झिलिमिली बत्ती गत वर्षभन्दा १५ प्रतिशत महंगो, आयात घट्ने



काठमाडौं । गत वर्षको तुलनामा यो वर्ष तिहारमा प्रयोग हुने झिलिमिली बत्तिको आयात घट्ने भएको छ ।

नेपाल विद्युतीय व्यावसायी महासंघकाअनुसार यो वर्ष विगतको तुलनामा आयातमा केही कमि आउने र गत वर्षको तुलनामा विद्युतीय झिलिमिली बत्तिको मूल्य बढ्ने देखिएको छ ।

तिहार नजिकिँदै जाँदा बजारमा तिहार केन्द्रित वस्तुहरूको खरिदबिक्री बढेको छ । झिलिमिली बत्ती र फूलहरुको पर्वको रुपमा मनाइने तिहारका लागि बजारमा बत्ती, भाईमसाला, फूलजस्ता वस्तुहरूहरुको बिक्री तथा खरिद सुरु भएको छ ।

अरु समयमाभन्दा तिहारमा बढि बिक्री हुने झिलिमिली बत्तिको बिक्री पनि बजारमा सुरु भएको महासंघले जनाएको छ । महासंघका महासचिव कमल पोखरेलकाअनुसार यो वर्षका लागि बजारमा तिहारकेन्द्रित झिलिमिली बत्तिहरुको बिक्री तथा खरिद सुरु भएको छ ।

सामान्य अवस्थामा वार्षिक १ अर्बभन्दा धेरैको विद्युतीय बत्ती नेपालमा आयात हुने गर्छ । जसमध्ये आयात हुने झिलिमिली बत्तिको ८० प्रतिशत खपत तिहारको समयमा हुने गर्छ भने बाँकी २० प्रतिशत आयातित बत्तिको खपत क्रिसमस, नयाँ वर्ष तथा विवाहभोजजस्ता कार्यक्रमहरुमा खपत हुने गर्छ ।

विगतको तुलनामा कोरोना महामारीपछि निरन्तर यस्ता झिलिमिली बत्तिको आयात घटिरहेको छ । २०७६ मा तिहारको समयमा नेपालमा करिब ६० करोड बराबरको झिलिमिली बत्ती आयात भएको थियो । २०७७ मा भने कोरोना महामारीका कारण नेपालमा २५ करोड बराबरको मात्रै झिलिमिली बत्ती आयात भएको थियो ।

२०७८ मा कोरोना महामारी केही मत्थर भएतापनि आयात सामान्य अवस्थामाभन्दा निकै कम थियो । गत वर्ष नेपालमा २५ देखि ३५ प्रतिशत मात्रै झिलिमिली बत्ति आयात भएको थियो । गत वर्ष करिब ४० करोडको विद्युतीय बत्ती आयात भएको थियो, जसमध्ये ३० करोड रुपैयाँ बराबरको व्यापार गत वर्षको तिहारको समयमा भएको थियो ।

महासंघका महासचिव पोखरेलकाअनुसार झिलिमिली बत्तिको आयातका लागि नेपालबाट व्यावसायीहरुले अर्डर दिनुपर्ने समयमा चीनका शहरहरुमा लकडाउनको अवस्था थियो । जसकारण समयमा नै अर्डर दिएतापनि लोड भएका सामान नेपालमा तिहारको समयमा आइपुगेका छैनन् । उनी भन्छन्, ‘कोभिडको असर अहिलेसम्म देखिएको छ । झिलीमिली बत्तिको चिनबाट आउने हो । नेपाल व्यवसायीहरुले अर्डर दिने हो । चीनबाट आयातका लागि नेपाली व्यावसायीहरुले अर्डर दिएतापनि जुन बेला लोड हुनुपर्ने थियो, त्यत्ति बेला चीनका शहरहरुमा लकडाउन भयो । जसले गर्दा अहिले धेरै सामान आइपुगेको छैन् ।’

सँगै तातोपानीको नाका बन्द रहनु र रसुवागढीको नाका पनि सहजतापूर्वक सञ्चालनमा आउन नसक्नुले यो वर्षको झिलिमिली बत्तिको आयातलाई प्रभाव पर्ने उनी बताउँछन् । त्यसबाहेक प्रतितपत्र (एलसी) खोल्ने समयमा शतप्रतिशत रकम राख्नुपर्ने हुँदा यो वर्ष धेरै सामान आयात गर्न नसकिएको उनी बताउँछन् । पोखरेलले भने, ‘पहिले सामान सिधै आयात गर्न सकिन्थ्यो । तर, अहिले राष्ट्र बैंकले एलसी खोल्न शतप्रतिशत रकम राख्नुपर्ने भनेपछि सामान कम अर्डर भएको छ ।’

पोखरेलकाअनुसार यी सबै समस्याका बीच नेपाली मुद्रासँगको तुलनामा अमेरिकी डलरको मूल्य बढ्नुले पनि आयात प्रभावित भएको छ । उनी भन्छन्, ‘असोज मशान्तसम्मको तथ्यांकबाट यकिनका साथ यति मात्रामा कम आयात भयो भन्न सक्छौं । तर, यो वर्ष विगतमा भन्दा निकै कम अर्डर भएको छ ।’

गत वर्षभन्दा महंगियो झिलिमिली बत्ति

पोखरेलकाअनुसार गत वर्षभन्दा यो वर्ष झिलिमिली बत्तिको मूल्य बढ्ने देखिएको छ । उनका अनुसार यो वर्ष नेपाली बजारमा झिलिमिली बत्तिको मूल्य १२ देखि १५ प्रतिशतसम्म बढ्ने देखिएको छ । कोरोना महामारीको प्रभाव रहिरहनु, अन्तराष्ट्रिय बजारमा भइरहेको मूल्यबृद्धि, अमेरिकी डलर महंगो हुनु, चीनबाट आयात हुन नाकाहरु सहजताका साथ सञ्चालन नहुनुजस्ता कारणले मूल्यबृद्धि भएको उनी बताउँछन् ।

‘यो वर्ष सामान नै कम आयात हुने देखिएको छ,’ पोखरेलले भने, ‘मुख्य गरि चीनबाट आयात गरिन्थ्यो । तर, लकडाउन र भन्सार नाकामा समस्याले गर्दा पर्याप्त मात्रामा आयात भएको छैन् । सामान कम हुँदा यो वर्ष झिलिमिली बत्तिहरुको मूल्य बढ्ने देखिएको छ ।’

बजारमा तिहारलक्षित पर्याप्त झिलिमिली बत्तिको आयात हुन नसक्दा खुद्रा व्यापारीले पनि महंगो मूल्यमा बिक्री गर्नुपर्ने अवस्था सिर्जना भएकाले उपभोक्ताले यो वर्ष केही महंगो मूल्य तिनुपर्ने देखिएको छ ।

बजारमा तिहारलक्षित विभिन्न प्रकारका लाइट भित्रिने गर्दछ । हाल बजारमा सबैभन्दा धेरै एलईडी लाइट, एलईडी डिस्को लाइट, एलईडी फ्रेम लाइट, नेट झालर, दियो, स्ट्रप लाईट अत्याधिक बिक्री हुने गर्दछ । अहिले बजारमा यस्ता सामग्रीहरुको होलसेल तथा खुद्रा बिक्री पनि सुरु भइसकेको छ ।

२०७८ मा कोरोना महामारीभन्दा अघिको तुलनामा ३५ प्रतिशतसम्म झिलीमिली बत्तिहरुको मूल्य बढेको थियो । यो वर्ष झिलिमिली बत्तिहरुको मूल्य गत वर्षको भन्दा पनि महंगिएको छ । गत वर्षको तुलनामा यो वर्ष १२ देखि १५ प्रतिशतले मूल्य बढेको हो । पोखरेलले भने, ‘यो वर्ष गत वर्षभन्दा केही महंगो भएको छ । आयात गर्नमै समस्या हुँदा यस्तो मूल्यबृद्धि भएको हो ।’


क्लिकमान्डु