स्वास्थ्य बीमा कार्यक्रम कोरोना बीमा जस्तै हुनसक्छः चंकी क्षेत्री



काठमाडौं । नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले स्वास्थ्य बीमा कार्यक्रमलाई फरक ढङ्गले अघि बढाउनु पर्ने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको स्वास्थ्य बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै स्वास्थ्य बीमा कार्यक्रम महत्वपूर्ण कार्यक्रम भएपनि फरक ढङ्गले अघि नबढाए कोरोना बीमाको जस्तै अर्को रूप लिन सक्ने बताएका हुन् ।

स्वास्थ्य बीमा कार्यक्रमलाई अगाडि बढाउने हो भने नाम परिवर्तन गरेर अघि बढ्नु पर्ने बताए ।

‘जहाँ सरकार सहभागी हुन्छ, त्यहाँ भुक्तानीमा समस्या देखिएको छ । कोरोना बीमा पनि स्वास्थ्यसँग सम्बन्धित र स्वास्थ्य बीमा कार्यक्रम पनि स्वास्थ्यसँग सम्बन्धित छ,’ सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ)समेत रहेका क्षेत्रीले भने, ‘कार्यक्रमलाई प्रवाभकारी बनाउन परक ढङ्गले अघि बढ्नुपर्छ । नभए स्वास्थ्य बीमा पनि कोरोना बीमाको जस्तै अर्को रूप भएर जाने छ ।’

उनले सरकार सहभागी हुने बीमामा समस्या देखिएको समेत बताए ।

‘सामाजिक उत्तरदायित्वअनुसार कोरोना बीमा भएको थियो,’ उनले भने, ‘स्वास्थ्य बीमा पनि सामाजिक उत्तरदायित्वअनुसार सञ्चालनमा आएको हो । तर, सरकार सहभागी हुने बीमाको क्लेममा समस्या देखियो ।’

सरकारले आफ्नो दायित्वमा पर्ने रकम निकासा नगर्दा कोरोना बीमालेख खरिद गरेका बीमितले हालसम्म दाबी भुक्तानी पाएका छैनन् ।

दाबी भुक्तानीका लागि पटक–पटक छलफल भएपनि रकम भने निकास नभएको उनको अध्यक्ष क्षेत्रीको गुनासो छ । उनले स्वास्थ्य बीमामा देखिएको दाबी भुक्तानीको समस्याले गर्दा बीमा कम्पनीहरूले गर्दै आएको स्वास्थ्य बीमामा समेत भुक्तानी नपाइएने भन्ने शंका गर्न थालेको बताए ।

‘कोरोनाको टाइमा हामीले बीमा गर्यौं, जसले अर्थतन्त्रलाई चलायमान पनि गर्यो,’ क्षेत्रीले भने, ‘१२ अर्बको भुक्तानी गर्न बाँकी छ । ४ जना अर्थमन्त्री परिवर्तन भईसक्नु भएको छ ।

क्लेम सेटलमेन्टका लागि बारम्बार छलफल पनि हुन्छ । तर, रकम निकासा हुँदैन । अन्य संघ संस्थालाई पनि यस बारेमा पहल गर्न भनेको उनले बताए ।

क्लेम सेटलमेन्टको लागि बारम्बार छलफल भएपनि सरकारले आफ्नो दायित्व बहन नगरेको उनले बताए ।

कार्यक्रममा बोल्दै सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) बिरेन्द्र वैद्यवारले स्वास्थ्य बीमा बोर्डबाट सञ्चालन भएको स्वास्थ्य बीमालाई यूनिभर्सल हेल्थ कभरेजको नाम दिनुपर्ने बताए ।

यूनिभर्सल हेल्थ कभरेजभन्दा राज्यले प्रदान गर्ने स्वास्थ्य सुविधा भन्ने बुझिने उनको सुझाव छ ।

‘स्वास्थ्य बीमालाई यूनिभर्सल हेल्थ कभरेज मात्रै भन्नुपर्ने जस्तो लाग्छ,’ वैद्यवारले भने, ‘किनभने बीमाको शब्द जोडिँदा अन्य बीमामा पनि दाबी नपाइने हो की भन्ने गलत सन्देश दिएको जस्तो देखिन्छ ।’


क्लिकमान्डु