विराटनगरका उद्योगी व्यवसायीद्वारा राष्ट्र बैंकमा धर्ना



विराटनगर । चर्को बैंक ब्याजदर र प्रतिकूल बैंक नीतिविरुद्ध यहाँका उद्योगी व्ययवासीहरूले विराटनगरस्थित नेपाल राष्ट्र बैंकको कार्यालयअगाडि धर्ना दिएका छन् ।

नेपाल उद्योग परिसंघ (एनसीसीआई) प्रदेश नं.१, मोरङ व्यापार संघ र उद्योग संगठन मोरङको संयुक्त आयोजनामा ४० भन्दा बढी विभिन्न बस्तुगत संघसंस्थाको ऐकबद्धतामा बिहीबारदेखि राष्ट्र बैंकको कार्यालय मुख्य प्रवेशद्वारमा धर्ना दिएका हुन् ।

बिहान साढे ९ बजे मोरङ व्यापार संघबाट निस्किएको विरोध र्‍यालीले बजार परिक्रमा गर्दै १० बजेदेखि ४ बजेसम्म राष्ट्र बैंकको कार्यालयअगाडि धर्ना दिएको थियो ।

दुई दिनसम्म राष्ट्र बैंक घेराउ र धर्नाको कार्यक्रमबाट पनि माग पूरा नभए आन्दोलन अरु सशक्त बनाइने मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले बताए ।

१६ प्रतिशत पुगिसकेको ब्याजदर एकल अंकमा नआएसम्म, स्प्रेडदरलाई ४.४ बाट घटाएर २ प्रतिशतमा नझारेसम्म, संस्थागत निक्षेपको ब्याजलाई २ प्रतिशत नबनाएसम्म र चालु पुँजी कर्जा निर्देशिका खारेज नगरिएसम्म आन्दोलन नरोकिने भन्दै उद्योगी व्यवसायीहरूले चेतावनी दिए ।

नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले राष्ट्र बैंकले खुल्ला अर्थनीतिका नाममा नेपालका वाणिज्य बैंकलाई सामन्त बनाइरहेको आरोप लगाए । अध्यक्ष घिमिरेले राष्ट्र बैंककै आडमा व्यापारिक बैंकहरू चोरी खान पल्किएको आरोप लगाए । घिमिरेले अहिलेको विकराल परिस्थिति र व्यापारिक मन्दी ल्याउन सरकार र राष्ट्र बैंक दुवै जिम्मेवार रहेको दाबी गरे ।

उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष प्रदीप मुरारकाले ब्याज घट्न नदिने ठूलो खेलाडी नेपाल राष्ट्र बैंक नै भएको आरोप लगाउँदै स्प्रेड दर ४ प्रतिशत बनाउने नीतिलाई अविलम्ब कार्यान्वयन गर्न माग गरे ।

मोरङ व्यापार संघका निवर्तमान अध्यक्ष प्रकाश मुन्दडाले चर्को ब्याजदर कायम गरेर राज्यले उद्योगी व्यवसायीहरूको मेरुदण्ड भाँच्ने काम गरेको बताए । राष्ट्र बैंकको नीतिको कारण अहिले उद्योगधन्दाहरू धराशायी भएको उनको भनाइ छ ।
अटोमोवाईल्स एसोसिएसन नेपाल प्रदेश १ का सचिव मनोज विक्रम शाहले उद्योगी व्यवसायीहरूले सरकार र नेपाल राष्ट्र बैंकले आफूहरूलाई विस्थापनमै पार्ने नियत राखेर चर्को ब्याजदर लादेको भन्दै आन्दोलनमा जानुपर्ने बाध्यता सिर्जना भएको बताए ।

व्यवसायीले शुक्रवार पनि नेपाल राष्ट्र बैंकको प्रादेशिक कार्यालयको प्रवेशद्वारमा धर्ना दिने कार्यक्रम राखेका छन् ।

उनीहरूले बैंक व्याजदर एकल अंकमा झारिनुपर्ने, चालु पुँजी कर्जा निर्देशिका खारेज गर्नुपर्ने, स्प्रेड दर र संस्थागत ब्याजदर २ –२ प्रतिशत कायम गर्नुपर्ने तथा बैंकर र व्यवसायीलाई अलग गर्नुपर्ने पाँच सूत्रीय माग अघि सारेर आन्दोलनमा उत्रिएका हुन् । अहिले बैंक ब्याजदर १६ प्रतिशतसम्म पुगेको उनीहरूको दाबी छ ।
भएन बजार बन्द
उनीहरूले बिहीबार विराटनगर बजार बन्द गर्न आह्वान गरेका थिए । तर विराटनगरका पसल बन्द भएनन् । उद्योगीहरू आफ्ना उद्योग खुल्ला राखेर ससाना व्यापार व्यवसायीलाई मार पर्ने गरी बजार बन्द गर्न भनिएकोले आफूहरूले अवज्ञा गरेको पुस्तक व्यवसायी महासंघ मोरङका अध्यक्ष माधव अधिकारीले बताए ।

उनीजस्तै अरु व्यापार व्यवसाय गर्नेहरूले पनि बजार बन्द गर्नु अनुचित भएको प्रतिक्रिया दिएका छन् । अरुलाई मार पर्ने गरी बजार बन्द गर्नु अनुचित काम भएको विराटनगर पुरानो गुद्रीका सब्जी मण्डीका वीरेन साहले बताए ।


क्लिकमान्डु