अर्बपति व्यवसायी हितेश गोल्छा र विशाल अग्रवालले ३८ करोड ऋण नतिरेपछि श्रीराम सुगर मिलको सम्पत्ति लिलामीमा



काठमाडौं । नेपालका दुई ठूला व्यापारिक घराना गोल्छा अर्गनाइजेसन र विशाल ग्रुपका सञ्चालकसमेत रहेका हितेश गोल्छा र विशाल अग्रवाल सञ्चालक रहेको श्रीराम सुगर मिल्सले ३८ करोड ऋण नतिरेपछि बैंकले लिलामी प्रक्रिया अघि बढाएको छ । नेपाल बैंकले आज एक सूचता प्रकाशित गर्दै गोल्छा र अग्रवाल सञ्चालक रहेको श्रीराम सुगर मिलको सम्पत्ति लिलामी प्रक्रिया अघि बढाएको हो ।

सुगर मिल्स लिमिटेडसँग सम्बन्धित मिलमेसिनरी बोलकबोल लिलाम बिक्री गरिने बारे सहवित्तीयकरण बैंकका तर्फबाट नेपाल बैंकको कर्जा असुली विभागले सूचना प्रकाशित गरेको हो । सूचनाअनुसार गरुडा नगरपालिका वडा नम्बर ६ मा रहेको श्रीराम सुगर मिल्स लिमिटेड ३८ करोड रुपैयाँबराबरको मिलमेसिनरी लिलाम हुन लागेको हो ।

नेपाल बैंकले प्रकाशित गरेको ३५ दिने सूचनाअनुसार नेपाल बैंकसँगै राष्ट्रिय वाणिज्य बैंक, कर्मचारी सञ्चाय कोष, हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक (हाल नेपाल इन्भेष्टमेन्ट मेगा बैंक) समेतबाट विभिन्न शीर्षकमा उक्त सुगर मिलले कर्जा लिएको थियो । तर, कर्जाको रकम लेनदेनसम्बन्धी लिखतमा लेखिएअनुसार भाखाभित्र बुझाउनुपर्ने साँवा र त्यसमा लाग्ने ब्याज तथा हर्जनासमेत उक्त मिलले बुझाएको छैन ।

मिलले बैंकलाई तिर्नुपर्ने कर्जा तिर्ने विषयमा सर्त बन्देज पालना नगरेको र कर्जा लिखतको सर्त बन्देज उल्लंघन गरेकाले यी बैंक तथा वित्तीय संस्थाले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ ले दिएको अधिकार प्रयोग गर्दै मिलको नाममा रहेका मिलमेसिनरी जे-जस्तो अवस्थामा छ, सोही अवस्थामा सहवित्तीयकरण आफैंले लिलाम बिक्री गर्न लागिएको हो ।

सूचनाअनुसार ३६औं दिन अर्थात् साउन ४ गते वा त्यसदिन बिदा परेमा त्यसपछि कार्यालय खुलेको दिन लिलाम डाक बढाबढ गरिलिन चाहनेले आफूले सकार गरेको मूल्यमा बोलकबोल गर्न पाउनेछ । नेपाल बैंंकका अनुसार श्रीराम सुगर मिलको ३८ करोड ११ हजार ७५५ रुपैयाँ ८६ पैसाबराबरको उद्योग परिसरमा रहेका सम्पूर्ण मिलमेसिनरी लिलाम हुनेछ ।

पब्लिक कम्पनीका रुपमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा समेत सूचीकृत रहेको श्रीराम सुगर मिल तीन दशकअघि खुलेको उद्योग हो ।

उक्त उद्योग २०७७ मा लामो समयदेखि निरन्तर घाटामा गएको भन्दै सधैंका लागि बन्द गरिएको भन्ने सूचना उद्योगका सञ्चालक समितिले निकाल्दै उद्योग बन्द गरेको थियो । त्यसपश्चात मिलका सञ्चालकहरुविरुद्ध पक्राउ पुर्जी जारी हुनेदेखि उखु किसानले आफूले पाउनुपर्ने रकम नपाएको भन्दै आन्दोलन पनि गरेका थिए । कम्पनीमा नेपाली सर्वसाधारण, सरकारी संस्थान तथा विदेशी कम्पनीले पनि सेयरमा लगानी गरेका छन् ।


क्लिकमान्डु