नवलपरासीलाई समृद्ध बनाउने विनोद चौधरीका ३१ योजना



काठमाडौं । आफ्नो सम्पूर्ण जीवन व्यवसायमा विताएर सफलता हासिल गरेका विनाद चौधरी राजनीतिमा प्रवेश गरेर चुनावी मैदानमा उत्रिएका छन् ।

आगामी मंसिर ४ को आम निर्वाचनमा नवलपरासीको निर्वाचन क्षेत्र नम्बर १ का लागि नेपाली कांग्रेसका तर्फबाट सांसदको उम्मेद्वार रहेका चौधरीले त्यस क्षेत्रको विकासका लागि ३१ वटा काम गर्ने घोषणा गरेका छन् ।

विश्वविख्यात फोर्ब्स म्यागेजिनले सूचिकरण गरेका नेपालका एकमात्र डलर अर्बपति चौधरी प्रत्यक्ष निर्वाचनमा उम्मेद्वार बनेका हुन् ।

यसअघि पनि समानुपातिक कोटाबाट सांसद रहेका चौधरीले प्रत्यक्ष चुनाव उठेर निर्वाचित भई बनेको सांसदले जस्तो काम समानुपातिक सांसदले गर्न नसक्ने अनुभव सुनाउँदै मतदातासँग आफूलाई निर्वाचित गर्न अनुरोध गरिरहेका छन् ।

अन्य उम्मेद्वारजस्तै चौधरी पनि जनतामाझ सपनाको पोको खोलिहेका छन् । निर्वाचन क्षेत्रका मतदातासँग उनले राष्ट्रिय राजनीतिभन्दा पनि स्थानीय विकासका एजेण्डा अघि सारेका छन् ।

अन्य निर्वाचन क्षेत्रको तुलनामा नवलपरासी क्षेत्र नं. १ विकासका दृष्टिकोणले ३० वर्ष पछि परेको छ, मैले चुनाव जितेँ भने यो क्षेत्रलाई सम्मृद्ध बनाउँछु, चौधरीले भने, ‘किनभने मसँग विकासको स्पष्ट नीति र विकासको खाका छ ।’

आफूले ४५ वर्ष नेपालको औद्योगिक क्षेत्रको विकासका लागि काम गरेको र ५०औं हजारलाई रोजगारी दिन सफल भएको उनको भनाइ छ । र, एउटा व्यक्तिले यति गर्न सक्नु नै महत्वपूर्ण कुरा भएको भन्दै उनले भने, ‘राज्यले चाह्यो भने सबै जिल्लामा ठूला औद्योगिक ग्राम निर्माण गर्न सकिन्छ ।’

यस्ता छन् नवलपरासी क्षेत्र नं. १ लाई समृद्ध बनाउने चौधरीका ३१ योजना

१. नवलपरासी निर्वाचन क्षेत्र नं. १ लाई विकास र समृद्धिमा लुम्बिनी प्रदेशकै नमुना निर्वाचन क्षेत्रका रुपमा स्थापित गर्न गुरुयोजना तयार गरी कार्यान्वयन गरिनेछ ।

२. यस निर्वाचन क्षेत्रभित्र पर्ने सडक (पूर्व-पश्चिम राजमार्ग, हुलाकी सडक, पालिका एवं भन्सार नाका जोड्ने भित्री सडकहरु र बाटोघाटो) स्तरीय बनाइनेछ ।

३. यस निर्वाचन क्षेत्रभित्रका सामुदायिक विद्यालयहरुको गुणस्तर अभिवृद्धि, प्राविधिक शिक्षालयको स्थापना एवं सञ्चालनका साथै स्नातकोत्तर अध्ययनको व्यवस्था मिलाइनेछ ।

४. यस निर्वाचन क्षेत्रका सरकारी विद्यालयमा डिजिटल क्लासरुम र ई-पुस्तकालयको व्यवस्था गरिनेछ ।

५. यस निर्वाचन क्षेत्रका हरेक नागरिकलाई सहजरुपमा गुणस्तरीय स्वास्थ्य सेवा पाउने व्यवस्था मिलाइने छ ।

६. यस निर्वाचन क्षेत्रका युवाहरुलाई उद्यमशीलतासँग जोड्न विभिन्न स्वरोजगारमूलक तालिमका साथै सीपमूलक कार्यक्रम सञ्चालन गरिनेछ ।

७. श्रृजनशील व्यावसायिक सोच भएका तर पूँजीको अभावमा आफ्नो सोच कार्यान्वयन गर्न नपाएका युवाहरुलाई ‘स्टार्टअप फण्ड’सँग जोडिनेछ ।

८. सूचना प्रविधिसँग सम्बन्धित परियोजनाहरुलाई कार्यान्वयनमा लैजान युवाहरुका योजनालाई नेपाल राष्ट्र बैंकको नीति बमोजिम बैंक तथा वित्तीय संस्थाबाट सहज रुपमा लगानी गर्ने वातावरण मिलाइनेछ ।

९. यस क्षेत्रबाट वैदेशिक रोजगारीमा गएका वा जान बाध्य हुने युवाहरुलाई स्थानीय तहमै रोजगारी एवं स्वरोजगारीका अवसरहरु उपलब्ध गराई आफ्नै जन्मथलोमा बसेर आयआर्जन गर्न पाउने वातावरण तयार गर्नेतर्फ दरिला कदम चालिनेछ ।

१०.निर्वाचन क्षेत्रलाई केराखेती विशेष क्षेत्रका रुपमा स्थापित गरिनेछ ।

११. यस निर्वाचन क्षेत्रमा केरा उत्पादक किसानहरुलाई प्रत्यक्ष लाभको सुनिश्चितताका लागि केरामा आधारित उद्योग स्थापना गर्न आवश्यक सहजीकरण गरिने छ । यसबाट किसानले आफ्ना उत्पादनको उचित मूल्य नपाउने हालको परिस्थितिको अन्त्य भई यसबाट केराखेती व्यवसाय प्रवद्र्धन हुनेछ ।

१२. यस निर्वाचन क्षेत्रमा भारतमा निर्यात प्रवद्र्धन गर्ने लक्ष्यका साथ औद्योगिक ग्राम स्थापनाका लागि विशेष पहल लिइनेछ । यसबाट यहाँको बेरोजगारी समस्या समाधानमा विशेष टेवा पुग्ने विश्वास लिइएको छ । साथै यो क्षेत्र निर्यात प्रवद्र्धन विशेष क्षेत्रका रुपमा समेत विकास गर्ने दीर्घकालीन लक्ष्य लिइएको छ ।

१३. यस निर्वाचन क्षेत्रका महिलाहरुलाई लक्षित गरेर महिला सीप विकास एवं लघु उद्यमशीलताका कार्यक्रम सञ्चालन गरिनेछ ।

१४.यस निर्वाचन क्षेत्रका नागरिकका समस्या समाधानका लागि सहजीकरण गर्न निर्वाचन क्षेत्रमा सांसदको सचिवालय स्थापना गरिनेछ भने केन्द्रमा सम्पर्क कार्यालय स्थापना गरिनेछ ।

१५. उखु किसानले हाल भोग्दै आएको भुक्तानीको समस्या अन्त्य गरिनेछ । साथै किसानलाई उखुको उचित मूल्य र बजार सुनिश्चितताको व्यवस्था मिलाइनेछ ।

१६. किसानलाई नगदे बालीमा प्रोत्साहन गरी दीर्घकालीन आयको सुनिश्चितता गर्ने वातावरण तयार गरिनेछ ।

१७. सिचाइँमा आधारित धान, गहुँलगायतका परम्परागत खेतीलाई व्यवसायीकरण गरी किसानको आयआर्जनको दीगो वातावरण मिलाइनेछ । साथै सिचाइँ व्यवस्थापनमा रहेको हालको समस्यालाई समाधान गर्नेतर्फ आवश्यक पहल गरिनेछ ।

१८. किसानले वर्षौंदेखि भोग्दै आएका रसायनिक मल, बीउबिजनको समस्यालाई अन्त्य गर्न माग अनुसारको आपूर्ती गर्ने व्यवस्था मिलाइनेछ ।

१९. आर्सेनिकका कारण शुद्ध खानेपानीको समस्या व्यहोरिरहेका नागरिकहरुलाई शुद्ध खानेपानीको व्यवस्था मिलाउने कामलाई दु्रत गतिमा अगाडि बढाइने छ ।

२०.कुनै दुर्घटना वा अन्य कारणले हातखुट्टा गुमाएका यस निर्वाचन क्षेत्रका नागरिकलाई कृत्रिम हातखुट्टाको नि:शुल्क व्यवस्था मिलाउन उनीहरुलाई ‘सवल केन्द्र’सँग जोडिनेछ ।

२१. सरकारी कार्यालयबाट प्रवाह हुने सेवाको सहजता र गुणस्तरलाई विशेष प्राथमिकता दिई आमनागरिकले बिना कुनै झन्झट सेवा पाउने वातावरण तयार गरिनेछ ।

२२. भारतसँग जोडिएका यी नाकाहरुमार्फत् नेपाल-भारतबीच आयात निर्यात व्यापार प्रवद्र्धन गर्न नेपाल सरकार र भारत सरकारबीच कुटनीतिक पहल गरिनेछ ।

२३. यस निर्वाचन क्षेत्रमा सुख्खा बन्दरगाह स्थापनाका लागि पहल गरिनेछ ।

२४. यस निर्वाचन क्षेत्रमा सम्बन्धित निकायबाट सहजरुपमा जग्गाधनी प्रमाणपत्र पुर्जा दिलाउन पहल गरिनेछ ।

२५.भूमिसम्बन्धी समस्या समाधान गर्न सरकारकासँग समन्वय गरी समस्या समाधान गरिनेछ ।

२६. पर्यटन प्रवद्र्धन गर्न यस क्षेत्रभित्र रहेका र योसँग जोडिएका त्रिवेणीधाम, रामग्राम, बुद्धमंगल ताल, कञ्चनगढी, संसारीकोट, त्रिनेत्रधामलगायत अन्य धार्मिक एवं पर्यटकीय स्थलहरुको अध्ययन गरी पूर्वाधार विकासमा जोड दिइनेछ ।

२७. सीमा क्षेत्रमा रहेका केही नेपाली भूमि गुगल म्यापमा भारततर्फ देखिने गरेका कारण स्थानीयले बैंक तथा वित्तीय संस्थाबाट उक्त जग्गा धितोमा राखी ऋण नपाउने अवस्था छ । उक्त समस्या समाधानका लागि बैंक तथा वित्तीय संस्था एवं सरकारको सम्बन्धित निकायसँग समन्वय गरी यथाशीघ्र समाधान गरिनेछ ।

२८. पिछडिएका मुसहरका लागि आवासको उचित व्यवस्था मिलाइनेछ ।

२९.डुबानबाट प्रभावित घरधुरीको वास्तविक अवस्था अध्ययन गरी सुरक्षित आवासको वैकल्पिक व्यवस्थाका लागि पहल गरिनेछ ।

३०. यस क्षेत्रमा खेलकुदको विकास गर्न रंगशाला लगायत विभिन्न कार्यक्रमहरु तय गरिनेछ ।

३१. गण्डक परियोजना अन्तर्गत १५ मेगावाट क्षमताको हाइड्रोपावरले हाल अधिकतम ३ मेगावाटमात्र उत्पादन गरिरहेको अवस्था छ । यस परियोजनाबाट पूर्णक्षमतामा विद्युत् उत्पादन गर्न नेपाल र भारततर्फका सम्बन्धित निकायहरुसँग समन्वय गरी विद्यमान समस्याको समाधान गरिनेछ ।


क्लिकमान्डु