के पाकिस्तान कर्जा तिर्न नसकेर ‘डिफल्ट’ हुने अवस्थामा पुगेको हो ?



एजेन्सी । पाकिस्तानमा पछिल्लो आठ महिना यता देखिएको राजनीतिक अस्थिरता र यो वर्ष आएको बाढीका कारण देशको अर्थतन्त्रमा धेरै असर परेको छ ।

पाकिस्तानको अनिश्चितताका कारण देशको पुँजी लगानी मात्रै प्रभावित नभएर आर्थिक घाटा पनि बढ्ने र पाकिस्तानी रुपैयाँको तुलनामा अमेरिकी डलरको वृद्धिले आकार छोइरहेको छ । पाकिस्तानी मुद्रा डलरको तुलनामा अहिले निकै कमजोर अवस्थामा छ ।

यो बाहेक आयातमा भएको वृद्धिका कारण डलरको भागमा उच्च वृद्धि आएको छ भने अर्कातिर पाकिस्तानबाट हुने निर्यातमा निकै कमी आएको छ ।

डलरको भाउमा भएको वृद्धिका कारण वाणिज्य र आर्थिक घाटा बढिरहेको छ भने अर्कातिर देशको मुद्रा बिनिमय कोषमा पनि निकै कमी आएको छ ।

आर्थिक विशेषज्ञहरुका अनुसार व्यापारिक घाटामा भइरहेको वृद्धि देशको अर्थव्यवस्थाका लागि खतरनाक संकेत हो । किनकी व्यापारिक घाटाले देशको चालु खातालाई बढाएर बिनिमय दरमाथि नकरात्मक असर पार्ने गर्छ ।

पाकिस्तानले यति बेला कुनै पनि स्रोतबाट उलेख्य रुपमा आर्थिक सहयोग वा ऋण पाइरहेको छैन, जसकारण विदेशी मुद्रा कोषमा भारी मात्रामा गिरावट आइरहेको छ ।

पाकिस्तानलाई आगामी केही महिनाभित्रै ३० बिलियन अमेरिकी डलर वैदेशिक ऋण चुक्ता गर्नुपर्ने बाध्यता छ । तर, यो समय अघि आइरहँदा पाकिस्तानको आर्थिक अवस्था थप नाजुक बन्ने डर पनि अघि आएको छ । र धेरैले यस्तो हुन सक्ने सम्भावना पनि अघि सारेका छन् ।

तर, पाकिस्तानको अर्थव्यवस्था संकटमा पर्ने कुरालाई त्यहाँको सरकारले भने अस्वीकार गरिरहेको छ ।

पाकिस्तान सरकारका संघीय अर्थ मन्त्री इसहाक डारले बुधबार त्यहाँको ‘स्टक एक्सचेन्ज’ सम्बन्धी समारोहलाई सम्बोधन गर्दै आर्थिक रुपमा अवस्था गम्भीर भएतापनि पाकिस्तानले तोकिएको समयमा आफ्नो ऋण तिर्नै नसक्ने अवस्था हुने आशंका नरहेको बताएका छन् ।

उनले भनेका थिए, ‘हामीले हरेक दिन पाकिस्तान डिफल्ट हुने (तोकिएको समयमा आफूले लिएको ऋण वा पूरा गर्ने भनेको कुरा गर्न नसक्ने) भन्ने सुनिरहेका छौं । तर, कसरी हुन्छ ? तपाईंहरु पुँजी लगानी गर्नुहोस्, कपोलकल्पित कुरा फैलाउनेहरुमाथि विश्वास नगर्नुहोस् ।’

उनले निश्चित मानिसको समूहले आफ्नो राजनीतिक स्वार्थका लागि देशलाई असर गरिरहेको पनि बताएका थिए । उनले भने, ‘तर, राजनीतिक प्रयोजनका लागि देश यस्तो अवस्थामा आउँछ भन्ने कुरा फैलाउन हुँदैन ।’

तर, पाकिस्तानलाई आगामी केही समयभित्रमै ३० देखि ३२ बिलियन रकम चाहिएको छ । जबकी त्यहाँको केन्द्रीय बैंकको अन्तर्राष्ट्रिय मुद्रा कोषमा केवल ५ अर्ब डलर रहेको छ । र यसमा पनि धेरै पैसा चीन, संयुक्त अरब इमिरेट्स र साउदी अरबजस्ता मित्र राष्ट्रहरुबाट लिइएको छ । र यदि यो ऋण खर्च नगर्ने सर्तमा लिइएको छ भने थप प्रश्नहरु खडा हुने अवस्था छ ।

यो विषयलाई ध्यानमा राख्दा मित्र राष्ट्रहरुबाट खर्च नगर्ने सर्तमा लिएको पैसा पाकिस्तानसँग छ भने पाकिस्तानको अन्तर्राष्ट्रिय मुद्रा कोषमा खर्च गर्न मिल्ने किसिमको रकम निकै कम हुने अवस्था छ । यसको अर्थ खर्च गर्नका लागि उपलब्ध डलर कम भएका कारण पाकिस्तान विदेशी कर्जाहरु तिर्न नसक्ने अवस्थामा आउन सक्छ ।

यो अवस्थामा पनि पाकिस्तानका अर्थमन्त्री डारले देश कर्जा नै तिर्न नसक्ने अवस्थामा पुग्ने विषयलाई अस्वीकार गरिरहेका छन् । तर, उनको कुरामा आश्वस्त हुने आधारहरु के के छन् त ?

सस्टेनेबल डेभलपमेन्ट पोलिसी इन्स्टीट्युट (एसडीपीआई)को इस्लामाबादस्थित कार्यालयसँग सम्बन्ध राख्ने अर्थविद् डा. साजिद अमीनकाअनुसार सत्यलाई पहिल्याउने हो भने पाकिस्तानसँग अहिले उपयोग गर्न मिल्ने अन्तर्राष्ट्रिय मुद्राहरुको कोष (फरेन रिजर्व) डलरको क्यास डिपोजिटभन्दा पनि कम छ।

तर, उनी पाकिस्तान कर्जा नै तिर्न नसक्ने अवस्थामा नपुग्ने पनि बताउँछन् । यसको कारण दुईवटा रहेको उनको तर्क छ ।

‘एउटा कारण भनेको पछिल्लो ७० वर्षको इतिहासमा पाकिस्तान डिफल्ट गर्ने अवस्थामा आएको छैन,’ उनी भन्छन्, ‘इतिहासका कैयौं समयमा हाम्रो मुद्रा विनिमय कोष अहिलेको भन्दा पनि कम थियो । दोस्रो कारण भनेको पाकिस्तानले लिएको जुन कर्जा छ, त्यसलाई ‘रोल ओवर’ गरिनेछ । अर्थात त्यसलाई तिर्नुपर्ने समयलाई थप लम्ब्याइने छ ।’

आर्थिक विषयका जानकार डा. खाकान नजिब पनि यो कुरामा सहमति जनाउँदै पाकिस्तान असहज र दबाबको अवस्थाले घेरिएका भए पनि कर्जा तिर्न नसक्ने अवस्थामा नपुग्ने बताउँछन् ।

उनी पाकिस्तानले अहिलेको समयमा आर्थिक घाटाको सामना गर्नु परिरहेको बताउँदै यसको कारण विदेशी दायित्वहरु भएको बताउँछन् । अहिले पाकिस्तानले आयातको मात्रालाई सीमित गरी निर्यातबाट प्राप्त हुने विदेशी मुद्रा कोषलाई बढाएर दुवैलाई मिलाउनु पर्ने उनको तर्क छ ।

डा. अमीनकाअनुसार पाकिस्तानका अर्थमन्त्री डारले देशको अवस्था नाजुक भए पनि कर्जा नै तिर्न नसक्ने अवस्था नहुने बताउनुको कारण आईएमएफ पनि भएको बताउँछन् । डारलाई पाकिस्तानको निम्ति आईएमएफले सहयोग दिनेछ भन्ने विश्वार रहेको छ । उनी भन्छन्, ‘आईएमएफको कार्यक्रमअन्तर्गतबाट पनि पाकिस्तानलाई डलर प्राप्त हुन्छ । यसबाहेक केही मित्र राष्ट्रहरुमार्फत् पनि ऋण प्राप्त हुन्छ । मेरो व्यक्तिगत विचारमा अबको अर्थतन्त्रको बाटो यसतर्फ जान्छ ।’

तर, पाकिस्तान सरकारले आईएमएफमार्फत प्राप्त हुने सहयोगलाई निकै गम्भीरताका साथ लिनुपर्ने हुन्छ । अमीनकाअनुसार सरकारले विगतमा जस्तै अहिले पनि आइएमएफको सहयोगमाथि राजनीति गरिरहेको हुन सक्ने बताउँछन् ।

उनी भन्छन्, ‘यस्तो कदापी हुन हुँदैन । तपाईं अहिलेको अवस्थालाई पाकिस्तान र कर्जा तिर्न नसकेर डिफल्ट हुने अवस्थाकाबीचमा आईएमएफ भएको रुपमा लिनुहोस् । यस्तो अवस्थामा आईएमएफसँग सहयोग माग्न जानै पर्छ । अरु विकल्प छैन । यति बेला आईएमएफको कार्यक्रमको बारेमा हल्ला फैलाएर राजनीति गर्न आवश्यक छैन ।’

पाकिस्तानको अन्तराष्ट्रिय विनिमय कोषको धेरै हिस्सा मित्र राष्ट्रहरुले दिएको डलरबाट आउने गर्छ । यहि अमेरिकी डलरको आधारमा पाकिस्तानले कर्जा तिर्ने, सामान आयात गर्ने वा इन्धन खरिद गर्ने गरेको छ ।

तर, पाकिस्तानले यो डलर खर्च गर्न सक्दैन । ऋण लिँदाका मापदण्डकाअनुसार पाकिस्तानले कतिपय अवस्थामा प्राप्त भएको ऋण आयातका लागि प्रयोग गर्न नपाउने अवस्था रहन्छ । त्यसो भए यो डलरबाट पाकिस्तानलाई के फाइदा हुन्छ त ?

यसलाई स्पष्ट बनाउँदै डा. साजिद भन्छन्, ‘मित्र राष्ट्रहरुले पाकिस्तानलाई दिएको डलरको धेरै फाइदा छ । यसले पाकिस्तानी रुपैयाँको मूल्यलाई स्थीरतामा राख्न र त्यसको मूल्य थप गिरावट हुन नदिन सहायता गर्छ ।’


क्लिकमान्डु