वैदेशिक रोजगारीमा जानेको संख्या ४ वर्षयता कै उच्च, प्रमुख गन्तव्य साउदी अरेबिया



काठमाडौं । गत आर्थिक वर्ष ४ वर्षपछिकै सबैभन्दा बढी नेपाली रोजगारीको सिलसिलामा विदेशिएका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार आव २०७४/७५ पछि आव २०७८/७९ मा सबैभन्दा बढी रोजगारीको खोजीमा विदेशिएका छन् ।

पुनः श्रम स्वीकृतीसहित २०७३/७४ मा ६ लाख ४२ हजार ८५९ जना विदेशिएका थिए । त्यसपछि २०७४/७५ मा ६ लाख १२ हजार ६८५ जना र २०७५/७६ मा ५ लाख ८ हजार ८२८ जना श्रम रोजगारीका लागि विदेशिएका थिए ।

आव २०७६/७७ मा ३ लाख ६८ हजार ४३३ जना नेपाली विदेशिएका थिए । जसमा सो वर्षको अन्यतिर विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण रोजगारीमा असर पुगेको थियो ।

कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय उडान बन्द र विदेशी नागरिकलाई विभिन्न देशले प्रवेशमा बन्देज गरेका थिए । जसले गर्दा आव २०७७/७८ मा रोजगारीको क्रममा विदेशिनेको संख्या ह्वात्तै घटेको थियो । सो वर्ष पुनः श्रम स्वीकृतिसहित १ लाख ६६ हजार ६९८ जना विदेशिएका थिए ।

त्यस्तै, आव २०७८/७९ मा कोरोनाको असर कम भएपछि पुनः रोजगारीमा जाने क्रम बढेको विभागका महानिर्देशन शेषनारायण पौडेलको भनाइ छ ।

उनकाअनुसार गत वर्ष शुरुवातीदेखि नै कोरोनाको असर कम र गन्तव्य मुलुकले उच्च कामदारको माग भएकाले विदेशिनेको संख्या बढेको हो ।

गत वर्ष नेपालबाट पुनः श्रम स्वीकृतिसहित ६ लाख २८ हजार ५०३ जना विदेशिएको विभागले जनाएको छ । जुन ४ वर्ष यताकै उच्च हो । नेपालबाट विदेश गएकामध्ये ५ लाख ७९ हजार ५२८ जना पुरुष र ४८ हजार ९७५ जना महिला रहेको महानिर्देशक पौडेलको भनाइ छ ।

गत वर्ष ३ लाख ४७ हजार ५०४ जनाले मात्रै नयाँ श्रम स्वीकृति लिई विदेशिएका छन् । विदेश गएकामध्ये ३ लाख ४१ हजरा ५४८ जना पुरुष र ३२ हजार ९५६ जना महिला छन् ।

प्रमुख गन्तव्य साउदी अरेबिया
मलेसिया रोजगारी बन्द हुनुभन्दा अगाडि नेपालीहरूको प्रमुख गन्तव्य मलेसिया थियो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २०७५ साल जेठ २ गतेदेखि मलेसिया कामदार पठाउने संस्थाले अतिरिक्त शुल्क लिएको भन्दै मलेसिया रोजगारी बन्द गरेको थियो । उक्त रोजगारी बन्द भएसँगै अहिले साउदी अरेबिया नेपालीहरूको प्रमुख गन्तव्य बनेको छ ।

गत आर्थिक वर्ष साउदी अरेबियामा मात्रै १ लाख ८८ हजार ३९८ जना पुगेका छन् ।

त्यस्तै, साउदी अरेबियापछि कतारमा १ लाख ८४ हजार ५०३ जना, युएईमा १ लाख २२ हजार ३६६ जना, कुवेतमा ३५ हजार ४४६ जना, मलेसियामा ३५ हजार ४४१, बहराइनमा १२ हजार ४०, रोमनियामा ७४ सय २, ओमनमा ६ हजार ८३८ जना, जापानमा ५ हजार ६२९ जना र क्रोसियामा ५ हजार २८६ जना गएका छन् ।

विभागले नेपालबाट विदेशिएका युवाहरूको प्रमुख १० गत्तव्यमा उक्त देश रहेको उल्लेख छ ।

महिलाको प्रमुख गन्तव्य बन्यो युएई
समग्रमा विदेशिनेको उच्च संख्या साउदी अरेबिया रहेपनि महिलाको प्रमुख गन्तव्य भने युएई रहेको पौडेलले बताए । नेपालबाट महिलाहरूलाई रोजगारीका लागि विदेश जान प्रतिबन्ध छ । तर, पनि विभिन्न अवैध बाटो हुँदै विदेशिने गरेको विभागको भनाइ छ ।

विभागकोअनुसार गत वर्ष करिब ४९ हजार महिला विदेशिँदा २१ हजार ११० जना युएईमा पुगेका छन् ।

त्यस्तै, कतारमा ७ हजार १२२ जना, कुवेतमा ५ हजार ३३९ जना, साइप्रसमा ३ हजार ६३८ जना, मलेसियामा १३ सय ९७ जना, माल्दिभ्समा ११ सय ६० जना, क्रोसियामा १ हजार ९९ जना, बहराइनमा १ हजार २ जना, जोर्डनमा ९३२ जना र रोमानियामा ८ सय ९५ जना महिला पुगेका छन् ।

१५ वर्षमा ७२ हजार नेपाली कोरिया पुगे
सरकारले जीटुजीमार्फत् पठाउँदै आएको रोजगार अनुमति प्रणाली (इपीएस) कोरियामा १५ वर्षको अवधिमा ७२ हजार ८१५ जना पुगेका छन् । सो अवधिमा ६८ हजार ३३४ जना पुरुष र ४४ सय ८१ जना महिला कोरिया पुगेको विभागको तथ्याङ्कले उल्लेख गर्दछ ।

नेपालीहरूको रोजगारीमा सुरक्षित, व्यवस्थित र आकर्षक गन्तव्य बनेको कोरियाले हरेक वर्ष परीक्षामा उतीर्ण भएका परीक्षार्थीलाई सन् २००८ देखि वार्षिक ५ हजारभन्दा बढीलाई रोजगारी दिँदै आएका छन् ।

विभागका महानिर्देशक पौडेलले कोरिया सरकारले नेपाली नागरिकलाई उच्च प्राथमिकतामा राखेर रोजगारी दिँदै आएको बताए ।

‘कोरोना महामारीका कारण करिब २ वर्ष कोरिया जान रोकेको थियो,’ उनले भने, ‘तर, अहिले पछिल्लो समय उच्च रुपमा गइरहेको छ ।’

नेपालबाट सन् २००८ मा २८ सय १४ जना, २००९ मा १९ सय ११ जना, २०१० मा २३ सय ३९ जना, २०११ मा ३ हजार ९८३ जना, २०१२ मा ६ हजार ३३२ जना, २०१३ मा ५ हजार ४६ जना कोरिएका पुगेका थिए ।

साथै, सन् २०१३ मा ६ हजार २८ जना, २०१४ मा ५ हजार ८६६ जना, २०१५ मा ५ हजार ८६६ जना, २०१६ मा ८ हजार ७९ जना पुगेका छन् ।

त्यसपछि २०१७ मा ७ हजार ८ सय जना, २०१८ मा ८ हजार ५११ जना, २०१९ मा ७ हजार १३६ जना, २०२० मा १ हजार २७ जना, २०२१ मा ३८७ जना र २०२२ मा ५ हजार ५५६ जना कोरिया पुगेका छन् ।

उक्त विदेश गएकामध्ये करिब ३५ हजार अहिले कोरियामा रहेको विभागको अनुमान छ ।

३१ करोड रुपैयाँ क्षतिपूर्ति वितरण
गत वर्ष विभागमा परेको व्यक्तिगत तथा संस्थागत उजुरीमार्फत् ३१ करो ७९ लाख १८ हजार रुपैयाँ क्षतिपूर्ति दिलाएको छ ।

रोजगारीको नाममा विभिन्न देशमा पठाउँछु भन्दै उजुरी परेको अवस्थामा विभागले अनुगमन गरेर सो रकम क्षतिपूर्ति र राहत दिएको जनाएको छ ।

विभागमा गत वर्ष व्यक्तिगत तथा संस्थागत गरी ६५ करोड ७१ लाख ५८ हजार विगो दाबी रकमसहित १७ सय ४२ वटा उजुरी परेको थियो । त्यसमध्ये, २२ करोड ६८ लाख ९४ हजार रुपैयाँ विगो दावीसहित अदालतमा ८७ मुद्दा दायर गरेका छन् भने ४१७ वटा उजुरी मिलापत्र गरेको विभागले जनाएको छ ।


अरिष्मा मोक्तान