पोखरा विमानस्थलमा सोमबारदेखि साढे पाँच घण्टा उडान र अवतरण नहुने



काठमाडौं । एक सतासम्म पोखरा विमानस्थलमा उडान प्रभावित हुने भएको छ ।

मुलुककै तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी मङ्सिर ५ गतेदेखि यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’ सञ्चालन हुने भएसँगै सोमबार ५ गते देखि १२ गतेसम्म उडान प्रभावित हुने भएको हो ।

नागरिक उड्डयन कार्यालय पोखराका उपप्रबन्धक विष्णुप्रसाद अधिकारीले नोभेम्बर २१ देखि २८ तारिखसम्म हरेक दिन बिहान १० देखि १ र २.३० देखि ५ बजेसम्म कुनै पनि किसिमको उडान तथा अवतरण नहुने जानकारी दिए ।

मौसम वा अन्य कुनै कारणले समय फेरबदल भएमा समेत सोही बमोजिम पोखरा कन्ट्रोल टावरको प्रत्यक्ष समन्वयमा मात्र हवावइ उडान सञ्चालन गर्ने गरी व्यवस्था मिलाउन विमान कम्पनीहरुलाई आग्रह गरेका छन् ।

यान्त्रिक उडानमा एयर ट्राफिक कन्ट्रोलर, टावर, धावनमार्ग र विमानस्थलमा जडान भएका सञ्चार उपकरणले काम गरे नगरेको परीक्षण गरिनेछ । यान्त्रिक परीक्षण सफल भएपछि मात्रै व्यावसायिक उडान सञ्चालन गरिन्छ ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार पोखरालगायत देशका अन्य विमानस्थलमा यान्त्रिक उडानका लागि एरोथाई कम्पनीको जहाज गत आइतबार नै काठमाडौँ आइसकेको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललगायत देशका अन्य विमानस्थलको यान्त्रिक उडान सकेर आगामी डिसेम्बर ५ मा एरोथाइको जहाज फर्किने प्रवक्ता निरौलाले बताए । एरोथाइको जहाजले देशभरका आन्तरिक विमानस्थलको उपकरण जाँचमा नियमित परीक्षण उडान गर्नेछ ।

राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको पोखरा विमानस्थलको भौतिक पूर्वाधार तथा प्राविधिक काम सम्पन्न भएको विमानस्थल निर्माण आयोजना प्रमुख विनेश मुनाकर्मीले बताए ।

करिब तीन हजार नौ सय रोपनी क्षेत्रफलमा फैलिएको यो विमानस्थलको लगानी करिब २२ अर्ब हुने प्राधिकरणले जनाएको छ। विमानस्थलको हाल दुई हजार पाँच सय मिटरको धावनमार्ग र ४५ मिटर चौडाई तथा धावनमार्गको मोटाइ ३४ सेन्टिमिटर रहेको छ ।

चौध मिटर काटियो रिट्ठेपानी डाँडा

ठूला जहाजको उडान एवं अवतरणमा अवरोध गर्ने भनिएको पोखरा विमानस्थल नजिकै रिट्ठेपानी डाँडा कटानको पहिलो चरणको कार्य सकिएको छ। उक्त डाँडो हालसम्म १४ मिटर कटान कार्य सकिएको प्राधिकरणले जनाएको छ।

धावनमार्गको ‘अप्रोच’ पर्ने भएकाले करिब ४० मिटर डाँडा काटेर समतल बनाइनेछ। यान्त्रिक उडानका लागि सुरुमा १४ मिटर डाँडा कटान गरिएको हो ।


क्लिकमान्डु