जुत्ताचप्पलको कच्चा पदार्थ आयातमै बाहिरियो ७ अर्ब, कहाँ-कहाँबाट आयात हुन्छ ?



काठमाडौं । फुटवेयर उत्पादनमा आत्मनिर्भर भइसकेको नेपाल कच्चा पदार्थमा भने पूर्ण परनिर्भर छ । फुटवेयर उत्पादनमा आत्मनिर्भर भएको भनिरहँदा सोही वस्तु उत्पादनका लागि आवश्यक कच्चा पदार्थमा भने अर्बौं रुपैयाँ बाहिरिने गरेको छ ।

नेपाली उद्योगीले विभिन्न देशबाट कच्चा पदार्थ आयात गरेर नेपाली बजारको मागअनुसार फुटवेयर उत्पादन गर्दै आएका छन् । जुत्ता उत्पादक संघ नेपालका अनुसार नेपालमा वार्षिक १० करोड जोडी जुत्ता खपत हुने अवस्थामा नेपालको उत्पादन क्षमता नै १६ करोड हाराहारी छ ।

तर अहिले नेपाली उद्योगले साढे ४ करोड जोडी जुत्ताचप्पल उत्पादन गर्दै आएका छन् भने साढे ५ करोड जोडी आयातित जुत्ताको बजार छ ।

नेपाली बजारमा आयातित फुटवेयर हाबी हुँदा स्वदेशी उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको व्यवसायीको भनाइ छ । करिब १२ अर्ब लगानी भएको फुटवेयर क्षेत्रमा कच्चा पदार्थ उत्पादन गर्ने उद्योग भने निकै कम छन् । नेपालमा १५ सय हाराहारीमा फुटवेयर उद्योग छन् ।

ती उद्योगमा ५० हजारले प्रत्यक्ष रोजगारी पाएको संघले जनाएको छ । देशभर १५ सय हाराहारीमा जुत्ता उद्योग भए पनि ठूला उद्योगको संख्या १२ मात्र छ । त्यस्तै १५ वटा मध्यम स्तरका, ३ सय साना र १२ सय लघु-उद्योग छन् ।

हाल ठूला उद्योगले मात्रै आवश्यक कच्चा पदार्थ उत्पादन गरी जुत्ताचप्पल उत्पादन गर्दै आएका छन् । उक्त कच्चा पदार्थको केही हिस्सा भने उद्योगहरुले साना उद्योगलाई बिक्री गर्दै आएका छन् । तर, साना उद्योगलाई स्वदेशी कच्चा पदार्थ उत्पादन गर्ने उद्योगले माग धान्न नसक्ने व्यवसायीको भनाइ छ ।

सरकारी तथ्यांकले पनि फुटवेयर उत्पादनका लागि आवश्यक कच्चा पदार्थमा पूर्ण परनिर्भर रहेको स्पष्ट पार्छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ११ महिनामा फुटवेयर उत्पादनका लागि आवश्यक कच्चा पदार्थ आयातमा नेपालबाट ७ अर्ब २४ करोड ७६ लाख रुपैयाँ रकम बाहिरिएको छ ।

समीक्षा अवधिमा नेपालले ३ करोड १२ लाख ८३ हजार जोर सोल अर्थात् अन्य कच्चा पदार्थ आयात गरेको छ । नेपालले उक्त आयातित कच्चा पदार्थबाट ३ अर्ब ९५ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

जुत्ता उत्पादक संघ नेपालका अध्यक्ष नानीराज घिमिरेले फुटवेयर उत्पादनमा पूर्ण आत्मनिर्भर भइसके पनि कच्चा पदार्थमा भने परनिर्भर रहेको बताए । उनका अनुसार नेपालका केही ठूला उद्योगले कच्चा पदार्थ उत्पादन गरिरहेका छन् । तर, ती उद्योगीले सीमित मात्रामा कच्चा पदार्थ उत्पादन गर्ने भएकाले बजारको माग धान्न सक्दैन ।

‘फुटवेयर उत्पादनका लागि आवश्यक अधिकांश कच्चा पदार्थ विदेशबाट आयात हुँदै आएको छ,’ उनले क्लिकमान्डुसँग भने । तर, सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत फुटवेयरका लागि आवश्यक कच्चा पदार्थ आयातमा शतप्रतिशत भन्सार बढाएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले जेठ १५ गते आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै जुत्ता उत्पादनका लागि अत्यावश्यक कच्चा पदार्थ सोलको आयातमा शतप्रतिशत भन्सार दर बढाएको बताएका हुन् ।

सरकारले जुत्ताका लागि आवश्यक कच्चा पदार्थ आयातमा १० प्रतिशत भन्सार तोकेको थियो । तर, नयाँ बजेटमार्फत् तीनवटा उपशीर्षकमा जुत्ताको सोल र अन्य कच्चा पदार्थ आयातमा १० प्रतिशतबाट बढाएर २० प्रतिशत भन्सार दर पुर्‍याइएको छ ।

सरकारले जुत्ताको माथिल्लो भाग र जुत्ताका पार्टपुर्जाको भन्सार दर पनि १५ प्रतिशतबाट ५ प्रतिशत बढाएर २० प्रतिशत पुर्‍याएको छ । त्यस्तै, जुत्ताको आउटर सोल तथा प्लास्टिक र रबरको सोलमा १० प्रतिशत रहेकोमा १० प्रतिशत बढाएर २० प्रतिशत बनाइएको छ ।

सरकारले भन्सार बढाएपछि अधिकांश उद्योगीले असन्तुष्टि जनाएका छन् । कच्चा पदार्थको आयातमा भन्सारदर बढाउँदा उद्योगमा उच्च प्रभाव परेको उनीहरुको भनाइ छ ।

उद्योगीहरु स्वदेशी उद्योगीलाई प्रोत्साहन गर्ने हो भने कच्चा पदार्थ आयातमा ५ प्रतिशतभन्दा बढी भन्सार लगाउन नहुने बताउँदै आएका छन् । सरकारले कच्चा पदार्थ आयातमा भन्सार दर घटाएर आयातित फुटवेयरसँग प्रतिस्पर्धा गर्न सक्ने वातावारण सिर्जना गर्नुपर्नेमा सरकारले कर बढाएर थप समस्यमा परेको उनीहरुको आरोप छ ।

सरकारले कर बढाएपछि फुटवेयरको मूल्य २० प्रतिशतसम्म बढेको छ । साथै, व्यवसायीहरुले सरकारको कर वृद्धिले कालोबजारी बढ्न सक्ने पनि बताएका छन् ।

चीनबाट मात्रै पौने ६ अर्बको कच्चा पदार्थ आयात

नेपालले ११ महिनाको अवधिमा ७ अर्बको फुटवेयर कच्चा पदार्थ आयात गरेकोमा चीनबाट मात्रै करिब ६ अर्बको आयात गरेको छ । विभागको तथ्यांकअनुसार चीनबाट ११ महिनाको अवधिमा ५ अर्ब ७८ करोड ५७ लाख रुपैयाँको कच्चा पदार्थ आयात भएको छ ।

त्यसपछि भारतबाट १ अर्ब ३ करोड ५४ लाख रुपैयाँको कच्चा पदार्थ आयात भएको छ । त्यसैगरी, भियतनामबाट १७ करोड २१ लाख, थाइल्यान्डबाट ६ करोड २८ लाख, कम्बोडियाबाट १ करोड २१ लाख, हङकङबाट ३२ लाख, इन्डोनेसियाबाट ७ करोड ८३ लाख, इटलीबाट १ करोड ५१ लाख, स्विट्जरयान्डबाट १ करोड ४४ लाख, यूएईबाट ४० करोड, बेलायतबाट १ करोड २६ लाख, कतारबाट ६१ लाख र अन्य विभिन्न देशबाट २ करोड ३४ लाख रुपैयाँको कच्चा पदार्थ आयात गरिएको छ ।


अरिष्मा मोक्तान