अस्पतालको शय्याबाट सहकारी पीडितको चीत्कार- पैसा उठाइदिनुपर्‍यो हजुर !



सहकारी विभाग पुगेका पीडित ।

काठमाडौं ।

सर नमस्कार !

नमस्कार, को बोल्नुभयो ?

सर, म देवि सापकोटा बोलेको कान्ति अस्पतालबाट ।

के समस्यो भयो र ? अस्पतालबाट फोन गर्नुभएछ ।

सर ! सिन्धु दोलखा सहकारीले मेरो पैसा नै दिएन । ४५ हजार रुपैयाँ लिनुपर्नेछ । बाबु बिरामी भएर अहिले कान्ति अस्पतालमा छु । बाबुको अपरेसन गर्नुछ । अहिलेलाई ३० हजार मात्रै भए पनि हुने थियो सर ।  त्यति भए बाबुको उपचार गर्न पुग्ने थियो । मलाई धेरै आपत पर्‍यो । हजुरले भनिदिनुपर्‍यो सर लौ न !

सहकारीको नाम के हो रे ?

म अस्ति नै पनि आएको थिएँ नि सर, त्यही सिन्धु दोलखा सहकारी क्या ।

अनि त्यो सहकारीले पैसा दिएको छैन र ?

छैन नि सर, अफिसमा आउनु दिन्छु भनेको थियो । पटक–पटक गएँ, एकछिनमा, भरे, भोलि, एक-दुई दिनमा भनेर टारिरहेको छ । अलि अस्ति गएको अफिस नै बन्द रहेछ । पैसा नै दिएको छैन । भएको पैसा त्यति थियो । त्यो पनि सहकारीमा छ । त्यो पनि दिँदैन । बच्चाको अपरेसन गर्न पाइन सर म के गरुँ ?

सहकारीको अध्यक्षको नाम के हो थाहा छ ?

पुरुषोत्तम पुडासैनी हो सर । मेरो बच्चाको अपरेसन गर्न नै नसक्ने भएँ । अस्पतालमा छु । ३० हजार भए नि हुन्छ । उठाइदिनु न सर, लौ न !

यो संवाद आइतबार करिब २ बजेतिर सहकारी विभागका उप-रजिष्ट्रार टोलराज उपाध्याय र सहकारी पीडित कुमारीगाल बस्ने देवी सापकोटाको हो ।

विभागका उप-रजिष्ट्रार उपाध्यायले सापकोटालाई विभागमा नै बोलाए । सापकोटा विभागमै आउने भएपछि फोन राखेका उपाध्याय केही समय टोलाए ।

‘सहकारीमा राखेको पैसा कहाँ हो पत्तो छैन, बच्चा अपरेसन गर्न अस्पतालमा भर्ना गरेको छ, ३० हजार पैसासमेत सहकारीले नदिएर अफीस बन्द गरेर हिँडेका छन्,’ केही समयको मौनतापछि हामीतिर हेरेर उपाध्यायले मलिन स्वरमा प्रश्न गरे, ‘बचतकर्ता कहिलेसम्म यसरी पीडित हुने ?’

‘बचतकर्ताको पैसा फिर्ता गराउने जिम्मेवारी विभागको पनि होला नि ?’ हामीले प्रश्न गर्‍यौं ।

जवाफमा उनले भने, ‘सहकारी विभागको कार्यक्षेत्रमा १२५ वटा सहकारी छन् । ३० हजारभन्दा बढी सहकारीमा बाँकी सबै सहकारी स्थानीय तह, प्रदेशको नियमनमा छन् । तैपनि हाम्रोमा निवेदन आइरहन्छ । हामीले हाम्रो कार्यक्षेत्रमा त्यो सहकारी पर्दैन भन्न मिल्दैन । हामीले सक्ने समन्वय गर्छौं, पीडितलाई पैसा फिर्ता पाउने वातावरण सिर्जना गर्छौं, नपाएको खण्डमा उजुरी लिएर सहकारी जुन, प्रदेश वा जुन निकायमा पर्ने हो त्यहाँ उजुरी पठाउने गरेका छौं ।’

विभागमा उजुरी आउनासाथ कुनै पनि सहकारीलाई समस्यामा परेको भन्न नहुने तर पटक-पटक उजुरी आउने, उजुरी आएपछि सञ्चालकलाई बोलाएर सञ्चालक र बचतकर्ता राखेर निश्चित समयमा बचत फिर्ता गराउने प्रतिबद्धता जनाउने काम विभागले गरेको उपाध्यायको भनाइ छ ।

त्यही गर्दा पनि सम्पर्कमा आएन, बचत फिर्ता गरेन, कार्यालय बन्द गरेर हिँड्यो भने थप कानुनी उपचार खोज्ने गरिएको उनले जानकारी गराए ।

सहकारी विभागमा अहिले नयाँ तथा पुराना उजुरी दैनिक बढिरहेका छन् । नयाँ उजुरी आउने, पहिला नै उजुरी दिएका र सहकारीले समयमा नै पैसा नदिएपछि विभागमा समूह नै बनाएर जाने क्रम निकै बढेको छ ।

आइतबार नै बसुन्धराको उत्तम सहकारीबाट पीडित, कालिमाटीको धनधान्य बचत तथा ऋण सहकारीबाट पीडित, कोटेश्वर प्रधान कार्यालय रहेको तथा जोरपाटी र सामाखुसीमा शाखा रहेको प्रस्परस बचत तथा ऋण सहकारीका बचतकर्ता मात्रै नभएर अन्य कैयन् बचतकर्ता कोही एकल र कोही हुल बाँधेर पुगेका छन् ।

उत्तम बचत तथा ऋण सहकारीले पैसा ठगेको भन्दै विभागमा उजुरी लिएर बालाजुका विजेन श्रेष्ठ पुगे । उनीसँग अन्य व्यक्ति पनि विभागमा पुगेका थिए । उनका अनुसार उक्त सहकारीका अध्यक्ष दुर्गाराज न्यौपाने अहिले बाउन्स चेकमा जेलमा छन् ।

बचतकर्ताको करिब ३५ करोड ठगिएको छ । आफ्नो पैसा कहिले र कहाँबाट पाउने हो उनलाई अत्तोपत्तो छैन । ६ महिना भयो, सहकारी बन्द भएको छ । सहकारीले उत्तम कम्प्लेक्स, उत्तम मार्ट, घरजग्गा, कलेज, रेष्टुरेन्टलगायतमा लगानी गरेको थियो । बसुन्धरा चोकमा रहेको उत्तम मार्ट पनि बन्द भएको छ ।

सहकारी बन्द भएपछि पैसा उठाइदिन भन्दै निवेदन लिएर उनी विभागमा पुगे । त्यो सहकारी विभागको कार्यक्षेत्रमा नपर्ने र बागमती प्रदेशमा पर्ने भएपछि उप-रजिष्ट्रार उपाध्यायले निवेदन छोड्न आग्रह गरे । ‘त्यो सहकारी हाम्रो कार्यक्षेत्रमा पर्दैन, हामीलाई निवेदन लेखेर छोड्नुहोला, हामी पत्र प्रदेश सहकारीमा पठाउँछौं, बाँकी त्यही बुझ्नुहोला,’ उनले भने, ‘त्यो सहकारी हाम्रो कार्यक्षेत्रमा पर्दैन, हामीले तपाईंहरुको उजुरी लिएर उता पठाएर तपाईंहरुलाई सहयोग गर्ने मात्रै हो ।’

बचतकर्तालाई सहकारीले सहकारीले १७-१८ प्रतिशतसम्म ब्याज दिने प्रलोभनमा पारेपछि बैंकमा राखेको पैसा समेत निकालेर सहकारीमा राखिएको पाइएको छ । पहिलो बचतकर्ता लोभमा परेर राखेको बचतको अहिले साँवासमेत फिर्ता हुने सम्भावना न्यून बन्दै गएको पीडितको भनाइ छ ।

कोटेश्वरको प्रस्परस बचत तथा ऋण सहकारीले बचतकताको बचतकर्ता नगरेपछि आइतबार विभागमा १२, १५ जनाको समूह नै पुगेको छ । विभागले यसअघि नै उक्त सहकारीका अध्यक्ष र बचतकर्तालाई राखेर बचतकर्ताको बचत फिर्ता गराउने प्रतिबद्धता जनाएर पाएको उपाध्यायको भनाइ छ । यसअघि नै अध्यक्ष स्वयं आएर सबैको पैसा फिर्ता गर्ने भने पनि अहिले पैसा फिर्ता नगरेको भन्दै बचकर्ता विभागमा आएको उनको भनाइ छ ।

विभागमा ८२७ सहकारी संस्था विरुद्ध उजुरी

सहकारी विभागमा आर्थिक वर्ष २०७९/८० को ११ महिनासम्म ८२७ वटा सहकारी संस्था विरुद्ध उजुरी परेको छ । विभागमा परेका उजुरीमा ८१२ वटाको फर्छ्यौट भइसकेको छ भने १५ वटा उजुरीको फर्छ्यौट हुन बाँकी छ । विभागमा साउनमा सबैभन्दा बढी २१९ वटा र सबैभन्दा कम माघमा ३७ वटा संस्थाविरुद्ध उजुरी परेका छन् ।

व्यक्तिगत तथा संस्थागत उजुरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट २१७, व्यक्तिगत रुपमा सोझै ५६६, प्रहरीमार्फत १३ वटा र हेल्लो सरकार/प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमार्फत ३१ वटा उजुरी परेका हुन् ।

साउनमा २१९ वटा उजुरी परेकोमा अख्तियारबाट ४३ र व्यक्तिगत रुपमा सोझै १७६ वटा उजुरी परेका छन् ।

भदौमा अख्तियारबाट १९, व्यक्तिगत रुपमा ३२ सहित ५१, असोजमा अख्तियारबाट २६, व्यक्तिगत रुपमा २८ र प्रहरीबाट १ सहित ५५, कात्तिकमा अख्तियारबाट १६, व्यक्तिगत रुपमा ३० सहित ४६, मंसिरमा अख्तियारबाट ८, व्यक्तिगत रुपमा २४ र हेल्लो सरकार मार्फत ११ सहित ४३ वटा संस्था विरुद्ध उजुरी परेका थिए ।

यस्तै पुसमा अख्तियारबाट १८, व्यक्तिगत रुपमा १६, हेल्लो सरकारबाट ५ सहित ३९ वटा, माघमा अख्तियारबाट १२, व्यक्तिगत रुपमा २३, प्रहरीबाट १ र हल्लो सरकारमार्फत १ सहित ३६ वटा, फागुनमा अख्तियारमार्फत १५, व्यक्तिगत रुपमा २७ र हेल्लो सरकारमार्फत ४ सहित ४६, चैतमा अख्तियारमार्फत ३३, व्यक्तिगत रुपमा ९५, प्रहरीमार्फत ५, हेल्लो सरकारमार्फत ३ सहित १३६, वैशाखमा अख्तियारमार्फत ११, व्यक्तिगत रुपमा २८, प्रहरीमार्फत ४ र हेल्लो सरकारमार्फत ७ सहित ५० वटा संस्थाविरुद्ध उजुरी परेको छ ।

यस्तै जेठमा अख्तियारमार्फत १६, व्यक्तिगत रुपमा ८७, प्रहरीमार्फत २ सहित १०५ वटा संस्था विरुद्ध उजुरी परेको छ । १०५ उजुरीमा ९० वटाको फर्छ्यौट भइसकेको छ भने १५ वटा बाँकी छन् । विभागमा बचत फिर्ता नभएको, संस्थागत सुशासन नभएको, अनुसन्धान प्रयोजनका लागि व्यक्तिको बचत खाता विवरणलगायतका विषयमा विभागमा उजुरी पर्ने गरेको छ ।

बचतकर्ताको धर्ना जारी

सहकारीले ठगेपछि पीडित बचतकर्ताले माइतीघरमा विरोध स्वरुप धर्ना जारी राखेका छन् । विभिन्न बचत तथा ऋण, बहुद्देश्यीय सहकारी संस्थाले ठगेको भन्दै लामो समयदेखि माइतिघरमा आन्दोलनमा छन् ।  सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समिति (नेपाल)ले विरोध तथा धर्ना कार्यक्रम आयोजना गरेको हो । उनीहरुको माग कहिले पुरा हुने भन्ने यकिन हुन सकेको छैन ।


सोभित थपलिया