पोलिसी त्याग्ने बीमित घटे, भदौमा संख्या र रकम दुवै घट्यो



काठमाडौं । जीवन बीमा गरेर अवधि नपुग्दै उक्त पोलिसी बीचमै रोक्नु सरेण्डर गर्नु हो । बीमितहरूले निश्चित वर्षको लागि भनेर जीवन बीमालेख खरिद गर्ने तर समय नपुगी उक्त पोलिसी त्याग्ने क्रम बढ्दो क्रममा थियो ।

बीमा कम्पनीहरूमा बीमालेख सरेण्डर गर्ने दर बढेपछि बीमितले बीमालेख खरिद गरेको मितिले ३ वर्ष पूरा भएपछि मात्रै बीमालेख सरेण्डर गर्न पाउने व्यवस्था गरेको थियो ।

बीमा समितिकाअनुसार गत आर्थिक वर्ष २०७८/७९ मा १२ अर्ब १८ करोड ८ लाख रूपैयाँ बराबरका ८१ हजार ८६० बीमालेख समर्पण (त्याग) भएका थिए ।

जुन अघिल्लो आवको सोही अवधिको तुलनामा समर्पण संख्या २९.२८ प्रतिशतले धेरै हो भने समर्पण रकम २३.२७ प्रतिशतले बढी थियो ।

अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा ९ अर्ब ८८ करोड १४ लाख ९४ हजार रूपैयाँ बराबरका ६३ हजार ३३१ वटा पोलिसी त्याग भएका थिए ।

चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउन महिनाको तथ्यांकले पनि पोलिसी त्याग्नेको संख्या बढ्दै गएको देखाएको थियो।

एक महिना अर्थात साउन महिनामा एक अर्ब ५१ करोड २७ लाख ८५ हजार रूपैयाँ बराबरका ८ हजार ४२२ वटा पोलिसी त्याग भएका थिए ।

तर, पछिल्लो तथ्यांकअनुसार भने बीमितहरूले पोलिसी त्याग्ने क्रममा सुधार देखिएको हो ।

बीमा समितिले उपलब्ध गराएको तथ्यांकअनुसार साउन महिनाको तुलनामा भदौमा पोलिसी त्याग्ने क्रममा सुधार देखिएको छ ।
साउन महिनाको तुलनामा भदौ महिनामा पोलिसी सरेण्डर गर्नेको संख्या र रकम दुवै घटेको हो ।

बीमा समितिले उपलब्ध गराएको तथ्यांकअनुसार भदौ महिनामा १ अर्ब १४ करोड ८६ लाख ७२ हजार रूपैयाँका ८ हजार ५२ वटा पोलिसी त्याग भएका छन् ।

साउन महिनाको तुलनामा पोलिसी त्याग्नेको संख्या ४.३९ प्रतिशतले घटेको हो । यस्तै, पोलिसी समर्पण रकम पनि २४.०७ प्रतिशतले कमी हो ।

दुई महिनामा दुई अर्ब ६६ करोडका साढे १६ हजार बीमा पोलिसी त्याग, कुन कम्पनीको कति ?

चालु आर्थिक वर्षको २ महिनामा जीवन बीमा कम्पनीहरूमा २ अर्ब ६६ करोड रूपैयाँका पोलिसी त्याग भएका छन् ।
सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरूमा चालु आवको दुई महिना अर्थात साउन र भदौमा २ अर्ब ६६ करोड १४ लाख ५७ हजार रूपैयाँ बराबरका १६ हजार ४७४ वटा पोलिसी त्याग भएका हुन् ।

बीमा समितिले उपलब्ध गराएको तथ्यांकअनुसार भदौ महिनामा १ अर्ब १४ करोड ८६ लाख ७२ हजार रूपैयाँका ८ हजार ५२ वटा पोलिसी त्याग भएका छन् । यस्तै, साउन महिनामा एक अर्ब ५१ करोड २७ लाख ८५ हजार रूपैयाँ बराबरका ८ हजार ४२२ वटा पोलिसी त्याग भएका थिए ।

लाइफ इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्सका बीमितिले ठुलो संख्यामा आफ्नो पोलिसी त्याग गरेको तथ्यांकले देखाउँछ । कुल सरेण्डर पोलिसीमध्ये नेपाल लाइफको ३९.९४ प्रतिशत सरेण्डर भएको बीमा समितिको तथ्यांक छ । भदौ र साउन महिनामा नेपाल लाइफका १ अर्ब ५ करोड ५० लाख ९० हजार रूपैयाँका ६ हजार ५८० वटा बीमालेख सरेण्डर भएका छन् ।
जुन कुल समर्पण मूल्यको ३९.६४ प्रतिशत हुन आउँछ ।

भदौ र साउन महिनामा लाइफ इन्स्यारेन्स कर्पोरेसन(एलआइसी नेपाल) मा ६१ करोड ४७ लाख ५५ हजार रूपैयाँका ३ हजार ४ वटा बीमालेख त्याग भएका छन् । जुन कुल समर्पण संख्याको १८.२३ प्रतिशत र समर्पण मूल्यको २३.१० प्रतिशत हो ।

राष्ट्रिय बीमा संस्थानमा ११ करोड ९० लाख ४८ हजार रूपैयाँ बराबरका १ हजार १६१ वटा बीमालेख सरेण्डर भएका छन् ।
सबै भन्दा कम पोलिसी सरेण्डर हुनेमा महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेको छ । यस अवधिमा महालक्ष्मी लाइफको १ करोड १ लाख रूपैयाँ बराबरका ४९ वटा पोलिसी सरेण्डर भएका हुन् । यो कुल सरेन्डर पोलिसीको ०.३० प्रतिशत मात्रै हो । भने कुल सरेण्डर रकमको ०.३८ प्रतिशत मात्रै हो ।

बीमितहरूले एशियन लाइफबाट १ हजार ३४३ वटा, नेशनल लाइफबाट १ हजार ४८९ वटा, मेट लाइफबाट ७४१ वटा, प्राइम लाइफबाट ११७ वटा, सूर्या लाइफबाट ४१३ वटा बीमालेख त्याग गरेका छन् ।

यस्तै, आईएमई लाइफबाट ७७ वटा पोलिसी त्याग भएका छन् । यूनियन लाइफबाट १ करोड ७ लाख रूपैयाँका ८४ वटा, ज्योति लाइफका १ करोड ५४ लाख रूपैयाँका १२७ वटा, सन नेपाल लाइफका ६ लाख रूपैयाँ बराबरका ५२ वटा, रिलायन्स लाइफका १ करोड ६ लाख रूपैयाँका १२१ वटा, रिलायबल नेपाल लाइफका १ करोड ४३ लाख रूपैयाँ बराबरका २९९ वटा पोलिसी त्याग भएको बीमा समितिको तथ्यांक छ ।

यस्तै, सिटिजन लाइफका १ करोड ४ लाख रूपैयाँ बराबरका १४८ वटा, सानिमा लाइफका ६६ लाख १२ हजार रूपैयाँ बराबरका ५५ वटा, प्रभु लाइफको १ करोड ६० लाख रूपैयाँ बराबरका ८६ वटा बीमालेख त्याग भएका छन् ।

समितिले बीमालेख खरिद गरेको १ वर्षमै पोलिसी सरेण्डर गर्न सक्ने व्यवस्थालाई कडाई गर्दै ३ वर्ष पुर्याएको छ ।

‘बीमकले बीमालेखअन्तर्गत पूरा ३ वर्षको बीमाशुल्क प्राप्त भई बीमा प्रारम्भ मितिबाट ३ वर्ष पूरा भएपश्चात तथा एकल बीमाशुल्क भुक्तानी गर्ने बीमालेखको हकमा समेत बीमा प्रारम्भ मितिबाट ३ वर्ष पूरा भएपश्चात बीमालेख समर्पण गर्न तथा बीमालेख धितो राखी ऋण प्रदान गर्न सक्नेछ’ समितिद्वारा जारी जीवन बीमालेखसम्बन्धी निर्देशिका, २०७८मा उल्लेख छ ।
उक्त निर्देशिकाले बीमा पोलिसी समर्पण मूल्य समेत निर्धारण गरेको छ ।

बीमितले बीमा पोलिसी सरेण्डर गर्दा भुक्तानी भएको कुल बीमाशुल्कको अधिकतम ९० प्रतिशतसम्म भुक्तानी हुने व्यवस्था छ  । साथै, सो अवधिसम्ममा आर्जित बोनस रकम समेत जोडिने छ ।

बीमालेख खरिद गर्नुपूर्व आफुले खरिद गर्ने बीमा योजनाका बारेमा राम्रोसँग नबुझ्दा बीमितलाई आफ्नो बीमालेखलाई निरन्तरता दिन नसक्ने अवश्था सृजना हुने विज्ञहरू बताउँछन् ।

उनीहरूका अनुसार बीमितले बीमालेखलाई निरन्तरता दिन नसक्नुको कारण बीमितलाई आर्थिक संकट पनि हो ।

आवश्यकताअनुसार ग्राहकले यो पोलिसी मेरो लागि सुहाँउदो र यो मेरो आवश्यकता हो भनेर पोलिसी किन्ने वातावरण सृजना नभएसम्ममा पोलिसी बीचमै बन्द हुने समस्या चलिरहने बीमकहरू बताउँछन् ।

बीमितलाई बुझाएर बिक्री भएको पोलिसी लामो समयसम्म अर्थात तोकिएको अवधिसम्म चलिरहने उनीहरूको बुझाइ छ ।


क्लिकमान्डु