‘इम्प्लोयर्स मिट’ मा कामदारको तथ्यांक संकलन



विराटनगर । नेपाली उद्योग प्रतिष्ठानहरुलाई आवश्यक पर्ने दक्ष कामदारको वास्तविक जानकारीका लागि तथ्यांक संकलन सुरु गरिएको छ ।

स्वदेशी श्रम बजारमा आवश्यक पर्ने दक्ष श्रमशक्तिलाई सीपमा आधारित तामिल संचालन गर्ने उद्देश्य अनुसार उनीहरुको जानकारी संकलन गरिएको हो ।

अन्तर्राष्ट्रिय श्रम संगठनसँगको सहकार्यमा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को आयोजनामा आयोजित ‘इम्प्लोयर्स मिट’ आयोजना गरिएको हो । जहाँ उद्योग प्रतिष्ठानको व्यवस्थापन, प्रशासन र श्रमशक्ति परिचालनमा संलग्न रहेका उच्च तहका कर्मचारी तथा व्यवस्थापकहरुको सहभागी रहेको थियो ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का कार्यसमिति सदस्य सुवास आचार्यले उद्योग प्रतिष्ठानको आवश्यकता अनुसारको दक्ष जनशक्तिको उत्पादन एवं आपूर्ति गरी रोजगारी सिर्जनाको बाटो तयार गर्न कार्यक्रम प्रभावकारी रहेको जानकारी दिए ।

महासंघले कार्यस्थलमा आधारित सीप विकास तालिमहरु संचालनका लागि उद्योग प्रतिष्ठानको अवस्था पहिचान गर्न यस्तो कार्यक्रम गरिएको उनले बताए ।

‘यहाँहरुको उद्योग प्रतिष्ठानको अनुभवबारे जानकारी संकलन गर्न कार्यक्रमको आयोजना गरिएको हो, देश विकासमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको सन्दर्भमा उद्योगले मात्रै मुलुकमा रोजगारी सिर्जना गरिरहेका छन्’ उनले भने, ‘एकातिर बैंक तथा वित्तीय संस्थाको असहयोग रहँदै आएको, अर्कातिर दक्ष कामदारको अभावले गर्दा उद्योग प्रतिष्ठानहरु पूर्णरुपमा संचालन हुन नसकेको बेलामा श्रमशक्तिको विकासमा हामी प्रयत्नशील रहेका छौं ।’

उनले दक्ष श्रमशक्ति निर्माणमा नेपाल उद्योग वाणिज्य महासंघले समेत उद्योग प्रतिष्ठानसँग मिलेर माग र आपूर्तिको सम्बन्धलाई व्यवस्थापन गरिरहेको जानकारी दिए । साथै श्रमशक्तिको विकासमा आवश्यक पर्ने विभिन्न प्रकारका तालिमहरु पनि संचालन गरिरहेको बताऐ ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका सीप विकास परियोजनाका सह–निर्देशक एवं परियोजना संयोजक अजितकुमार गुप्ताले कार्यस्थलमा उपलब्ध रहेको सीपलाई अधिकतम् प्रयोग गरी नेपाली उद्योग व्यवसायको विकास गर्न सकिने बताए ।

उनले नेपालमा कुल जनसंख्याको काम गर्नसक्ने जनसंख्या करीब ७१ प्रतिशत रहेको जानकारी दिंदै वर्षेनी पाँच लाख युवा जनशक्ति श्रम बजारमा भित्रिने बताए । श्रम बजारमा प्रवेश गर्ने युवा जनशक्तिको ७० प्रतिशत संख्या भने बैदेशिक रोजगारीका लागि जाने बताए ।

कार्यक्रम संयोजक गुप्ताले नेपाली उद्योग प्रतिष्ठानमा तालिमप्राप्त जनशक्ति नहुँदा भारत र बंगलादेशबाट श्रम बजारको पूर्ति गर्नुपरिरहेको अवस्थामा कार्यक्रम अन्तरगत उद्योग प्रतिष्ठानहरुलाई नेपाली श्रमिक तथा कामदारहरुको दक्षता अभिबृद्धिका लागि सहजीकरण गर्न आग्रह गरे । कार्यक्रमले दक्ष जनशक्तिको आवश्यकताबारे तथ्यांकहरु अद्यावधिक भई सूचना प्रणाली व्यवस्थित हुने उनले विश्वास व्यक्त गरे ।

सोही अवसरमा कार्यस्थलमा आधारित सीपसम्बन्धी विज्ञ खेमराज काफ्लेले रोजगारीका लागि कार्यस्थलमा आधारित सीप विकास तालिम संचालनका लागि आवश्यकता पहिचान गर्ने अभिप्रायले उद्योग प्रतिष्ठानहरुका प्रतिनिधिसँग प्रश्नावलीका माध्यमबाट विवरण संकलनमा सहजीकरण गरेका थिए ।


क्लिकमान्डु