भन्सार र मालपोतको जागिर छोडेर कृषि पेसामा रमेका ढकाल र धमला
विराटनगर । छदाखाँदा सरकारी जागिर छोडेर कोही दुःखको पेसा कृषिकर्ममा लाग्छ र ? पत्याउन गाह्रो पर्छ । तर भयो यस्तै । सरकारी जागिर छाडेर दुई जनताले कृषि पेसा रोजे ।
तीन दशक सरकारी सेवामा विताएका नारायण धमला र देवीभक्त ढकालले जागिर छाडेर कृषि पेसा रोजेका हुन् । मोरङको टंकिसिनुवारी गाउँपालिका–१ का धमला र प्रदेश एकको राजधानी विराटनगर महानगरपालिका–३ का ढकाल उमेरले क्रमशः ५४ र ५५ वर्षका भए ।
ढकालले सरकारी जागिर खाने उमेर ७ वर्ष बाँकी छँदै ३० वर्ष सेवा गरे भने धमलाले ८ वर्ष सेवा अवधि बाँकी रहँदै ३० वर्ष सरकारी सेवामा काम गरेर छाडे ।
धमलाले मालपोत कार्यालयमा छँदै जागिर छाडेका हुन् भने ढकालले मालामाल कमाइ हुने ठानिने भन्सारको जागिर छाडेर कृषि पेसा अगाल्ने निर्णय गरे ।
कृषि व्यवसायलाई सरकारले पनि उतिसाह्रो प्राथमिकतामा नराखेको अवस्थामा धमला र ढकालले कृषि कर्म किन रोजे ? धेरैको चासो रहेको छ ।
सरकारी जागिर छोड्दा छटपटी
धमलाले सरकारी जागिरका क्रममा १७ वर्ष मुखिया भएर कार्यसम्पादन गरे । १० वर्ष खरदार र त्यसपछि तीन वर्ष नासु । जागिरे हुँदा उनीसँग संखुवासभा, भोजपुर र इलामजस्ता पहाडी जिल्लामा काम गरेको अनुभव छ । २०७५ सालमा सरकारी जागिर छोडेपछि घरैमा बस्ने सोच बनाएका धमलाई सोचेको जस्तो सहज भएन । घरमै समय बिताउन उनलाई सकस भयो । छोराछोरी पढ्न घरबाहिर गए । साथमा भएकी पत्नी पनि जागिरे ।
उनले घरैमा केही समय टेलिभिजन हेर्दै र सुत्दै दिन कटाए, तर पार लागेन । परिश्रम नभएका कारण उनी मोटाए । पत्नीले पनि यसरी त्यसै बस्न हुँदैन केही त गर्नु पर्दछ भनेर सल्लाह दिइन् । तर उनीसँग के गर्ने भन्ने ‘आइडिया’ थिएन ।
उनका नातेदार देवीभक्तसँग सल्लाह गरेर चार जनाको साझेदारीमा तरकारी खेती गर्ने टुंगो गरे । उनी, देवीभक्त, दीपिन्द्र ढकाल र गोविन्द पराजुलीले साझेदारीमा तरकारी व्यवसाय सुरू गरे ।
केही समयपछि चारजनामध्ये देवीभक्त र गोविन्दले साझेदारी व्यवसाय छोडेर दुई जनाले छुट्टै कृषि व्यवसाय शुरु गरे । नारायण र दीपिन्द्र दुईजनाले पनि छुट्टै तरकारी खेती गर्न थाले ।
‘पहिलो वर्ष त नारायण र दीपिन्द्र दुईजना मिलेर जरे सिमी लगाएका थिए । प्रशस्तै फल्यो पनि । सब्जी खेती सप्रेको र रहरलाग्दो देखेर सेल्फी खिच्न आउनेको भीड लाग्यो । भीडले सब्जीको बोट भाँचेर अचाक्ली गरे । ‘हुन त सिमी यति फल्यो कि बिक्री गर्न नै हम्मेहम्मे । बजार भाउ सस्तिएर सिमी किलोको १० रूपैयाँले बेच्नु पर्यो । सोचेजस्तो नाफा हुन सकेन । लागत उठ्न नै मुस्किल परेको थियो’, नारायणले भने ।
देवीभक्त ढकाल जागिरमा छँदै कृषि व्यवसायमा आकर्षित भएका थिए । उनले त्यही बेला मोरङको ग्रामथान–१ मा कागतीका विरूवा लगाएका थिए ।
उनले सरकारी जागिरबाट ऐच्छिक अवकास लिएको पनि पाँच वर्ष भइसकेको छ । अवकासपछि उनले विराटनगर–३ स्थित उदयमार्गमा आफ्नै घरको सटरमा किराना पसल खोले । त्यो किराना पसल खोलेर पनि उनको मन अडिएन ।
उनको मनमा कृषि व्यवसाय सञ्चालन गर्ने हुटहुटी जाग्यो । उनले घरबाट चार किलोमिटर पूर्वउत्तर ग्रामथान गाउँपालिका १ मा कागती र मेवा लगाएका छन् । १२ कठ्ठा जग्गामा कागती र मेवा खेती शुरू गरे ।
कागती र मेवा खेतीबाट केही मात्रामा आम्दानी हुन थाल्यो । तर उनीसँग लगानी गर्ने पर्याप्त पुँजी नभएका कारण कागति र मेवा खेती सोचेजस्तो भएको छैन ।
‘सरकारले वास्तविक किसानलाई सहयोग नै गर्दैन । सुरूमा त मैले पनि सरकारी अनुदान सहयोग पाइन्छ भनेर सानो पुँजीबाट कृषि व्यवसाय शुरू गरेको हुँ । तर राजनीतिक पहुँच भएका व्यक्तिले मात्र अनुदान पाउने र दुरूप्रयोग गर्ने क्रम बढेको छ’ उनले भने ।
उनले फलफूल लगाएको ठाउँनजिकै सिंघिया खोला पर्छ । त्यो खोलाको किनारामा बाख्रापालन गर्नेले अनुदान ल्याएर काम गरेको देख्न सकिन्छ । त्यस्तै ग्रामथान–१ मै अर्को एउटा कृषि फर्म छ । त्यस फर्मले पनि अनुदान लिएर काम गरेको छ । तर त्यो फर्मले अनुदान रकम सही कार्यमा नलगाएको स्थानीय वीरमान माझी बताउँछन् ।
यस वर्ष उनको बारीमा चिनियाँ कागती र सुन कागती राम्रै फल्यो । तर बिक्री नभएर उनी हैरान छन् । बजारमा कागतीको माग न्यून छ । बजारमा ठेला, रिक्सा, कार्गोजस्ता सवारी साधनमा सय रूपैयाँ पोका भनेर कागती बेच्नेहरू प्रशस्त भेटिन्छन् । त्यही भएर पनि उनको बारीको कागती बिक्री हुन मुस्किल भएको हो ।
कस्ता मेवा रोप्नु उपयुक्त ?
देवीभक्तले पनि कृषि पेसामा लगानी गरेको पाँच वर्ष भयो । उनले ६ लाख रूपैयाँ लगानी गरेर कागती र मेवा खेती सुरू गरेका हुन् । उनको अनुभवमा कागती खेतीभन्दा मेवा खेतीबाट बढी फाइदा लिन सकिन्छ ।
कागतीको विरूवा रोपेको तीन वर्षमा मात्र उत्पादित फसल बेच्न सकिन्छ । तर मेवा रोपको ६ महिनामा बेचेर आम्दानी लिन सकिन्छ ।
उनले १ लाख २० हजार रूपैयाँको लगानीमा ४ सय ८० वटा मेवाको बोट रोपेका थिए । त्यसमध्ये २ सय बोटमात्र बाँचे । त्यही २ सयवटा बोटबाट उनले १ लाख २० हजार रूपैयाँ आम्दानी गरेका थिए । २ सय ८० बोट मर्दा पनि उनले बचेका मेवाबाट आम्दानी गर्न सफल भए ।
गत वर्षको कात्तिकमा खेतीमा सिंगिया खोलाको बाढी पसेर मेवा खेतीमा क्षति पुर्यायो । सबै मेवाका बोट बाँचेको भए पहिलो वर्ष नै उनलाई डेढ लाख रूपैयाँभन्दा बढी नाफा हुने उनको अनुमान थियो । तर त्यसो हुन सकेन । मेवा फलेपछि बजार पनि उनी आफैं लान्छन् ।
भारतीय र नेपाली कुन मेवा स्वस्थकर ?
भारती मेवा विषादियुक्त भएको कारण पनि नेपालमा उत्पादित मेवाको माग बढेको उनको भनाइ छ । ‘किनकि हामी किटनाशक विषादिको सट्टा जैविक विषादिको प्रयोग गर्दछौं’ उनले भने ।
‘त्यस्तै अर्गानिक मल प्रयोग हुन्छ । मेवा अर्गानिक भएर पनि होला टिपेको दुई हप्तासम्म बिग्रिदैन’, उनले भने, ‘अझ चिसो ठाउँमा राख्ने हो भने त महिना दिनसम्म रहन्छ ।’ उनले रेडलेडी र ग्रीनबेरी गरी दुई जातको मेवा लगाएका छन् । ‘रेडलेडीभन्दा ग्रीनबेरी मीठो(गुलियो)र स्वादिलो हुन्छ। आकारमा ग्रीनबेरी लाम्चो र रेडलेडी डल्लो हुन्छ’, उनले भने ।
कुन जातको कागती राम्रो ?
देवीभक्तले खेतमा कागतीका बिरुवा पनि रोपका छन् । शुरूको चरणमा उनले ३ लाख ८० हजार रूपैयाँको लगानीमा कागतीका बिरुवा रोपेका थिए । उनले कागतीका बिरुवा २०७४ सालमै रोपका हुन् । उनले बारीमा चिनियाँ र सुन जातका १ सय ५० वटा कागतीका बिरुवा रोपिका थिए। ती कागतीका बोटहरूको उत्पादनबाट गत वर्ष उनले २ लाख रूपैयाँ कमाइ गरे । तर लागत रकम उठ्न सकेको छैन ।
यो वर्ष पनि त्यस्तै दुई लाख रूपैयाँ जति आम्दानी हुने उनले अनुमान गरेका छन् । ‘रोपेजति सबै कागतीका बिरुवा बाँचेनन्’ उनले भने बाढी पसेर बिरुवा मरेका हुन् । कतिपय कागतीका बिरुवामा रोग पनि लाग्यो ।’ चिनियाँ कागती सुन कागतीको तुलनामा झण्डै पाँचगुना ठूलो हुन्छ । यसको बोक्रो ज्यादै पातलो छ । त्यसैले रस पनि ज्यादा आउँछ उनको अनुभव छ ।
जैविक विषादिको प्रयोग
रोगबाट बचाउन उनले प्राविधिकको सहयोगमा जैविक विषादि पनि बनाएका छन् । उनले मही, ताँमा र चिनी घोलेर जैविक विषादि बनाउने गरेका रहेछन् । मही, ताँमा र चिनीको निश्चित मात्रा मिलाएर जैविक विषादि बनाइदो रहेछ । तर यो विषादि धेरैजसो मेवाको बोटमा प्रयोग गरिँदो रहेछ ।
कागतीको बोटमा रोग लागेमा नीम, गहुत, सरफ आदिबाट पनि विषादि बनाएर कागतीको बोटमा स्प्रे गरिँदो रहेछ । मेवालाई क्यालसियमको मात्रा आवश्यक परेमा गाईको दूध पानीमा मिसाएर बोटमा स्प्रे गर्ने गरेको उनले बताए । हुन त उनी एक्लै त्यत्रो काम गर्न सक्दैनन् ।
उनलाई सालो गोविन्द पराजुलीले कागती र मेवा खेती गोडमेल र संरक्षण गर्न सघाएका छन् । सालोको घरसँग मेवा, कागती खेती जोडिएको छ । त्यसैले देवीभक्तलाई खेतीमा काम गर्न सहज भएको हो ।
मल पनि जैविक
देवीभक्तले आफ्नो फलफूल खेतीमा जैविक मलको प्रयोग गर्दछन् । उनको खेतीछेउमै एउटा मल कारखाना छ । त्यही कारखानाले जैविक मल उत्पादन गर्दछ । उनले त्यही मल आफ्नो फलफूल खेतीमा लगाउने गरेका छन् । उनले आफैं पनि जैविक झोल मल बनाएका छन् ।
उनको खेतीसम्म पुग्न पहिला त विराटनगरबाट सिधै जाने बाटो पनि थिएन । मिलन चोक, लखन्तरी हुँदै घुमेर खेतीमा जानुपर्ने अप्ठेरो अवस्था थियो । उनको खेतीको पश्चिम सिंगिखोला र दक्षिणमा ठूलो नहर छ । त्यो अप्ठ्यारो अवस्थाबाट पार पाउन उनी, उनका दाजु बाबुराम, भाइ ढुण्डिराज, दीपिन्द्र र ज्वाईँ नारायण धमला मिलेर कच्ची पुल बनाएका छन् । ठूलो कृषिनहर र भत्किएको छ ।
त्यही नहरमा उनीहरूले दुईवटा अस्थायी पुल बनाएका छन् । ती पुल दुई अलगअलग ठाउँमा बाँस, फलाम र काठले बनेका छन् । ती पुल बनाउन उनीहरूलाई वडा कार्यालयले पनि केही आर्थिक सहयोग गरेको छ । बाँकी रकम उनीहरूले आ–आफूले उठाए । खेतीसम्म जान खेतको बीचबाटै ग्राभेल बाटो पनि बनाए । अझै पनि खेतसम्म पुग्न पक्की पुल बाटोको आवश्यकता छ उनीहरूलाई । जसले गर्दा उत्पादित वस्तु सवारी साधनबाट ढुवानी गर्न सहज हुन्छ ।
प्रकोपमा पाएनन् राहत
कृषि तथा फलफूल खेती गरेकै छेउमा बाबुराम ढकाल र ढुण्डिराज ढकालले मल बनाउने कारखाना खोलेका छन् भने दीपिन्द्र ढकाल र नारायण धमलाले मिलेर सब्जी र मेवा खेती गरेका छन् । उनीहरूले डेढ विघाह जमिनमा करिब १ हजार पाँच सयवटा मेवाका बोट रोपका छन् । तर गत वर्षको बाढीले क्षति पुर्याएका कारण आशा गरे अनुरुपको फाइदा भने हुन सकेन ।
उनीहरूले पाँच लाख रूपैयाँको मेवा र बाँकी सब्जी खेतीको लागि लगानी गरेका थिए । हालसम्म मेवा र सब्जी बेचेर थोरै मात्र आम्दानी गरेका छन् । १ हजार ४ सय मेवा रोपेको भए पनि बाढीले ८ सय बिरूवामा क्षति पुर्यायो ।
गाउँपालिका र जिल्लाको दैविप्रकोप तथा विपद् जोखिम व्यवस्थापन समितिमा निवेदन दिएका थिए । तर हालसम्म पनि क्षतिपूर्ति नपाएको नारायणको गुनासो छ ।
अनुदान र ऋण पहुँवालाको हातमा
यसरी आफ्नै लगानीमा कृषि व्यवसाय चलाउन खोज्ने अर्थात् इच्छाशक्ति भएका व्यक्तिलाई सरकारको सम्बन्धित निकायले सहयोग गर्नुपर्ने हो । तर त्यसो हुन सकेको छैन । सरकारी अनुदान ल्याउँला र व्यवसायमा लगानी गरौंला भनेर योजना बनाएका माथि उल्लिखित पाँचै जनाको प्रयास सफल हुन सकेको छैन ।
उनीहरूले सरकारी नीतिअनुसार, बैंकहरूले कृषि क्षेत्रमा लगानी गर्दछन् भन्ने विश्वास गरेर कृषिमा आफ्नो निजी रकम लगानी गरेका छन् । तर अहिलेसम्म कृषि अनुदान र सहुलियतपूर्ण ऋण प्राप्त गर्न सकेका छैनन् । त्यसो हुनुको कारणबारे प्रश्न गर्दा दीपिन्द्र भन्छन् ‘अनुदान लिन त नेता नै हुनु पर्दोरहेछ । हामीले कृषि अनुदान पाउन विभिन्न बैंकहरू धायौं तर अहिलेसम्म पाउन सकिएको छैन । बैंकका आधिकारिक व्यक्तिहरू पैसा छैन, ऋण दिनलाई भन्छन् ।’
के छ योजना ?
‘कृषि कर्ममा नलाग्नु लागि सकेपछि यसको विकल्प रहेन’ भन्छन् देवीभक्त र नारायण । उनीहरू दुबैमा आधुनिक कृषि फारम चलाउने चाहना अझै पनि जीवितै छ । सरकारले अनुदान र बैंकले सहुलियतको कृषि कर्जा दिएदेखि ठूलो र जग्गा भाडामा लिएर भएपनि कृषि उद्यम गर्ने आँट र हिम्मत मरेको छैन। अहिलेसम्म गरेको कृषिकर्मबाट उनीहरूमा अनुभव प्रशस्तै प्राप्त भयो ।
कृषि फसल उत्पादनबाट मात्र उनीहरूमा फाइदा भएन । त्यसैले उनीहरू कृषिकर्मलाई नै नयाँ सिराबाट अघि बढाउन खोजेको बताउँछन्चा । उत्पादनसँगै तरकारी र फलफूलको बेर्ना उत्पादन गरेर बिक्री वितरण गर्ने उनीहरुको योजना छ ।
यही योजनाअन्तर्गत देवीभक्तले कागतीको बेर्ना तयार गर्दैछन् भने नारायणले मेवा र तरकारीको । यसरी उत्पादन गरिएका फलफूल र तरकारीको बेर्ना उनीहरू व्यावसायिक रूपमा किसानलाई नै बजारभन्दा सस्तो मूल्यमा बिक्री वितरण गर्न लागेका हुन् । यसरी बिक्रवितरण गरिएका बेर्नाबाट धेरै लाभान्वित हुने अपेक्षा छ ।
उनीहरूले उत्पादन गर्ने बेर्ना किटनासक विषादिरहित र हत्तपत्त रोगले आक्रमण नगर्ने प्रविधिको प्रयोग अपनाइने कृषक देवीभक्त बताउँछन् । त्यसका लागि उनीहरूले कृषि विशेषज्ञसँग पनि परामर्श लिइसकेका छन् । कृषि ज्ञानकुञ्जका प्रतिनिधिहरूसँग पनि सरसल्लाह गरेको र त्यसकै आधारमा अघि बढ्ने उनीहरुको भनाइ छ ।