३ लाख मेट्रिक टन चामल उत्पादन क्षमतासहित यो वर्ष ८ वटा उद्योग दर्ता



काठमाडौं । चालु आर्थिक वर्षमा देशभर ३ लाख मेट्रिक टन चामल उत्पादन क्षमतासहित ८ वटा उद्योग दर्ता भएको छ । उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको जेठसम्ममा धान प्रशोधन गरी चामल उत्पादन गर्ने ८ वटा उद्योग दर्ता भएको हो ।

उक्त उद्योगहरूले चामलसहित चिउरा, मुजिया, दालगायत अन्य खाद्यान्न प्रशोधन गर्ने गरी स्थापना भएको विभागले जनाएको छ । विभागमा दर्ता भएको उद्योगबाट वार्षिक २ लाख ९८ हजार २४० चामल उत्पादन क्षमता रहेको उल्लेख छ ।

विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको शुरुवाती महिनामै २ वटा खाद्यान्न उद्योग दर्ता भएको देखिन्छ । साउनमा महावीर एग्रो प्रोडक्ट प्रालि र सिद्धिलक्ष्मी फुड्स प्रालि दर्ता भएको छ ।

पर्सा जिल्लाको वीरगञ्जमा उद्योग रहेको महावीर एग्रोले वार्षिक ७७ हजार मेट्रिक टन चामल उत्पादन क्षमतासहित उद्योग दर्ता गरेको छ । सो उद्योगले चामलसँगै २० हजार मेट्रिक टन चिउरा, १० हजार मेट्रिक टन भुजिया र १० हजार मेट्रिक टन सोयाबोडी उत्पादन क्षमता रहेको जनाएको छ । ६२ करोड कुल पुँजी रहेको उद्योगको ३२ करोड २५ लाख रुपैयाँमात्रै कार्यशील पुँजी रहेको छ ।

त्यस्तै, नवलपरासी जिल्लामा ३३ हजार ८४० मेट्रिक टन चामल उत्पादन क्षमतासहित सिद्धिलक्ष्मी फुड्स (चामल तथा दाल) उद्योग दर्ता भएको छ । १ अर्ब ७३ करोड कुल पुँजी रहेको उद्योगको ७६ करोड रुपैयाँ स्थिर पुँजी रहेको छ भने ९७ करोड रुपैयाँ कार्यशील पुँजी रहेको छ ।

उद्योगले ९ हजार ६ सय मेट्रिक टन दाल (मास, चना, मुङ, केराउ र मसुर) र १० हजार ८ सय मेट्रिक टन चिउरा उत्पादन क्षमता रहेको जनाएको छ ।

आरमसी फुड्स प्रालिले ३० करोड कुल पुँजीसहित बारा जिल्लामा ३० हजार मेट्रिक टन चामल उत्पादन क्षमताको उद्योग दर्ता गरेको छ । १७ करोड स्थिर पुँजी र १३ करोड कार्यशील पुँजी रहेको उक्त कम्पनीले चामलसँगै ९ हजार ६ सय मेट्रिक टन दाल र १० हजार मेट्रिक टन चिउरा उत्पादन क्षमता छ ।

नवरलपरासीमा पनि ७६ करोड ५० लाख कुल पुँजीसहित अग्नी एग्रो फुड्स प्रोडक्टको वार्षिक ४३ हजार २ सय मेट्रिक टन चामल उत्पादन क्षमता रहेको छ । साथै, कम्पनीले ४३ सय २० मेट्रिक टन चिउरा र अन्य दाना पनि उत्पादन गर्ने गरेको छ । जसमा कम्पनीको ४० करोड ५० लाख स्थिर पुँजी र ३६ करोड रुपैयाँ मात्रै कार्यशील पुँजी रहेको जनाएकोे छ ।

रुपन्देहीमा ४३ हजार २ सय मेट्रिक टन चामल उत्पादन क्षमतासहित दर्ता भएको सरोभार एग्रो इन्डष्ट्रिज प्रालिको कुल पुँजी ५५ करोड ६० लाख रुपैयाँ रहेको छ । कम्पनीको कार्यशील पुँजी भने २१ करोड रहेको विभागको तथ्याङ्कले देखाउँदछ । सो कम्पनीले ४३ सय २० मेट्रिक टन चिउरासहित दाना उत्पादन गर्ने गरेको विभागको भनाइ छ ।

त्यस्तै, पर्सा जिल्लामै २४ करोड कुल पुँजीसहित मोर नेचुरल फुड्स प्रालि दर्ता भएको छ । १५ हजार मेट्रिक टन चामल, ८३० मेट्रिक टन चिउरा, १५ सय मेट्रिक टन दाना, २५ सय मेट्रिक मैदा, ३ हजार मेट्रिक टन आटा, १०५० मेट्रिक टन सुजी र ८ हजार मेट्रिक टन दाल उत्पादन क्षमता रहेको उद्योगको भनाइ छ । उद्योगको १९ करोड ७० लाख स्थिर पुँजी रहेको छ भने ४ करोड ३० लाख रुपैयाँ कार्यशील पुँजी छ ।

कपिलवस्तुमा बाणगंगामा २६ हजार मेट्रिक टन चामल, ७ हजार ३२५ मेट्रिक टन चिउरा उत्पादन क्षमतासहित उद्योग दर्ता गरेको छ । उक्त कम्पनीको ३४ करोड कुल पुँजी, २३ करोड ८९ लाख स्थिर पुँजी र १० करोड १० लाख रुपैयाँ कार्यशील पुँजी रहेको छ ।

त्यसैगरी, जेठमा मात्रै पर्सामै त्रिवेणी राइस इण्डिष्ट्रि प्राली दर्ता भएको छ । ४८ करोड कुल पुँजीमा २२ करोड स्थिर पुँजी र २६ करोड कार्यशील पुँजी रहेको कम्पनीले वार्षिक ३० हजार मेट्रिक टन चामल, ७ हजार २ सय चिउरा र अन्य दाना उत्पादन क्षमता रहेको छ ।


क्लिकमान्डु