कोरोनाले बढायो निर्माणाधीन तारे होटेलको लागत, ४६ प्रतिशतसम्म बढ्यो बजेट



काठमाडौं । सन् २०२० मा कोरोना महामारीको संकट नहुँदो हो त नक्सालस्थित शंकर ग्रुपले निर्माण गरिरहेको पाँच तारे होटल हिल्टन सञ्चालनमा आएको २ वर्ष पुगिसकेको हुन्थ्यो ।

तर, कोरोना महामारीका कारण सिर्जित लकडाउन होटल सञ्चालन हुने समय करिब ४ वर्ष पर धकलेको छ । त्यतिमात्रै होइन, यसबीच समय र कर्जाको ब्याजदर बढ्दा लागत पनि बढेको छ ।

शुरुवाती सयमा ६ अर्ब ६८ करोड ३० लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिए पनि अब त्यो रकम बढेर करिब ८ अर्ब रुपैयाँ पुगेको छ ।

शंकर ग्रुपका अनुसार ७५ः२५ को अनुपात अर्थात् कुल लागतमा ७५ प्रतिशत बैंक तथा वित्तीय संस्थाको कर्जा र २५ प्रतिशत इक्विटी रहने भनिएको उक्त होटल प्रोजेक्टमा अतिरिक्त ऋण र इक्विटीको भार पनि थपिएको छ ।

कम्पनीका अनुसार शुरुवाती प्रक्षेपणमा ८३ करोड ४० लाख रुपैयाँ ऋणमात्रै थपिएको छ । १७४ वटा रुम रहने हिल्टन होटलमा प्रतिरुम खर्च १ करोड रुपैयाँले बढेर ३ करोड ८० लाख रुपैयाँ पुगेको छ ।

होटल आगामी २०२३÷२४ देखि सञ्चालनमा ल्याउने गरी निर्माण भइरहेको कम्पनीले जानकारी दिएको छ । सन् २०२२ को अप्रिलसम्ममा होटल निर्माण ६१ प्रतिशत सम्पन्न भइसकेको छ ।

हिल्टन मात्रैको होइन, ठमेल चोकमा निर्माण भइरहेको बाराही होटलको लागत पनि करिब ३५ प्रतिशतले बढेको सञ्चालक विप्लव पौडेलले जानकारी दिए । पोखराको बाराही ग्रुपले पनि होटल निर्माण गरिरहेको छ ।

चार वर्षअघि ९० करोड रुपैयाँ लाग्ने अनुमान गरिए पनि विभिन्न कारणले होटल निर्माणमा ढिलाइ हुँदा लागत अहिले बढिरहेको छ ।

‘कोरोना महामारीको समयमा लगानी बढेर १ अर्ब रुपैयाँभन्दा बढी पुग्ने अनुमान थियो तर अब त्यसमा पनि करिब ३५ प्रतिशत थप लगानी गर्नुपर्ने अवस्था आएको छ,’ पौडेलले क्लिकमाण्डूसँग भने, ‘लामो समयको पर्खाइपछि आगामी नोभेम्बर महिनादेखि होटल सञ्चालनको तयारी गरिरहेका छौं ।’

चार तारेस्तरको होटलमा ८० वटा रुम रहनेछन् । जसमा ८ वटा स्वीट रुम र ७२ वटा डिलक्स रुम रहनेछन् । भवनमा होटलसँगै व्यापारिक कम्प्लेक्स समेत रहनेछ । जसमा ग्राउण्ड, पहिलो र दोस्रो तलामा आउटलेट रहनेछन् भने साथै कार्यालय, रेष्टुराँलाई भाडामा दिइनेछ । त्यसमाथिका तलामा होटल सञ्चालन हुनेछ । होटलमा कुल ८ वटा तला रहनेछन् । होटलको आठौं तलामा स्वीमिङ पुल हुनेछ ।

त्यसैगरी काठमाडौको बुढानिलकण्ठमा निर्माण भइरहेको बुढानिलकण्ठ हेरिटेज होटलको लागत पनि करिब ४६ प्रतिशतले बढेको छ ।

‘कोरोना महामारीमात्रै कारण होइन, यसबीच बढेको ब्याजदरका कारण पनि लागत बढेको हो,’ अध्यक्ष राजेन्द्र केसीले भने, ‘यसबीच हामीहरुले १ रोपनी जग्गा थप खरिद, चार तारेलाई पाँच तारे बनाउँदा, बैंक्वेट हल तथा हेल्थ क्लब थप गर्दा समेत लगानी बढेको हो ।’

बुढानिलकण्ठ हेरिटेज होटलमा नेपाल बैंक र नेपाल एसबीआई बैंकको कर्जा लगानी छ । केसीका अनुसार ७०ः३० अनुपातमा ऋण र इक्विटी लगानी भएको छ । होटलले शुरुवाती समयमा ९० करोड ऋणका लागि रेटिङ गराएको थियो ।

होटल आगामी सन् २०२३ को जनवरीदेखि सञ्चालनमा आउने अपेक्षा गरिएको छ ।

‘हाम्रो चाहना २०२२ देखि नै सञ्चालन होस् भन्ने थियो तर कोरोनालगायतका विभिन्न कारणले करिब १५ महिना समय थपिएको छ,’ उनले भने, ‘हाल भवन निर्माणको काम सकिएर इन्टेरियरको काम पनि ८० प्रतिशतले पूरा भइसकेको छ, सम्भवतः आगामी जनवरी महिनादेखि सञ्चालनमा आउँछ ।’

कोरोना महामारीकै बीच निर्माण भएको अर्को होटल हो, काभ्रेको दुसितथानी हिमालयन रिसोर्ट तथा स्पा । १ अर्ब २७ करोड रुपैयाँ कुल लगानी लाग्ने अनुमान गरिएको यस प्रोजेक्टमा सानिमा बैंकको अगुवाईमा राष्ट्रिय वाणिज्य बैंकको पनि ऋण लगानी छ ।

राजधानीमा अर्को पाँच तारे होटलसमेत निर्माण भइरहेको छ । काठमाडौंको ठूलो भर्याङमा निर्माण भइरहेको ट्रयाङक्युलिटी रोयल पाँच तारे होटलमा २ अर्ब २९ करोड ३० लाख रुपैयाँ लगानी रहनेछ । जसमा ८०ः३० अनुपातमा बैंकको ऋण र इक्विटी रहनेछ ।

उपत्यकामा निर्माण भइरहेको लैनचौरस्थित सेराटन होटलको पनि लगानी र समय दुबै बढेको छ । एकातिर धमाधम तारे होटलहरु निर्माण भइरहेका छन् भने अर्कोतर्फ कोरोना महामारीपछि पाँच तारे होटल होटल डेल अन्नपूर्ण बन्द छ भने लाजिम्पाटस्थित होटल सांग्रिला पनि बन्द छ ।

होटल तथा रेष्टुराँमा आकर्षण

नेपालमा पछिल्लो केही वर्षमा होटलहरुमा लगानी गर्नेको संख्या निकै धेरै छ । स्वदेशी मात्रै होइन विदेशी लगानी उल्लेख्यनीय रुपमा बढेको छ । पछिल्लो ६ आर्थिक वर्षमा १ खर्ब १० अर्ब ४२ करोड ३३ लाख २५ हजार १४० रुपैयाँ लगानीको प्रतिबद्धता आएको छ । जसले २० हजार ६५१ जनालाई रोजगारी दिने उल्लेख छ ।

उद्योग विभागका अनुसार आर्थिक वर्ष २०७८/७९ मा स्वदेशी र विदेशी गरी कुल २६ अर्ब ५१ करोड ४९ लाख ७६ हजार २१३ रुपैयाँ बराबरको लगानीको प्रतिबद्धता आएको थियो । त्यसैगरी आव २०७७/७८ मा होटलमा १३ अर्ब ४८ करोड ५४ लाख ८६ हजार ७८८ रुपैयाँ बराबरको लगानीको प्रतिबद्धता आएको छ ।

आव २०७६/७७ मा २० अर्ब ५२ करोड ७२ लाख ६ हजार ७९६ रुपैयाँ थियो । आव २०७५/७६ मा होटल तथा रेष्टुराँमा स्वदेशी र विदेशी लगानीको प्रतिबद्धता ११ अर्ब ४ करोड ४ लाख ३६ हजार ८८४ रुपैयाँ थियो ।

आव २०७४/७५ मा होटलहरुमा २३ अर्ब ८५ करोड ५४ लाख ९९ हजार रुपैयाँ बराबरको लगानीको प्रतिबद्धता आएको थियो भने आव २०७३/७४ मा होटलहरुमा १४ अर्ब ९९ करोड ९७ लाख १९ हजार ४५९ रुपैयाँ थियो ।

६ वर्षमा बैंकको लगानी ३०० प्रतिशतले बढ्यो

पछिल्लो ६ वर्षमा होटलहरुमा बैंक तथा वित्तीय क्षेत्रको लगानी ३०१.७१ प्रतिशतले बढेको छ ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने र २० लाख विदेशी पर्यटक ल्याउने घोषणा गरेसँगै होटलहरुमा स्वदेशी र विदेशी दुबै लगानी बढेको हो । जसमा बैंक तथा वित्तीय क्षेत्रको लगानी यस अवधिमा मात्रै बढेर १ खर्ब ६० अर्ब ३१ करोड १० लाख रुपैयाँ पुगेको छ । जुन सन् २०२१ को तुलनामा सन् २०२२ मा १० प्रतिशतले बढी हो ।

त्यसैगरी सन् २०२१ मा होटलहरुमा कुल लगानी १ खर्ब ४५ अर्ब ७५ करोड रुपैयाँ थियो । जुन सन् २०२० को तुलनामा २८ प्रतिशतले बढी हो ।

सन् २०२० मा बैंक तथा वित्तीय संस्थाले होटलहरुमा कुल १ खर्ब १३ अर्ब ८९ करोड लगानी गरेका थिए । जुन सन् २०१९ को तुलनामा २४.७ प्रतिशतले बढी थियो । सन् २०१९ मा ९१ अर्ब ३० करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो ।

सन् २०१८ को तुलनामा यो ३५.१ प्रतिशतले बढी थियो । सन् २०१८ मा ६७ अर्ब ५९ करोड रुपैयाँ लगानी थियो भने सन् २०१७ मा कर्जा लगाानी ५० अर्ब ९२ करोड र सन् २०१६ मा होटलहरुमा बैंक तथा वित्तीय क्षेत्रको लगानी ३९ अर्ब ९० करोड रुपैयाँमा सीमित थियो ।


क्लिकमान्डु