स्वरोजगार तथा वैदेशिक रोजगारीमा रहेकाले सामाजिक सुरक्षा कोषबाट के-के पाउनेछन् सुविधा ?



काठमाडौं । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय मातहत रहेको सामाजिक सुरक्षा कोषले अनौपचारिक स्वरोजगार तथा वैदेशिक रोजगारीमा रहेका श्रमिक पनि सामाजिक सुरक्षा कोषमा आबद्ध हुन सक्ने व्यवस्था गरेको छ ।

कोषले आज कार्यविधि सार्वजनिक गर्दै अनौपचारिक स्वरोजगार तथा वैदेशिक रोजगारीमा रहेका श्रमिक कोषमा आबद्ध हुन सक्ने व्यवस्था गरेको हो ।

कोषले आज सार्वजनि गरे पनि आगामी वैशाख १ गतेबाट मात्रै पूर्ण रुपमा लागू हुने कोषका कार्यकारी अधिकृत कपिलमणि ज्ञवालीले बताए । उनकाअनुसार कोषले समयसापेक्ष तेस्रो पटक कार्यविधि संशोधन गरी औचारिक स्वरोजगार तथा वैदेशिक रोजगारीमा समेटिएको छ । उक्त व्यवस्थासँगै सबै प्रकारका श्रमिकहरु कोषमा आबद्ध हुन सक्नेछन् ।

औपाचारिक र स्वरोजगार क्षेत्र

कोषले औपाचारिक र स्वरोजगार क्षेत्रका श्रमिकको लागि विभिन्न योजनाहरु अगाडि बढाएका छन् । कार्यविधिअनुसार स्वरोजगार व्यक्तिको हकमा न्यूनतम आधारभूत तलबको तीन गुणासम्म रकममा ३१ प्रतिशत योगदान गर्न सक्नछन् ।

स्वरोजगार तथा अनौपचारिक श्रमिकलाई पनि कोषले औषधि, स्वास्थ्य र मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धवस्था सुरक्षा योजना ल्याएको छ । जसमा स्वरोजगार श्रमिकले औषधी उपचारमा १ प्रतिशत, दुर्घटना योजनामा १.४ प्रतिशत, आश्रित योजनामा ०.२७ प्रतिशत र वृद्धवस्था योजनाका लागि २८.३३ प्रतिशत योगदान गर्नुपर्नेछ।

अनौपचारिक र स्वरोजगार क्षेत्रबाट आबद्ध भएका श्रमिकले विभिन्न योजनामार्फत् विभिन्न सुविधा पाउनेछन् । कोषले औषधी उपचार,स्वास्थ्य र मातृत्व सुरक्षा योजनाअन्तर्गत योगदानकर्ताले एक वर्षमा १ लाख रुपैयाँसम्म उपचार खर्च, श्रीमतीको मातृत्व सुविधामार्फत् मासिक ९८ दिनको ९ हजार ३८५ रुपैयाँ र शिशु स्याहारमार्फत् न्यूनतम आधारभूत तलबको ९ हजार ३८५ रुपैयाँ पाउने व्यवस्था गरेको छ ।

दुर्घटना तथा अशक्तता सुरक्षा योजनामार्फत् योगदानकर्ताले दुर्घटनामा परेमा ७ लाख रुपैयाँसम्मको उपचारखर्च र अशक्तता भएमा मासिक न्यूनतम तलबको ६० प्रतिशत अर्थात् ५ हजार ६३१ रुपैयाँ पाउने व्यवस्था गरेको छ ।

आश्रित परिवार सुरक्षा योजनामार्फत् योगदानकर्ताले काजकिरिया खर्च २५ हजार रुपैयाँ, आश्रित श्रीमान÷श्रीमतीले मासिक ४० प्रतिशतको दरले ३ हजार ७५४ रुपैयाँ र स्वरोजगारको हकमा औसत तलबको ४० प्रतिशत र सन्ततीको लागि २१ वर्षसम्म शैक्षिक वृत्तिमार्फत् ४० प्रतिशतसम्म रकम पाउनेछन् ।

साथै, वृद्धवस्था सुरक्षा योजनामा अनौपचारिक क्षेत्रको ९ हजार ३८५ को १० प्रतिश र स्रोजगारको २८.३३ प्रतिशत न्यूनतम तलवको ९ हजार ३८५ रुपैयाँ पेन्सन सुविधा पाउनेछन् ।

कोषमा योगदानकर्ताले अग्रिम रुपमा योगादन गरेमा १० प्रतिशत सम्म छुटको व्यवस्था गरेको छ । त्यस्तै, लगातार ३ वर्षसम्म सामाजिक बीमाका योजनाको उपयोग नगरेमा २० प्रतिशतसम्मको रकम निवृत्तभरण योजनामा हस्तारन्तरण हुने, सुरक्षा योजनाहरुको निरन्तरताको र कर्जा तथा सापटीको व्यवस्थाको व्यवस्था गरेको छ ।

वैदेशिक रोजगारी क्षेत्र

त्यसैगरी, कोषले वैदेशिक रोजगारीमा रहेका श्रमिहरुलाई छुट्टै व्यवस्था गरेको छ । कोषले प्रारम्भिक योजनाहरुमा सिमितमात्राको सामाजिक सुरक्षा कोषको योजनाहरुमा आवद्धता भएका योगदानकर्ताले दुर्घटना र अशक्तता, आश्रित परिवार, अवकाश एवं वृद्धअवस्था सुरक्षा योजनाको व्यवस्था गरेको छ ।

जसमा योगदानकर्ताले दुर्घटना तथा अशक्तता र आश्रित परिवार र आवकाश एवं वृद्धवस्था सुरक्षा योजना गरी मासिक २ हजारदेखि २८ हजार १५५ रुपैयाँसम्म योगदान गर्न सक्नेछन् । कोषले वैदेशिक रोजगारीमा रहेका श्रमिकले मासिक २ हजारभन्दा माथि योगदान गरेमा दुर्घटना र अशक्तता सुरक्षा योजनअन्तर्गत व्यवस्था गरेको सुविधा पाउनेछन् ।

कोषले दुर्घटना उपचार खर्च वार्षिक १ लाख रुपैयाँ, अशक्तता पेन्सन मासिक ६० प्रतिशतको दरले ५ हजार ६३१ रुपैयाँ, न्यूनतम पारिश्रमिकको आधारमा ९ हजार ३८५ रुपैयाँ आजीवन पेन्सन पाउनेछन् । जसमा सञ्चालक समितिको तोकेअनुसार मुद्रास्फिति समायोजन हुँदै जानेछ । त्यसैगरी, उक्त योजनाबाट सुविधा पाउनका लागि १२ महिनामा ९ महिनाको योगदान गरेको हुनुपर्ने व्यवस्था गरेको छ ।

आश्रित परिवार सुरक्षा सुरक्षा योजनाअन्तर्गत योगदानकर्तालेक काजकिरियाका लागि २५ हजार रुपैयाँ, श्रीमान÷श्रीमतीले आजीवन ३ हजार ७५४ रुपैयाँ पेन्सन, सन्ततीलाई २१ वर्षसम्म ४० प्रतिशतको दरले रकम पाउने व्यवस्था गरेको छ ।

त्यसैगरी, वृद्धवस्था सुरक्षा योजनाअन्तर्गत वैदेशिक रोजगारी समय अवधि सकिएपछि एकमुष्ट रकम वा पेन्सन सुविधाको व्यवस्था गरेको छ । जसमा १८० महिनाको योगदान रकम जम्मा भई योगदानकर्ताको उमेर ६० वर्ष भईसकेपछि पेन्सन हालको पेन्सन सुत्र जम्मा भएको रकम भागा १६० प्लस बीमाङ्की समायोजन गरिनेछ ।

योगदानकर्ताले अग्रिम रुपमा योगादन गरेमा १० प्रतिशत सम्म छुटको व्यवस्था गरेको छ । साथै, खर्च कटाई आम्दानीको ७० प्रतिशत रकम औपचारिक माध्यमवाट रेमिट्यान्स पठाएको प्रमाण पेश गरेमा २० प्रतिशत छुट रकम फिर्ता हुने र दुर्घटना,अशक्तता र आश्रित परिवार सुरक्षा योजना अन्तर्गत सुविधा नलिएमा २० रकम छुट को व्यवस्था गरेको छ ।

नेपालमा फर्केपछि अन्य जस्तै औपचारिक, अनौपचारिक र स्वरोजगारमा योजनाहरुमा जान सक्ने व्यवस्था गरिएको, कर्जा तथा सापटीको व्यवस्था हुन सक्ने प्रावधान राखिएको र स्विकृत भएको ९० दिनबाट कार्यान्वयन आउने कोषले जनाएको छ ।


क्लिकमान्डु