल बताउँछन् । उनकाअनुसार नेपालमा उत्पादन भएको धानले बजारमा माग धान्दैन । व्यवसायीहरुले भारतबाट आयात गरेर प्रशोधन गर्दै बजारमा बिक्री गर्ने हो । भारत सरकारले निर्यातमा प्रतिबन्ध गरेको अवस्थामा मूल्यमा प्रत्यक्ष असर देखिने भएको छ ।

‘नेपालले वार्षिक ६ लाख मेट्रिक टन ल्याउने कोटाको व्यवस्था छ,’ उनले क्लिकमान्डुसँग भने, ‘सरकारले तोकेको कोटाको कम हिस्सा मात्रै ल्याउन बाँकी छ । जसले गर्दा आगामी दिनमा चामलको मूल्य बढ्नेछ ।’

त्यस्तै, भारत सरकारले निर्यातमा कडाइ गरे पनि खुला सीमानाका कारण अवैध ढंगबाट चामल भित्रिने सक्ने उनको भनाइ छ । अहिले नेपाली बजारमा धान तत्कालै उत्पादन गर्न सक्ने अवस्था छैन । आगामी चार महिनाभित्र मात्रै आन्तरिक उत्पादनले बजार धान्न सक्ने अवस्था छ । आथिक मन्दीले गर्दा व्यवसायीहरुले धेरै मात्रामा मौज्दात राख्ने अवस्था छैन । त्यसैले, आगामी दिनमा मूल्य बढ्न गई उपभोक्ताले महंगोमा खाद्य उपभोग गर्न सक्ने स्थिति सिर्जना हुने उनको भनाइ छ ।

नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्रा बज्रचार्यले भारतले प्रतिबन्ध लगाएको केही समयमै व्यवसायीहरुले मूल्य बढाएर बजारमा पठाउने बताए । विगतमा पनि भारत सरकारले कुनै वस्तुमा कडाइ गर्ने वित्तिकै नेपाली व्यवसायीहरुले हप्ता दिनमै मूल्य बढाएर पठाउने गरेको उनको भनाइ छ । आगामी दिनमा पनि विगतको जस्तै मूल्य बढाएर आउने उनको भनाइ छ ।

‘नेपाली व्यवसायीहरुले भारतको निर्णयलाई आधार मानेर मूल्य बढाउने प्रवृत्ति छ,’ उनले भने, ‘भारत सरकारले प्रतिबन्ध गर्ने वित्तिकै नेपाली बजारमा त्यसको प्रत्यक्ष असर देखिने भएको छ ।’

संघअनुसार अहिले बजारमा त्रिशुलीको पोखरेली चामलको २५ केजीको मूल्य २२ सय ५० रुपैयाँ, स्टिम जिरा मसिनो चामलको मूल्य १७ सय ५० रुपैयाँ, लङ ग्रेन बासमती चामलको २५ केजीको मूल्य ३२ सय ५० रुपैयाँ छ ।

त्यसैगरी, नेपालले गत वर्षको जेठसम्ममा ७५ करोड ६४ लाख रुपैयाँको १८ अर्ब ९० करोड ७८लाख रुपैयाँको ५० करोड ६७ लाख केजी धान आयात गरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार गत वर्षको ११ महिनाको अवधिमा १४ अर्ब ४४ करोड ३६ लाख रुपैयाँको नन–पोलिस चामल र २८ करोड ३० लाख रुपैयाँको ब्रोकन राइस आयात गरेको छ ।

यसवर्ष समयमा पानी नपर्दा करिब आधा क्षेत्रमामात्र रोपाइँ भएको छ जसका कारण आगामी वर्ष पनि धान उत्पादनमा कमी आउन सक्छ । देशभर हालसम्म ६८ प्रतिशत रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । यस वर्ष समयमै वर्षा नहुँदा विगत वर्षको तुलनामा साउन पहिलो सातासम्म पनि ६८ प्रतिशतमात्र रोपाइँ भएको हो ।


अरिष्मा मोक्तान