निर्जीवन बिमा व्यवसायः मर्जरपछि एकीकृत कारोबार गरेका कम्पनीले ओगटे ३६% बजार



काठमाडौं । मर्जर प्रक्रिया टुङ्ग्याई एकीकृत कारोबार सुरु गरेका निर्जीवन बिमा कम्पनीले व्यवसायको ३६ प्रतिशत बजार ओगटेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार मर्जरपश्चात एकीकृत कारोबार गरेका ४ निर्जीवन बिमा कम्पनीले ३५.९३ प्रतिशत बजार हिस्सा ओगटेका हुन् ।

मर्जरपश्चात बनेका नयाँ कम्पनी सगरमाथा लुम्बिनी, सिद्धार्थ प्रिमियर, हिमालयन एभरेष्ट र सानिमा जिआईसीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्ममा कुल १० अर्ब ७८ करोड रुपैयाँ बिमाशुल्क संकलन गरेका हुन् ।

४ कम्पनीहरुले व्यवसायको ३५.९३ प्रतिशत बजार कब्जा गर्दा बाँकी रहेका १२ वटा कम्पनीले ६४.०७ प्रतिशत बजार ओगटेको प्राधिकरणले जनाएको छ ।

मर्जर प्रक्रिया टुङ्ग्याई एकीकृत कारोबार थालनी गरेका ४ कम्पनीमध्ये सगरमाथा लुम्बिनीले ३ अर्ब ४८ करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ । जुन कुल निर्जीवन बिमा व्यवसायको ११.६० प्रतिशत हुन आउँछ । यस अवधिमा कम्पनीले २ लाख ६५ हजार ५५८ वटा कुल बिमालेख जारी गरेको छ ।

यस्तै, सिद्धार्थ प्रिमियरले कुल व्यवसायको ११.१७ प्रतिशत बजार हिस्सा ओगटेको छ । कम्पनीले यस अवधिमा २ लाख ६९ हजार ८८८ वटा बिमालेख जारी गरी ३ अर्ब ३५ करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको हो ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सले व्यवसायको ७.६५ प्रतिशत र सानिमा जिआइसीले ५.५१ प्रतिशत हिस्सा ओगटेका छन् । प्राधिकरणका अनुसार यस अवधिमा हिमालयन एभरेष्ट इन्स्योेरेन्सले २ अर्ब २९ करोड रुपैयाँ र सानिमा जिआइसीले १ अर्ब ६५ करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गरेका छन् ।

नेपाल बीमा प्राधिकरणले पुँजी वृद्धिको नीति लिएपछि बिमा बजारमा हालसम्म १२ निर्जीवन बिमा कम्पनी ६ वटामा कायम हुने गरी मर्जर प्रक्रियामा सहभागी भएका छन्  । मर्जर प्रक्रियामा सामेल भएका १२ मध्ये आठ निर्जीवन बिमा कम्पनी चार वटामा कायम भएर एकीकृत कारोबार थालनी गरेका छन् । चार कम्पनी मर्जर प्रक्रियामा छन् ।

हिमालयन एभरेष्ट (हिमालयन र एभरेष्ट इन्स्योरेन्स) र सानिमा जीआईसी (सानिमा जनरल र जनरल इन्स्योरेन्स), सगरमाथा लुम्बिनी (सगरमाथा र लुम्बिनी जनरल) र सिद्धार्थ प्रिमियर(सिद्धार्थ र प्रिमियर) ले एकीकृत कारोबार समेत शुरु गरिसकेका छन् ।

सिद्धार्थ र प्रिमियरले फागुन १७ गतेदेखि एकीकृत कारोबार शुरुवात गरेका हुन् । यस्तै, सगरमाथा र लुम्बिनी जनरलले फागुन २९ गतेदेखि एकीकृत कारोबार शुरु गरेका हुन् । सानिमा जनरल र जनरल इन्स्योरेन्सले कात्तिक ६ गतेदेखि एकीकृत कारोबार थालेका हुन् ।

यस्तै, हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सले भने साउन १ गतेदेखि एकीकृत कारोबार थालेको थियो ।

प्राधिकरणले पुँजी वृद्धिको नीति ल्याउनुअघि बीमा बजारमा २० वटा कम्पनीले निर्जीवन बिमा व्यवसाय गर्दै आएका थिए । पुँजी वृद्धिको नीतिलिएपछि हाल उक्त संख्या घटेर १६ वटामा कायम भएको छ । प्रक्रियामा रहेका सबै कम्पनीको मर्जर सफल भए बजारमा निर्जीवन बिमा कम्पनीको संख्या १४ वटामा सीमित हुनेछ ।

कम्पनीहरुले चालू आर्थिक वर्षको चैतसम्ममा ३० अर्ब १ करोड ४८ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेका हुुन् । कम्पनीहरुले यस अवधिमा २१ लाख ६६ हजार ३२८ वटा कुल बिमालेख जारी गरी कुल रकम संकलन गरेका हुन् । यस अवधिमा १६ कम्पनीमध्ये शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै ४ अर्ब १५ करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ । यस्तै, दोस्रोमा सगरमाथा लुम्बिनी र तेस्रोमा सिद्धार्थ प्रिमियर परेका छन् ।

प्राधिकरणका अनुसार नेपाल इन्स्योरेन्स, ओरियन्टल, राष्ट्रिय बीमा कम्पनी, प्रभु, आइएमई जनरल, प्रुडेन्सियल, अजोड, एनएलजी र सानिमा जिआइसीले १ अर्ब रुपैयाँभन्दा बढी बिमाशुल्क संकलन गरेका छन् । भने नेशनल र यूनाइटेडको व्यवसाय भने अर्ब भन्दा कम रहेको प्राधिकरणले जनाएको छ ।

कम्पनीहरुले सम्पत्ति, सामून्द्रिक, हवाई, मोटर, इन्जिनियरिङ् तथा सम्पूर्ण ठेग्गा जोखिम, कृषि तथा बाली बिमा, लघुबीमा र विविध बिमालेख बिक्री गर्दै आएका छन् ।


क्लिकमान्डु