सिन्धुपाल्चोकको जुगलमा बन्न लागेका दुई जलविद्युत आयोजनाका लागि वित्तीय स्रोत जुट्यो



काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर २ र ३ मा बन्न लागेका ब्रह्मायणी (३५.४७ मेगावाट) र अप्पर ब्रह्मायणी (१५.१५ मेगावाट) जलविद्युत आयोजनाका लागि वित्तीय स्रोत जुटेको छ ।

इन्टिग्रेटेड हाइड्रो फन्ड नेपालले निर्माण गर्ने दुवै आयोजनामा सानिमा, सिद्धार्थ, कुमारी, लक्ष्मी, प्रभु बैंक र मञ्जुश्री फाइनान्सले ऋण लगानी गर्ने भएका हुन् । ती बैंक तथा वित्तीय संस्था र इन्टिग्रेटेड हाइड्रो फन्ड नेपालबीच लगानी सम्झौतासम्बन्धी सहमति-पत्रमा हस्ताक्षर भएको छ ।

ललितपुरको हिमालय होटलमा आयोजित कार्यक्रममा कम्पनीका अध्यक्ष भरतप्रसाद पराजुली र ती बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिले सम्झौतासम्बन्धी सहमति-पत्रमा हस्ताक्षर गरेका हुन् ।

ब्रह्मायणी आयोजनामा सानिमाले २४.७८, सिद्धार्थले १८.५८, कुमारीले १५.०४, लक्ष्मीले १४.१६, प्रभुले १०.६२ र मञ्जुश्री फाइनान्सले ३.५४ प्रतिशत ऋण लगानी गर्न लागेका हुन् । यो आयोजनामा हाडड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल)ले ८.८५ प्रतिशत लगानी गर्नेछ ।

त्यस्तै, अप्पर ब्रह्मायणी आयोजनामा सानिमाले २४.७०, सिद्धार्थले २९.२९, कुमारीले १२.५५, लक्ष्मीले १२.५५ प्रभुले ८.३७ र मञ्जुश्री फाइनान्सले १.१८ प्रतिशत ऋण लगानी गर्नेछन् ।

बैंक तथा वित्तीय संस्था र प्रवर्धकको सहित ब्रह्मायणीमा ७ अर्ब ३४ करोड र अपर ब्रह्मायणीमा ३ अर्ब १२ करोड रुपैयाँ लगानी हुनेछ ।

दुबै आयोजनामा बैंक तथा वित्तीय संस्थाले ७५ प्रतिशत र सेयरधनी प्रवर्धकले २५ प्रतिशत लगानी गर्नेछन् । आयोजनाबाट विद्युत उत्पादन भएपछि स्थानीय तथा सर्वसाधारणका लागि सेयर जारी गरिने इन्टिग्रेटेड हाइड्रो फन्डका अध्यक्ष भरतप्रसाद पराजुलीले जानकारी दिए ।

हाल आयोजनास्थल पुग्ने पहुँचमार्ग निर्माणको काम भइरहेको छ । अध्यक्ष पराजुलीले २०८२ कात्तिक मसान्तसम्म आयोजना सम्पन्न हुने लक्ष्य राखिएको जानकारी दिए । दुबै आयोजनाबाट उत्पादित विद्युत जुगल गाउँपालिकामा निर्माणाधीन पाङताङ सब-स्टेसनमा जोडिनेछ ।

दुवै आयोजना निर्माणपछि सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका अतिविकट क्षेत्रका रुपमा परिचित तेम्बाथान, तेगा, दीपु, साङलिङलगायत ठाउँका स्थानीयको जीवनस्तरमा सुधार आउने अपेक्षा रहेको लगानी सम्झौता कार्यक्रममा अध्यक्ष पराजुलीले जानकारी दिए ।


क्लिकमान्डु