भारतले सुनमा भन्सार कर बढाएर १२.५% पुर्‍यायो, नेपालमा के असर गर्छ ?



काठमाडौं । भारत सरकारले सुन आयातमा लाग्दै आएको भन्सार कर बढाएको छ । शुक्रबार भारत सरकारले यसअघि ७.५ प्रतिशत भन्सार करबाट बढाएर १२.५ प्रतिशत बनाएको हो ।

विश्वको दोस्रो ठूलो सुन खपत हुने भारतमा भन्सार कर बढाएसँगै माग कम हुने त्यहाँको सरकारको अपेक्षा छ ।

भारतले देशमा खपत हुने सुनको ठूलो हिस्सा आयातमार्फत् पूरा गर्दै आएको छ । आयातमा निर्भर रहेको अवस्थामा भन्सार कर बढाउँदा यसले भारतीय मुद्रा थप अबमूल्य हुने विश्लेषकहरुको भनाइ छ ।

गत मे महिनामा व्यापार घाटा हालसम्मै उच्च २४.३ बिलियन डलर पुगेपछि आयात हुने वस्तुमा भारत सरकारले सतर्क बनेको थियो । सुन आयातमा अत्यधिक विदेशी मुद्रा खर्च हुन थालेपछि भारत सरकारले सुन आयात, चालु खाता घाटाबारे सुक्ष्म निगरानी बढाएको छ ।

तथ्यांक अनुसार भारतले गत वर्षको तुलनमा सुनमा आयातमा मात्रै ९ गुणा बढी ७.७ बिलियन डलर बढी खर्च गरिसकेको छ । जसले व्यापार घाटा बढाएको छ ।

यसअघि भारत सरकारले बजेटमार्फत सुनमा ७.५ प्रतिशत भन्सार कर र ३ प्रतिशत गुड्स एण्ड सर्भिस कर (जीएसटी) कायम गरेको थियो ।

मल्टी कमोडिटी एक्सचेञ्जमा सुनको मूल्य शुक्रबार ३ प्रतिशतले बढेर प्रति १० ग्राम ५१ हजार ९०० भारु कायम भएको छ । यद्यपि शुक्रबार विश्व बजारमा सुनको मूल्य भने घटेको छ ।

वर्ल्ड गोल्ड काउन्सिल (डब्ल्यूजीसी)का अनुसार सन् २०२१ मा भारत विश्वको चौथो ठूलो सुन रिसाइकल गर्ने देश बनेको छ । जसमा भारतले उक्त वर्ष मात्रै ७५ टन सुन रिसाइकल गरेको थियो । जुन विश्वको ६.५ प्रतिशत हिस्सा हो ।

नेपाली बजारमा के फरक पर्छ ?
छिमेकी मुलुक भारतमा सुनको मूल्य बढेसँगै त्यसको प्रत्यक्ष वा अप्रत्क्ष रुपमा असर नेपाली बजारमा पनि पर्न सक्छ । तर यसका लागि सरकारले पनि भन्सारलगायतका कर बढाउन सक्ने नेपाल सुन चाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यको भनाइ छ ।

‘भारत सरकारले भन्सार कर बढाउँदैमा नेपाली बजारमा सुनको मूल्यमा प्रत्यक्ष रुपमा फरक पर्ने होइन, तर सरकारले मूल्य समायोजनका लागि कर बढाउन भने सक्छ,’ उनले भने ।

हाल प्रति १० ग्राममा सरकारले ८ हजार ५०० रुपैयाँ कर लिन्छ । करिब ७५ हजार रुपैयाँ खरिद मूल्यमा ८ हजार ५०० रुपैयाँ थप गरी शुक्रबार सुनको बजार मूल्य प्रति १० ग्राम ८३ हजार ३३५ रुपैयाँ कायम गरिएको छ ।

यद्यपि हाल बजारमा सुनको आपूर्ति नै कम भएको व्यवसायीहरुको भनाइ छ ।

‘पहिलो दैनिक २० केजी सुन ल्याउन पाउने नियमलाई घटाएर १० केजी कायम गरिएको छ, जसले गर्दा सुनको माग धेरै भए पनि आपूर्ति कम भएको देखाउँछ,’ अध्यक्ष शाक्यले भने ।

सुनको मूल्य नेपाली बजारमा सस्तो र भारतीय बजारमा महंगो हुँदा अवैध सुनको कारोबार बढ्न सक्ने व्यवसायीहरुको तर्क छ । यसका लागि सरकारले भन्सार शुल्क बढाएर मूल्य समायोजन गर्न सक्छन् ।


क्लिकमान्डु