घरको सुरक्षाका लागि घर बीमा आवश्यक, कस्ता जोखिमको रक्षावरण हुन्छ ?



काठमाडौं । आफ्नै घर सबैको सपना हो । त्यही सपना र चाहना पूरा गर्न मानिस दिनरात मिहिनेत गर्छन् ।

लाखौं, करोडौं रूपैयाँ खर्चेर आफ्नो सपनासमेत पूरा गर्छन् । तर, यति धेरै रकम खर्चेर बनाएको घरमा कुनै जोखिमबाट क्षति भएमा के गर्ने भन्ने तर्फ ध्यान भने थोरैले मात्रै दिन्छन् ।

नेपालमा हाल १९ निर्जीवन बीमा कम्पनीहरूले निर्जीवन बीमाको व्यवसाय गर्दै आएका छन् । ती कम्पनीहरूले घरको जोखिम बहन गर्नका लागि घरबीमालेख समेत बिक्री गर्दै आएका छन् ।

प्राकृतिक प्रकोप, भवितव्य, हुलदंगा, आगलागी आदि विविध विपत्तिबाट बच्ने भरपर्दो माध्यम नै बीमा हो । बीमाले शतप्रतिशत क्षतिपूर्ति दिन नसके पनि क्षतिको केही हिस्सा बहन गर्ने गर्छ ।

सम्पत्ति बीमा निर्देशिका, २०७५ को दफा ४ को अनुसूची ३ को घर बीमालेखअनुसार घरको बीमा गर्दा परिसरसहितको घर तथा घर परिसरभित्र रहेको सामान तथा सम्पत्तिको क्षतिविरूद्ध बीमाशुल्क भुक्तानी गरिन्छ ।

बीमा समितिद्धारा घरबीमालेखअनुसार घर भन्नाले स्थायी रूपले बसोबास गरिने गैर व्यवसायिक वा गैर व्यापारिक प्रयोजनको लागि निर्मित बीमितको बीमायोग्य हित रहेको आवासीय भवन वा अपार्टमेन्ट तथा त्यसमा रहेको चल अचल सम्पत्ति समेतलाई व्याख्या गरेको छ । यस्तै, घर शब्दले आवासीय प्रयोजनको लागि भाडामा दिईएको भवन वा अपार्टमेन्ट समेतलाई बुझाउँछ ।

घर बीमाका लागि प्रिमियम समेत थोरै रहेको समितिका कार्यकारी निर्देशक पौडेल बताउँछन् । उनकाअनुसार एक करोड रूपैयाँसम्मको घरको बीमा गर्दा चार हजार रूपैयाँ मात्रै बीमाशुल्क तिर्नुपर्छ ।

दश लाख रूपैयाँको लागतमा बन्ने घरको बीमा गर्दा भने वार्षिक चार सय रूपैयाँ मात्रै बीमाशुल्क लाग्ने समितिको भनाइ छ ।

सम्पत्ति बीमालेख एक वर्ष भन्दा लामो समयसम्मका लागि गर्न नसकिने व्यवस्था समितिद्धारा जारी निर्देशिकाले गरेको छ । साथै, भवन तथा घरको आंशिक बीमा पनि गर्न नपाईने व्यवस्था छ ।

बीमालेख जारी भएको ३५ दिनपछि मात्रै बीमालेखले जोखिमको बहन गर्ने व्यवस्था छ ।

बीमा गर्दा के फाइदा, कस्ता जोखिमको रक्षावरण हुन्छ ?

घर बीमालेखले अग्नीजन्य क्षति, हावाजन्य क्षति, पानीजन्य क्षति, भूमीजन्य क्षति, चट्याङ्जन्य क्षति, विस्फोटनजन्य, आकासीय सामग्रीजन्य क्षति, धक्का दिएर, छोएर, लडेर वा लागेर हुने क्षति, स्वजलन, हुलदंगा वा आतंकवादजन्य क्षति र अन्य क्षतिको रक्षावरण गर्छ ।

यस्तो अवश्थामा क्षतिपूर्ति पाइदैँन

बीमा गरेपनि सबै अवश्थामा क्षतिपूर्ति पाईदैन । समितिद्धारा जारी सम्पत्ति बीमा निर्देशिकाले दाबी जालसाजीपूर्ण भएमा वा दाबीको सिलसिलामा बीमित वा निजको तर्फबाट कार्य गर्ने व्यक्तिले झुट्टा वयान दिई कुनै अनुचित लाभ उठाउन खाजेमा वा बीमकले दाबी अस्वीकार गरेको ६ महिनाभित्र बीमा समिति समक्ष उजुरी नगरेमा वा बीमा ऐन, २०४९ बमोजिम बीमा समितिले बीमकको पक्षमा फैसला गरेको ३५ दिभित्र उच्च अदालतामा उजुरी नगरेमा दाबी वापतको क्षतिपूति नपाई व्यवस्था गरिदिएको छ ।

अतिरिक्त सुविधाअन्तर्गत दुर्घटना क्षति पाउने व्यवस्था

अतिरिक्त सुविधाअन्तर्गत दुर्घटना क्षति पाउने व्यवस्था समेत रहेको छ । सम्पत्ति बीमा निर्देशिका, २०७५ को दफा ४ को अनुसूची ३ को घर बीमालेखको उपदफा ४ को अतिरिक्त सुविधाको (ग) अन्तर्गत दुर्घटनासम्बन्धी व्यवस्था छ । जसअनुुसार बीमित वा निजको परिवारको बढीमा ५ जना सदस्यलाई घर परिसरभित्र बीमा गरिएको जोखिमस्वरूप भएको दुर्घटनाबाट देहायको क्षति भएको खण्डमा बीमकले देहायवमोजिमको क्षतिपूर्ति भुक्तानी गर्नेछ ।

जसअनुसार मृत्यु भएमा वा दुवै हात वा खुट्टा काटिई अलग भएमा वा दुवै आँखाको दृश्यशक्ति नफर्किने गरी पूर्ण रूपमा क्षति भएमा प्रतिव्यक्ति ५ लाख, एउटा हातको नाडी वा खुट्टाको गोलीगाँठो वा सोभन्दा माथिको भाग काटिई अलग भएमा प्रतिव्यक्ति प्रतिहात वा प्रतिखुट्टा २ लाख, हात वा खुट्टाको अन्य कुनै औंला काटिएमा प्रतिव्यक्ति प्रतिऔंला ५० हजार र अन्य अंगको क्षति भएमा चिकित्सकको सिफारिसअनुसार समानुपातिक हिसाबले हुन आउने रकम प्रदान गरिन्छ ।

यसैगरी चोरी, लुटपाट, डकैतीअन्तर्गत घर वा घर परिसरमा चोरी, लुटपाट वा डकैती भई वा सोको प्रयासस्वरूप भएको क्षतिको बीमकले क्षतिपूर्ति प्रदान गर्नेछ भन्ने व्यवस्था गरिएको छ ।


क्लिकमान्डु