११ वर्षदेखि जारी वाग्मती सफाइ महाअभियान औपचारिकतामा सीमित



काठमाडौं । ‘राष्ट्रका लागि हप्तामा दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको वाग्मती सफाइ महाअभियान आजदेखि दशौँ वर्ष पूरा गरी ११औँ वर्षमा प्रवेश गरेको छ ।

२०७० जेठ ५ गते राजधानी काठमाडौँको सभ्यताको स्रोत वाग्मतीलाई स्नान गर्न योग्य बनाउने उद्देश्यका साथ सफाइ महाअभियान सुरु भएको थियो ।

पहिलो चरणमा पशुपति क्षेत्रसम्मको नदी सफा गर्ने लक्ष्य राखिएको थियो । ५०औँ हप्ताको कार्यक्रममा तत्कालीन राष्ट्रपति डा. रामवरण यादवलगायतका विशिष्ट व्यक्तित्वले गौरीघाटमा मुख धोएका थिए ।

सफाइ महाअभियानको नेतृत्व तत्कालीन मुख्यसचिव लीलामणि पौडेलले गरेका थिए । हालसम्म पनि उनको नेतृत्व जारी छ ।

त्यसबेलादेखि प्रत्येक हप्ता शनिबार बिहान गर्मीमा ७ बजेदेखि ९ बजेसम्म र जाडोमा ७:३० देखि ९:३० बजेसम्म वाग्मती नदीका विभिन्न स्थानको किनारमा सफाइ हुने गरेको छ । महाअभियान अहिले ५२३औँ हप्तामा चलिरहेको छ ।

वाग्मतीबाट हालसम्म २० हजार मेट्रिक टनभन्दा बढी फोहर व्यवस्थापन भएको छ । महाअभियानमा १५ लाखभन्दा बढीले नदीमै गएर फोहर उठाएका छन् ।

सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सरकारी एवं सामुदायिक संस्थाले पनि योगदान गरेका छन् । धेरै मानिसले महाअभियानलाई सहयोग गरे पनि उद्देश्यअनुसार उपलब्धि हुन नसकेको गुनासो सुनिने गरेको छ ।

महाअभियान ११औँ वर्ष प्रवेश गरेकै बेला देशभरका ७५३ स्थानीय तहमा दोस्रो निर्वाचन सकिएको पनि एक वर्ष पूरा भएको छ । महाअभियानका अभियानकर्मी चक्रबहादुर चन्द फोहोर व्यवस्थापनमा स्थानीय सरकारको साथ अत्यावश्यक पर्ने बताउँछन् ।

महाअभियानबाट प्रभावित भएर काठमाडौँ उपत्यकामा वाग्मतीका सहायक नदी, वाग्मतीकै पनि विभिन्न स्थानमा सफाइ अभियान चलिरहेको छ ।

काठमाडौँ उपत्यकाका हाल गुह्येश्वरीमाथिको वाग्मती, तिलगङ्गा, आलोकनगर, सुन्दरीघाट, मैतीदेवी, रुद्रमती, विष्णुमतीको माथिल्लो र तल्लो भाग, चक्रपथका उत्तरी र पश्चिमी भाग, मनोहरा, ललितपुरको गोदावरी खोला, भक्तपुरको हनुमन्तेलगायत सांस्कृतिक सम्पदा गरी २५ स्थानमा सफाइ भइरहेको छ ।

काठमाडौँ उपत्यकाबाहिरका प्रमुख सहर, नदी र सांस्कृतिक सम्पदामा पनि सफाइ अभियान चलेको छ । काठमाडौँ उपत्यका बाहिर करिब १०९ भन्दा बढी स्थानमा सफाइ भइरहेको महाअभियानले जनाएको छ ।

महाअभियानले देशव्यापी रुपमा सफाइ जागरण फैल्याउन सफल भएको छ । अभियानको सफलताका लागि स्थानीय सरकारले साथ दिनुपर्ने अभियानकर्मीको माग छ । वाग्मती सफाइ महाअभियानबाट प्रभावित भएर देशभर चलिरहेको सफाइ अभियानले स्थानीय सरकारकै काममा सहयोग गरिरहेको छ ।

(रासस)


क्लिकमान्डु