१० दिनमा २१९ अंकले बढ्यो सेयर बजार, अब के होला ?



काठमाडौं । विष्णुप्रसाद पौडेल अर्थमन्त्री भएपछिको १० दिनमा सेयर बजार मापक नेप्से परिसूचक २१९.८५ अंकले बढेको छ ।

पहिलादेखि नै सेयरबजार मैत्री भनेर चिनिएका पौडेलले अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेका दिन १९२४.०९ बिन्दुमा रहेको नेप्से परिसूचक बिहीबार २१९.८५ अंकले बढेर २१४३.९४ बिन्दुमा पुगेको छ ।

पछिल्लो १० दिनमा आर्थिक सूचकांकमा खासै उल्लेख परिवर्तन भएको छैन । तर करिब साढे ३ महिनायता लगातार घटेर १८३१ बिन्दुभन्दा तल पुगेको बजार पौडेल अर्थमन्त्री भएसँगै तिव्र गतिमा बढिरहेको छ ।

‘सेयर बजारले विष्णु पौडेललाई पहिलादेखि नै रुचाएको हो’ नेपाल इन्भेष्टर फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियारले भने, ‘पौडेल अर्थमन्त्री हुने भएपछि पहिला नै बजारमा सुधारको संकेत देखिएको थियो । सरकारले पहिलो निर्णय नै वित्त र मौद्रिक नीतिको तालमेल मिलाएर अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्ने निर्णय गरेको प्रभाव पनि सेयर बजारमा देखिएको हो ।’

पौडेल मन्त्री भएकै दिन नेप्से परिसूचक ५९.८७ अंकले बढेको थियो । त्यसयता बजार लगातार बढिरहेको छ । पौडेल पहिलोपटक अर्थमन्त्री बन्दा २०७३ साउनमा नेप्से परिसूचकले नयाँ उचाइ कायम गरेको थियो । त्यसबखत करिब १२ सय अंकमा रहेको बजार पौडेल मन्त्री भएपछि १८८१ बिन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको थियो ।

पौडेल दोस्रोपटक मन्त्री हुँदा पनि सेयर बजारले नयाँ रेकर्ड बनाएको थियो । पौडेलले २०७७ सालमा अर्थमन्त्री हुँदा ब्रोकर कमिसन घटाएर लगानीकर्ताको वाहवाही पाएका थिए । पहिलो पटक मन्त्री बन्दा समेत पौडेलले २०७३ साउन ५ गते ब्रोकर कमिशन घटाउन अर्थ मन्त्रालय मार्फत धितोपत्र बोर्डलाई निर्देशन दिएका थिए । त्यसलगत्तै बोर्डले ब्रोकर कमिशन घटाएको थियो ।

त्यस बखत ब्रोकर कमिशन घटेको एक सातामै नेप्से परिसूचक १८८१.४५ बिन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको थियो । २०७७ पुसमा पनि मन्त्री पौडेलले ब्रोकर कमिशन करिब ३३ प्रतिशतले घटाएका थिए ।

सेयर बजारको विषयमा कुनै अभिव्यक्ति नदिने मन्त्री पौडेलले ब्रोकर कमिशन घटाउँदा लगानीकर्ता खुसी भएका थिए ।

अहिले पनि पौडेलसँग बजारले धेरै अपेक्षा गरेको रौनियारको भनाइ छ । ‘सेयर बजार नेतृत्वले लिने नीतिका कारण पनि तलमाथि हुनेगर्छ’ उनले भने ‘पौडेललाई बजारले पहिला पनि स्वागत गरेको थियो । अब पनि राम्रो स्वागत गर्ने देखिएको छ । सरकारले बजार मैत्री नीति लिने हो भने बजारले आफ्नो गति लिन्छ ।’

पुँजीगत लाभकर साढे ७ प्रतिशतबाट घटाएर ५ प्रतिशत र एक व्यक्तिले १२ करोडभन्दा बढी सेयर कर्जा लिन नपाइने नीति हटायो भने सेयरबजारले गति लिने रौनियारको दाबी छ ।

बजार बढ्न थालेपछि राम्रोसँग ब्याज तिर्ने ऋणीलाई बैंकहरुले फोन गरेर कर्जा दिन थालेको उनी बताउँछन् ।

‘समयमा सावा ब्याज भुक्तानी गर्नेलाई बजारमा लगानी गर्न पैसाको अभाव छैन’ रौनियारले भने ‘केही दिन यता बैंकहरुले फोन गरेर नै कर्जा लिन बोलाउन थालेका छन् ।’

लगानीकर्ताले मन्त्री पौडेललाई भेटेर सेयरबजारका समस्याहरु सुनाउँदा गम्भीरतापूर्वक सुनेकाले पनि लगानीकर्ताको मनोबल बढेको केही लगानीकर्ता बताउँछन् ।

पछिल्लो समय लगातार बजार बढ्दै गएकाले केही ठूला लगानीकर्ता बजार बढाएर बाहिरिन लागेका हुन् कि भन्नेसमेत चर्चा चल्न थालेको छ ।

बिहीबारमात्रै २५९ कम्पनीको १ करोड २५ लाख ८१ हजार ९२८ कित्ता सेयर ५ अर्ब ४ करोड ७ लाख ४० हजार ९३७ रुपैयाँको सेयर किनबेच भएको छ । एकै दिन यति ठूलो रकमको कारोबार हुनु सकारात्मक भएपनि बजारबाट ठूला लगानीकर्ता बाहिरियो भने अहिले देखिएको वृद्धि दिगो नहुने केही सेयर ब्रोकरहरु बताउँछन् ।


क्लिकमान्डु