सगरमाथाको ‘डेथ जोन’मा काँपिरहेका मलेसियन आरोहीलाई नेपाली शेर्पाले गरे ‘दुलर्भ’ उद्धार



काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको ‘डेथ जोन’ भनिने जोखिमपूर्ण क्षेत्रबाट एक मलेसियन पर्वतारोहीलाई नेपाली शेर्पाले उद्धार गरेका छन् ।

३० वर्षीय गेल्जेले निकै दुलर्भ मानिने उच्च उचाई क्षेत्रबाट मलेसियाका एक पर्वतारोहीलाई उद्धार गरेका हुन् । चिनियाँ पर्वतारोहीहरुको टोलीलाई लिएर गत मे १८ मा सगरमाथाको शिखरतर्फ गइरहेका गेल्जे शेर्पाले ‘डेथ जोन’ भनिने क्षेत्रमा गम्भीर अवस्थामा अलपत्र रहेका मलेसियाका पर्वतारोहीको उद्धार गरेका हुन् ।

‘हामीले उनलाई स्लिपिङ म्याटमा बेरेर हिउँमा घिसार्दै र बोकेर क्याप थ्रीसम्म ल्याएका थियौं, ’ गेल्जेले रोयटर्ससँगको कुराकानीमा भनेका छन् । क्याप्थ थ्रीबाट उनलाई हेलिकम्टरमार्फत बेसक्याप लगिएको र त्यहाँबाट काठमाडौं ल्याएर उनको उद्धार गरिएको थियो । उनी गत साता आफ्नो देश फर्किएका छन् ।

‘डेथ जोन’ भनिने अत्याधिक चिसो क्षेत्रबाट गेल्जेले ती मलेसियन पर्वतारोहीको उद्धार गरेका थिए । उक्त ठाउँको तापक्रम माइनस ३० डिग्री सेल्सियसम्म हुने गरेको छ । गेल्जेले उनलाई सोही ठाउँमा चिसोमा काँपिरहेको अवस्थामा फेला पारेपछि उद्धार गरेको बताएका छन् । गेल्जले ती पर्वतारोहीलाई बाल्कोनी क्षेत्रबाट साउन कोल एरिया (६ सय मिटर) ६ घण्टामा ल्याएका थिए । त्यहाँबाट अर्का शेर्पा निमा ताही शेर्पाले पनि उद्धारमा सहायता गरेका थिए ।

गेल्जेले भनेका छन्, ‘कसैको जीवन बचाउनु गुम्बामा प्राथना गर्नुभन्दा बढी महत्वपूर्ण हुन्छ ।’

उक्त ठाउँबाट पर्वतारोहीहरुको उद्धार गरिनु निकै कठिन काम हो । नेपालको पर्यटन विभागका अधिकारीहरुकाअनुसार त्यहाँबाट कसैको उद्धार भएको छ भने त्यो कुनै दुलर्भ काममा पर्छ ।

पर्यटन विभागका अनुसार यो यामको जारी आरोहणमा हालसम्म छ सय बढीले सगरमाथाको आरोहण गरेका छन् । यस वर्षको वसन्त ऋतुको आरोहण गत वैशाख ३० गतेबाट सुरु भएको थियो । यो यामको सगरमाथा आरोहण गर्न इतिहासकै सर्वाधिक बढी आरोहीले अनुमति लिएका छन् । विभागको पर्वतारोहण शाखाको विवरणमा ४७ आरोही समूहका एक सय तीन महिला र तीन सय ७६ पुरुष गरी कुल ४७८ आरोहीले आरोहण अनुमति लिएका हुन् ।

सोलुखुम्बुकी स्व पासाङल्हामु शेर्पाले विसं २०५० वैशाख १० गते सगरमाथाको आरोहण गरी सगरमाथा चढ्ने प्रथम नेपाली महिला आरोहीको कीर्तिमान कायम गरेकी थिइन् । जापानी नागरिक स्व जुन्को तावेई विश्वकै पहिलो महिला सगरमाथा आरोही मानिन्छन् ।

सरकारले आरोहणका लागि हालसम्म चार सय १४ वटा हिमाल खुला गरेको छ । विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये नेपालमा आठ छन् ।


क्लिकमान्डु