२० वाणिज्य बैंकको लाभांशः ७ को बढ्यो, १२ को घट्यो, ४ वटाले दिएनन्



काठमाडौं । गत आर्थिक वर्षको नाफाबाट २० वटा वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत २५ वटा बैंकमध्ये चार वटा बैंकले लाभांश नदिने घोषणा गरिसकेका छन् भने एउटा बैंकको वित्तीय विवरण नेपाल राष्ट्र बैंकबाट स्वीकृत नगर्दा लाभांश घोषणा भएको छैन ।

अहिलेसम्म कृषि विकास बैंकले लाभांश घोषणा गरेको छैन । गत आर्थिक वर्षको नाफाबाट माछापुच्छ्रे बैंक, लक्ष्मी बैंक, सनराइज बैंक र एनआइसी एशिया बैंकले लाभांश नदिने भएका छन् ।

सिभिल बैंकको लाभांश भने अघिल्लो आवको सरह नै रहेको छ । वाणिज्य बैंकको लाभांश न्यूनतम ५ देखि अघिकतम ३० प्रतिशतसम्म रहेको छ ।

७ बैंकको बढ्यो, १२ को घट्यो

लाभांश घोषणा गरेका २० वटा बैंकमा अघिल्लो वर्षको तुलनामा गत आवमा ७ वटाले मात्रै बढाएका छन् । एउटा बैंकको स्थिरहुँदा बाँकी १२ वटा बैंकको लाभांश घटेको छ ।

लाभांश बढाउने बैंकमा नेपाल एसबीआई बैंक, एभरेष्ट बैंक, स्टयान्डर्ड चार्टर्ड बैंक, ग्लोबल आइएमई बैंक, एनसीसी बैंक, बैंक अफ काठमाण्डू र कुमारी बैंक रहेका छन् ।

नेपाल एसबीआई बैंकले अघिल्लो आवमा ५.३१ प्रतिशत लाभांश दिएकामा गत आवको नाफाबाट १०.५३ प्रतिशत लाभांश दिने भएको छ ।

यस्तै एभरेष्ट बैंकले १०.३२ प्रतिशतबाट लाभांश बढाएर २०.६८ प्रतिशत पुर्याएको छ । स्टयान्डर्ड चार्टर्ड बैंकले लाभांशलाई १३.०६ प्रतिशतबाट बढेर १६.५१ प्रतिशत पुगेको छ भने ग्लोबल आइएमई बैंकले १३.५ प्रतिशतबाट बढाएर १३.६ प्रतिशत पुर्र्याएको छ ।

यस्तै एनसीसी बैंकले सेयरधनीलाई दिने लाभांश ८.४२ प्रतिशतबाट बढेर ११ प्रतिशत पुगेको छ । बैंक अफ काठमाण्डूको लाभांश १४ प्रतिशतबाट बढेर २०.९५ प्रतिशत रहेको छ भने कुमारी बैंकको लाभांश ८.६७ प्रतिशतबाट बढेर १२.५ प्रतिशत पुगेको छ । बाँकी १३ बैंकले सेयरधनीलाई दिने लाभांश भने घटाएका छन् ।

तीन बैंकको २० प्रतिशतभन्दा बढी लाभांश

गत आर्थिक वर्षको नाफाबाट २० प्रतिशतभन्दा बढी लाभांश दिने बैंकमा तीन वटा बैंक मात्रै रहेका छन् । २० प्रतिशतभन्दा बढी लाभांश दिने बैंकमा नबिल, एभरेष्ट र बैंक अफ काठमाण्डू रहेको छ ।

नबिल बैंक ३० प्रतिशत, एभरेष्ट बैंकले २०.६८ र बैंक अफ काठमाण्डूले २०.९५ प्रतिशत लाभांश दिने भएको छ । यस्तै १० प्रतिशत भन्दा कम लाभांश दिनेमा ७ वटा बैंक रहेका छन् ।

जसमा प्राइम बैंक ८.९५, एनएमबि बैंक ८.२५, सेञ्चुरी बैंक ५, प्रभु बैंकको ८, मेगा बैंक ७.७९, सिटिजन्स बैंकले ९ र सिभिल बैंकले सेयरधनीलाई ५.२६ प्रतिशत लाभांश दिने भएको छ । बाँकी बैंकको लाभांश भने १० देखि २० प्रतिशतको अन्तरमा रहेको छ ।

गत आर्थिक वर्षको नाफाबाट एनएमबि बैंक, स्टयान्डर्ड चार्टर्ड, कुमारी र सिटिजन्स बैंकले बोनस सेयर नदिइ नगदमात्रै लाभांश दिएका छ्न् । एनएमबिले ८.२५, स्टयान्डर्ड चार्टर्डले १६.५१, कुमारीले १५.२ र सिटिजन्स बैंकले ९ प्रतिशत करसहित ९ प्रतिशत लाभांश दिएका छन् । यी बैंकले बोनस सेयर दिएका छैनन् ।

हिमालयन बैंकले ११.११, नेपाल बैंकले १०, प्राइमले ४.९५,नेपाल एसबीआईले ७.५३, नेपाल इन्भेष्टमेन्टले ७ र बैंक अफ काठमाण्डूले १४.९५ प्रतिशत नगद लाभांश दिने भएको छ ।


क्लिकमान्डु