वैदेशिक रोजगार बीमाबाट संकलन हुने बीमाशुल्क २९ प्रतिशतले बढ्यो



काठमाडौं । जीवन बीमा कम्पनीहरूमा वैदेशिक रोजगार म्यादी जीवन बीमाबाट संकलन हुने बीमाशुल्क भदौ महिनामा बढेको छ ।

साउनमा भन्दा भदौ महिनामा वैदेशिक रोजगारीमा जाने नेपालीले गरेको बीमाबाट हुने बीमा शुल्क २९.०६ प्रतिशतले बढेको हो । चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउन महिनामा कम्पनीहरूले २४ करोड ५४ लाख ८५ हजार रूपैयाँ संकलन गरेका थिए । कम्पनीहरूले भदौ महिनामा ३१ करोड ६८ लाख रूपैयाँ संकलन गरेका हुन् । कम्पनीहरूले भदौ महिनामा ७८ हजार ६७ वटा बीमालेख जारी गरेका छन् । साउन महिनामा कम्पनीले ५९ लाख ६१२ वटा म्यादी बीमालेख जारी गरेका छन् ।

तथ्यांकअनुसार भदौ महिनामा सूर्या लाइफ इन्स्योरेन्सले ६ करोड ३५ लाख रूपैयाँ बीमाशुल्क संकलन गरेको छ । इन्स्योरेन्सले १६ हजार ८९ वटा बीमालेख जारी गरी उक्त रकम संकलन गरेको हो ।

भदौ महिनामा आइएमई लाइफले ९८ लाख रूपैयाँ, ज्योति लाइफले ३ करोड ४ लाख रूपैयाँ, सन नेपाल लाइफले १४ करोड रूपैयाँ र रिलायबल नेपाल लाइफले २ करोड १२ लाख रूपैयाँ, सिटिजन लाइफले २ करोड ३१ लाख रूपैयाँ र सानिमा लाइफले २ करोड ८५ लाख रूपैयाँ संकलन गरेका छन् ।

बीमा समितिको तथ्यांक अनुसार साउन महिनामा वैदेशिक रोजगार बीमाबाट सन नेपाल लाइफले सबैभन्दा बढी १३ करोड ४ लाख ८३ हजार रूपैयाँ बीमाशुल्क संकलन गरेको थियो । यस्तै, ज्योति लाइफ इन्स्योरेन्सले ४ करोड ९४ लाख ७८ हजार रूपैयाँ, सूर्या लाइफले ४ करोड ४१ लाख ३५ हजार रूपैयाँ बीमाशुल्क संकलन गरेका थिए ।

सिटिजन लाइफ इन्स्योरेन्सले १ करोड ४४ लाख ९९ हजार रूपैयाँ र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले ६८ लाख ९० हजार रूपैयाँ संकलन गरेका थिए ।

तथ्यांकअनुसार सूर्या लाइफमा ११ हजार १५०, सन नेपाल लाइफमा ३१ हजार ६२९ वटा, रिलायबल नेपाल लाइफमा १ हजार ५७१ वटा, ज्योति लाइफमा ११ हजार ७९८ र सिटिजन लाइफमा ३ हजार ४६४ वटा बीमालेख जारी भएका थिए ।

यस्तै, कम्पनीहरूले उक्त बीमालेख जारी गरी भदौ महिनासम्ममा ५६ करोड २३ लाख रूपैयाँ संकलन गरेको समितिको तथ्यांकमा उल्लेख छ । बीमा समितिले म्यादी जीवन बीमामा अस्वस्थ प्रतिस्पर्धा भएको भन्दै पुल प्रणाली लागू गर्न निर्देशन दिएको थियो ।

जीवन बीमा व्यवसाय गर्ने जीवन बीमा कम्पनीहरूबाट प्राप्त कार्यविधि बोजिम वैदेशिक रोजगार म्यादी जीवन बीमालाई व्यवस्थित रूपमा संचालन गर्नका लागि पुल प्रणाली लागू भएको थियो ।

सोही व्यवस्था बमोजिम कम्पनीहरूको सहमतिअनुसार पुल प्रणालीमार्फत बीमालेख जारी हुँदै आएको थियो । बीमा कम्पनीहरूले २०७५ माघ १ गतेदेखि पुलमार्फत बैदेशिक रोजगार म्यादी जीवन बीमा जारी गर्दै आएका थिए ।

तर, बीमा समितिले यहि साउन १ गतेदेखि लागू हुने गरी ‘वैदेशिक रोजगार म्यादी जीवन बीमालेख पुल सम्बन्धी कार्यविधि’ खारेज गर्ने निर्णय गरेको थियो ।

समितिको उक्त निर्णयबमोजिम साउन महिनादेखि सबै बीमा कम्पनीहरूले वैदेशिक रोजगार बीमालेख जारी गर्न सक्नेछन् । सबै कम्पनीहरूले उक्त बीमालेख जारी गर्न सक्ने भएपनि ९ वटा कम्पनीले मात्रै बीमालेख जारी गरेको बीमा समितिले जनाएको छ ।

वैदेशिक रोजगार म्यादी जीवन बीमा अनिवार्य बीमा हो । कानूनमा पनि अनिवार्य बीमा गर्नुपर्ने व्यवस्था छ । वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम बैदेशिक रोजगारीमा जाने नेपालीहरूको अनिवार्य गर्नुपर्ने व्यवस्था छ ।


क्लिकमान्डु