नयाँ स्टक खोल्न हिमालयनको आवेदन, मौरिसस स्टकसँग पहिल्यै भएको थियो प्राविधिक सहायता सम्झौता



काठमाडौं । नयाँ स्टक एक्सचेन्जका लागि धितोपत्र बोर्डमा हिमालयन स्टक एक्सचेन्ज नामक कम्पनीले आवेदन दिएको छ । सर्वोच्च अदालतले रिट खारेज गरेसँगै बोर्डले प्रक्रिया अघि बढाएपछि कम्पनीले शुक्रबार नयाँ स्टकका लागि आवेदन दिएको हो।

हिमालयन स्टकले यसअघि नै मौरिसस स्टकसँग प्राविधिक सहायताका लागि सम्झौता गरिसकेको छ । बोर्डले जारी गरेको नियमावलीमा विदेशी स्टक एक्सचेन्जबाट प्राविधिक सहायता लिएमा बढी अंक दिने व्यवस्था छ ।

धितोपत्र बजार सञ्चालन नियमावलीको नियम (४) को (झ) मा धितोपत्र बजार संचालनका लागि कुनै पूर्वाधार तयार गरिसकेको भए तत्सम्बन्धी विवरण अनुमतिका लागि निवेदन दिनुपर्ने भन्ने व्यवस्था छ ।

यस्तै धितोपत्र बजार सञ्चालनका लागि संगठित संस्था स्थापना गर्न बोर्डबाट सिफारिस प्रदान गर्ने सम्बन्धी निर्देशिका–२०७९ को अनुसूची मा जाँचबुझ तथा मूल्याङकनका आधारहरुमा कारोबार प्रणाली तथा प्राविधिक सम्बन्धी व्यवस्था गर्दा २४ अंकले दिने व्यवस्था छ ।

उक्त कार्यविधिमा प्रस्तावित कारोवार प्रणाली तथा प्रविधि नेपाल बाहेक अन्य मुलुकका कम्तीमा तीन वटा धितोपत्र बजार संचालनको लागि प्रयोग भएको भएमा १४ अंक दिने व्यवस्था छ ।

जसले गर्दा हिमालयन स्टक एक्सचेञ्जले प्रतिस्पर्धामा अब्बल हुन मौरिसस स्टकसँग सम्झौता गरेको हो । यस्तै कार्यविधिमा प्रस्तावित कारोवार प्रणाली तथा प्रविधि नेपाल बाहेक अन्य मुलुकका चारदेखि सात वटा धितोपत्र बजार संचालनको लागि प्रयोग भएको भएमा थप ५ अंक दिने र प्रस्तावित कारोवार प्रणाली तथा प्रविधि नेपाल बाहेक अन्य मुलुकका ७ वटा भन्दा बढी धितोपत्र बजार संचालनको लागि प्रयोग भएको भएमा पुरै २४ अंक पाउने व्यवस्था छ ।

मौरिसस स्टकमा प्रयोग भइरहेको कारोबार प्रणाली ७ भन्दा बढी देशमा प्रयोग भइरहेकाले २४ अंकले नै लिन हिमालयनले सम्झौता गरेको हो ।

धितोपत्र बोर्डले एउटा नयाँ स्टक र २ वटा वस्तु विनियम बजारका लागि आवेदन माग गरेको थियो । अहिलेसम्म स्टकका लागि एउटा कम्पनीले मात्रै आवेदन दिएको छ भने वस्तु विनिमय बजारका लागि आवेदन परेको छैन ।

स्टक र वस्तु विनिमय बजारका लागि आवेदन दिने समय आइतबारसम्म छ । हिमालयन रि–इन्स्योरेन्समा मुख्य लगानीकर्ता रहेका नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छा,  पूर्वअध्यक्ष पशुपति मुरारका, व्यवसायी दीपक भट्टलगायतका व्यक्तिको लगानी छ ।

सर्वोच्च अदालतले स्टक खोल्न बाटो खुला गरेपछि बोर्डले पुनः आवेदन माग गरेको थियो । सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशले रोकिएको स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्सका लागि बोर्डले चैत ३० गते १० दिनको समय राखेर पुनः आवेदन माग गरेको हो ।

असोज २ गते प्रकाशित सूचनाअनुसार आवेदनको समय ४५ दिन तोकिएकोमा सर्वोच्चको आदेशले १० दिनअगावै आवेदन प्रक्रिया रोक्नुपरेकाले त्यति नै समयका लागि आवेदन खुला गरिएको बोर्डले जनाएको छ ।

असोज २ गते धितोपत्र बोर्डले नयाँ ब्रोकर, नयाँ स्टक र वस्तु विनियम बजारलाई लाइसेन्स दिन आवेदन माग गरेको थियो । असोज ३१ गते अधिवक्ता दिपकविक्रम मिश्रले तत्काल नयाँ ब्रोकर, नयाँ स्टक र वस्तु विनियम बजारलाई लाइसेन्स दिने प्रक्रिया रोक्न माग गर्दै रिट दायर गरेका थिए ।


क्लिकमान्डु