होटल क्षेत्रमा बढ्दै विदेशी लगानी, एकै वर्ष ४५ होटल दर्ता



काठमाडौं । नेपालमा भित्रिने वैदेशिक लगानीमध्ये सबैभन्दा बढी होटल क्षेत्रमा देखिएको छ ।

हरेक वर्ष खर्बौ रुपैयाँ वैदेशिक लगानी भित्रिँदै आएको छ । वार्षिक खर्बौ रुपैयाँको लगानी प्रतिबद्धता हुँदा सबैभन्दा बढी होटलमा देखिएको छ । पछिल्लो समय नेपालमा होटल दर्ता हुने क्रम पनि बढेको छ ।

आर्थिक वर्ष २०७८/७९ मा दर्ता भएको उद्योगको तथ्याङ्कअनुसार देशभर ४५ वटा होटल दर्ता हुँदा अधिकांश विदेशी लगानीका रहेका छन् । गत वर्ष स्वदेशी तथा विदेशी लगानीमा ४५ वटा उद्योग दर्ता भएकामध्ये २६ वटा विदेशी लगानीकै छन् ।

गत वर्ष विभिन्न देशबाट विभिन्न क्षेत्रमा करिब ६० वटा उद्योगको लागि लगानी प्रतिबद्धता आएका थिए । त्यसमध्ये अधिकांश होटल क्षेत्रमा लगानी रहेको उद्योग विभागको तथ्याङ्कले देखाएको छ ।

गत वर्ष देशभर ४ अर्ब ३२ करोड २५ लाख रुपैयाँको कुल पुुँजीसहित २६ वटा विदेशी लगानीको होटल दर्ता गरेका छन् । उक्त उद्योगमध्ये स्वदेशी तथा विदेशी लगानीमा ४ वटा होटल दर्ता गरेका छन् ।

विभागअनुसार गत वर्ष ब्ल्याक बर्ड रेष्टुरेन्ट लाउन्ज ५० प्रतिशत स्वदेशी र ५० प्रतिशत विदेशी लगानी, मुस्ताङ भिलेज १६.६७ प्रतिशत स्वदेशी र ८३.३३ प्रतिशत विदेशी, होम रेष्टुरेन्ट एण्ड बार २० प्रतिशत स्थानीय र ८० प्रतिशत विदेशी र रारा होल्डिङ २५ प्रतिशत स्वदेशी र ७५ प्रतिशत विदेशी लगानी गर्नेगरी दर्ता भएका छन् । त्यस्तै, अन्य २२ वटा होटल पूर्ण विदेशी लगानीमा सञ्चालन हुन दर्ता भएको विभागको भनाइ छ ।

गत वर्ष झाङ युवेङ्ग होटल एण्ड रेष्टुरेन्ट, होङ्ग मेई होटल एण्ड रेष्टुरेन्ट, यु हुईफेङ्ग होटल एण्ड रेष्टुरेन्ट, जुन लि होटल एण्ड रेष्टुरेन्ट, होटल जीन प्रालि, रुई हान होटल एण्ड रेष्टुरेन्ट, एमआई होटल एण्ड रेष्टुरेन्ट, वानयु होटल एण्ड रेष्टुरेन्ट, वीकाई होटल एण्ड रेष्टुरेन्ट र स्योङदी होटल गरी १० वटा होटलमा कुल पूँजी २५ करोड रुपैयाँ लगानीसहित दर्ता भएका छन् । त्यस्तै, अन्य १६ वटा होटल कुल पुँजी ५ करोडदेखि ३० करोड रुपैयाँ लगानीमा दर्ता भएका छन् ।

२३ अर्ब लगानीमा ४५ होटल दर्ता

गत वर्ष देशभर २३ अर्ब २७ करोड ५२ लाख ५२ हजार रुपैयाँ पुँजीसहित स्वदेशी तथा विदेशी लगानीको ४५ वटा होटल तथा रेष्टुरेन्ट दर्ता गरेका छन् ।

विभागअनुसार गत एकै वर्ष ४ अर्ब ३२ करोड २५ लाख रुपैयाँको विदेशी र १८ अर्ब ९५ करोड २७ लाख ५२ हजार रुपैयाँ कुल पूँँजीसहित ४५ वटा होटल तथा रेष्टुरेन्ट दर्ता भएका छन् । जसमा २६ वटा विदेशी र १९ वटा स्वदेशी लगानीमा विभिन्न क्षेत्रमा होटल सञ्चालनमा ल्याउने भएको छ ।

विदेशी लगानीमा दर्ता भएको उद्योगको संख्या बढी भएपनि स्वदेशी लगानीमा दर्ता भएको उद्योग ठूला स्केलका छन् । गत वर्ष १८ अर्ब ९५ करोड रुपैयाँ कुल पुँजीको १९ वटा होटल दर्ता गरेका छन् । जबकी विदेशी लगानीको २६ वटा होटल दर्ता हुँदा कुल पुुँजी ४ अर्ब ३२ करोड रुपैयाँ मात्रै छ ।

गत वर्ष सूर्य नेपालले ६ अर्ब कुल पुुँजीसहित होटल तथा रेष्टुरेन्ट सञ्चालनमा ल्याउने भएको छ । कम्पनीले बुढानिलकण्ठमा १९० बेडको सुविधासहित ४६५ जना सिटको रेष्टुरेन्ट सञ्चालनमा ल्याउने गरी उद्योग दर्ता गरेको छ । त्यस्तै, २ अर्ब ५० करोड रुपैयाँ कुल पुँजीसहित गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्सले २५० बेडसहित ४०० सिटको होटल तथा रेष्टुरेन्ट सञ्चालनमा ल्याउने भएको छ ।

त्यसैगरी, १ अर्ब ६५ करोड ९६ लाख कुल पुुँजीको द मेट्रोपोलिटन होटल, १ अर्ब ५० करोड लगानीमा होटल सफ्रोन सीके, १ अर्ब ३० करोड लगानीमा नेपाल इन्टरनेशनल हस्पिटालिटी र स्वार्णिम बुटिक होटल र १ अर्ब लगानीमा ग्रीन भ्यू सञ्चालनमा ल्याउने भएको छ । साथै, स्वदेशी लगानीमा १२ करोडदेखि ७० करोड रुपैयाँ कुल पूँजीको होटल तथा रेष्टुरेन्ट दर्ता गरेका छन् ।

तीन महिनामा साढे १० अर्ब कुल पुँजीसहित १५ होटल दर्ता

चालु आर्थिक वर्षको तीन महिनामा पनि होटल सञ्चालनका लागि बढ्दो आकर्षण देखिएको छ । साउन, भदौ र असोजसम्ममा उद्योग विभागमा १० अर्ब ४१ करोड ९७ लाख ७२ हजार रुपैयाँ कुल पुुँजीसहित १५ वटा होटल तथा रेष्टुरेन्ट दर्ता गरेका छन् । सो अवधिमा १ अर्ब बढी लगानीमा ३ वटा होटल दर्ता भएका छन् ।

विभाग दर्ता भएको उद्योगमध्ये २ अर्ब ५१ करोड १० लाख रुपैयाँ लगानीमा आयुषमान होटल, २ अर्ब ४० करोड लगानीमा बुुढानिलकण्ठ हेरिटेज र १ अर्ब ६९ करोड ७ लाख ७२ हजार लगानीमा होटल इस्टर्न नेपाल दर्ता भएको छ । त्यस्तै, दुई महिनाको अवधिमा ५ करोडदेखि ६० करोड रुपैयाँसम्म कुल पुुँजीसहित १२ वटा होटल तथा रेष्टुरेन्ट दर्ता भएका छन् ।


क्लिकमान्डु