सरकार र निजी क्षेत्र सहकार्य गरी अर्थतन्त्रका चूनौती सम्बोधन गर्नुपर्छ



नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान अत्यन्त महत्त्वपूर्ण छ । कुल ग्राहस्थ उत्पादन र कुल रोजगारी सिर्जनामा निजी क्षेत्रको हिस्सा करिब तीन चौथाइभन्दा बढी छ ।

निजी क्षेत्रले मुलुकको कुल ग्राहस्थ उत्पादन, राजस्व सङ्कलन र रोजगारी सिर्जनामा अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको छ ।

मुलुकको आर्थिक विकासमा निजी क्षेत्रले पुर्याउँदै आएको योगदानको म उच्च प्रशंसा गर्दै आगामी दिनमा यो योगदानलाई अझ फराकिलो, खँदिलो, समन्यायिक, सन्तुलित र दिगो बनाउन सबैलाई अपिल गर्न चाहन्छु ।

कोभिड–१९ महामारीले शिथिल बनाएको हाम्रो अर्थतन्त्र रुस र युक्रेनबीचको युद्धका कारण थप प्रभावित हुने स्थिति छ । यसैले अहिले अर्थतन्त्रमा आन्तरिक तथा बाह्य दुबै चाप परेको स्थिति छ ।

बढ्दो उपभोगसँगै मुलुकले धान्न नसक्ने गरी बढिरहेको व्यापार घाटा, विदेशी मुद्राको घट्दो सञ्चिति, सुस्त बन्दै गइरहेको उत्पादनमूलक क्षेत्र, घट्दो कृषि उत्पादन र उत्पादकत्व, बढ्दो बेरोजगारी आदिका कारण मुलुकको अर्थतन्त्रलाई थप बिग्रन नदिन हामीले बुद्धिमत्तापूर्ण ढङ्गले हाम्रा वित्त तथा मौद्रिक नीतिलाई कार्यान्वयन गर्नुपर्ने खाँचो छ ।

यसका लागि सरकार र निजी क्षेत्र दुबैले एक आपसमा संवाद र सहकार्य गरेर अर्थतन्त्रको चुनौतीलाई सम्बोधन गर्नुपर्ने आवश्यकता छ ।

अर्थतन्त्रको सुदृढीकरणका लागि खासगरी तपाईं उद्यमी व्यवसायी साथीहरूले विदेशमा उत्पादित महँगा र विलासी वस्तुहरू स्वेदशमा आयात गर्न र उपभोग बढाउनतिर मात्र नलागेर स्वदेशमै उत्पादन सम्भव भएका वस्तु तथा सेवाहरूको उत्पादन वृद्धि र तिनको बजारीकरण गर्दै आयात प्रतिस्थापनमा सहयोग पुर्‍याउन त्यस क्षेत्रमा लगानी केन्द्रित गर्न म आग्रह गर्न चाहन्छु ।

कृषि क्षेत्र मुलुकको अर्थतन्त्रको आधारशिला भएकाले कृषि क्षेत्रको व्यवसायीकरण र यान्त्रिकीकरण गरी यस क्षेत्रको विकासमार्फत् आर्थिक वृद्धिको जग बलियो बनाउन र मुलुकको गरिबी र आर्थिक असमानता हटाउन तपाईंहरूले आफ्ना पूँजी र प्रविधिलाई त्यसतर्फ निर्देशित गर्न आवश्यक छ ।

साथै, विदेशी कच्चा पदार्थमा आधारित कम मूल्य अभिवृद्धि हुने प्रशोधन उद्योगभन्दा मुलुककै कृषि, वन तथा खानी क्षेत्रका कच्चा पदार्थहरूमा आधारित उद्योगधन्दाको विकास गरी स्वदेशमै आय र रोजगारी प्रवर्द्धन हुने गरी आफ्ना आर्थिक क्रियाकलापहरूलाई अघि बढाउन आवश्यक छ ।

यसैगरी विदेशी मुद्रा आर्जन हुने आर्थिक क्रियाकलापहरू जस्तै( प्रत्यक्ष वैदेशिक लगानी बढाउने तथा पर्यटन व्यवसायको प्रवर्द्धन गर्ने, निकासीजन्य उद्योगहरूको विस्तार गर्ने, निर्यात वृद्धि मार्फत व्यापार घाटालाई घटाउने, उपभोगजन्य र विलासिताका वस्तु तथा सेवाको आयात र उपभोगलाई निरुत्साहित गर्ने, रेमिट्यान्स आप्रवाहलाई औपचारिक माध्यमबाट आउन प्रोत्साहित गर्ने लगायतका विभिन्न कार्यहरूमा सरकारले तपाईंहरूको सक्रिय सहयोगको अपेक्षा गरेको छ।

यसैगरी उद्योग(व्यवसायमा बिजुलीको उपयोग बढाई पेट्रोलियम पदार्थको आयात र उपभोगलाई घटाउन ध्यान दिन पनि म यसै मञ्चबाट तपाईंहरूलाई आग्रह गर्न चाहन्छु ।

खासगरी तपाईंहरूले तात्कालिक लाभ लिने क्षेत्रमा भन्दा पनि दीर्घकालसम्म मुलुकको आर्थिक विकासमा सहयोग पुग्ने, मुलुकभित्रका श्रम, सीप र कच्चा पदार्थको अत्युत्तम परिचालन गरी निकासी बढाउने र मुलुकको अर्थतन्त्रको जग बलियो बनाउने एवं बढी भन्दा बढी रोजगारी सिर्जना गर्ने र सरकारलाई मुलुकको विकासका लागि आवश्यक स्रोत परिचालन गर्न सहयोग पुर्‍याउने क्षेत्रमा लगानी विस्तार गर्न आवश्यक छ ।

यसका लागि म निजी क्षेत्रका सबै उद्यमी, व्यवसायी साथीहरूलाई यसै मञ्चबाट अनुरोध गर्न चाहन्छु ।

मुलुकको अर्थतन्त्रलाई थप बिग्रन नदिन र ट्रयाकमा ल्याउन सरकार निजी क्षेत्रसँग हातेमालो गर्दै अघि बढ्न तयार छ । निजी क्षेत्रलाई उद्यम व्यवसाय गर्न आवश्यक नीतिगत व्यवस्था र पूर्वाधार सुविधाहरू उपलब्ध गराउन सरकार सदैव प्रतिबद्ध छ ।

मुलुकभित्र उद्योग व्यवसायको पर्याप्त विकास विना आर्थिक विकास र समृद्धि आउन सक्दैन। निजी क्षेत्रको बलियो संलग्नताविना मुलुकमा उद्योग व्यवसायलाई अघि बढाउन सकिँदैन ।

यस कुरालाई आत्मसात् गरी निजी क्षेत्रलाई लगानीको उचित वातावरण प्रदान गरी सरल र सहज रूपमा उद्यम व्यापार सञ्चालन गर्नसक्ने वातावरण निर्माण गर्न सरकारले विभिन्न कानूनी, नीतिगत र संस्थागत सुधारहरू गर्दै गइरहेको छ । यसलाई आगामी दिनमा पनि निरन्तरता दिइने कुरामा यहाँहरू सबैलाई आश्वस्त तुल्याउन चाहन्छु।

कोभिड–१९ महामारी र अन्य प्राकृतिक एवं गैर प्राकृतिक विपत्तिको अवस्थामा पीडितहरूलाई उद्धार गरी राहत प्रदान गर्न परिसंघ र यसमा आबद्ध संस्थाहरूले गरेको सहयोगप्रति आभार प्रकट गर्न चाहन्छु ।

राष्ट्र बैंकले भर्खरै यस वर्षको बजेट कार्यान्वयनमा सहयोग पुर्‍याउने गरी मौद्रिक नीति जारी गरेको छ ।

यसबाट मुलुकमा कृषि क्षेत्र, उत्पादनमूलक तथा निकासीजन्य उद्योगको विकासका लागि सकारात्मक योगदान पुग्ने अपेक्षा लिइएको छ ।

उक्त नीतिले व्यवस्था गरेका सहुलियतपूर्ण व्यवस्थाहरूको उपयोग गरी उत्पादनमूलक तथा निकासीजन्य उद्योगको विकासमा लाग्न म निजी क्षेत्रका साथीहरूलाई हार्दिक आग्रह गर्न चाहन्छु।

राजनीतिक परिवर्तन पश्चात् मुलुकलाई आर्थिक रूपान्तरणको क्षेत्रमा द्रुततर रूपमा अघि बढाई देशलाई जतिसक्दो चाँडो समृद्ध मुलुकको रूपमा स्थापित गर्नुपर्ने चुनौती हामी सामू छ ।

यस कुरालाई मध्यनजर गर्दै स्थानीय सम्भाव्यतालाई सक्दो उजागर गरी देशभित्र उत्पादन र उत्पादकत्व वृद्धि गर्न, रोजगारीका अवसरहरू सिर्जना गर्न, निकासी बढाउन र देशलाई आर्थिक रूपमा सबल एवं आत्मनिर्भर बनाउन आ-आफ्नो ठाउँबाट योगदान पुर्‍याउन म सम्पूर्ण उद्यमी, व्यवसायी साथीहरूमा हार्दिक अनुरोध गर्दछु ।

(प्रधानमन्त्री शेरबहादु देउवाले सीएनआईको १९औं साधारणसभामा व्यक्त गरेको विचार)


क्लिकमान्डु