गण्डकी र प्रदेश १ बाहेक अन्य ५ प्रदेशले सीप विकास गर्न ५० करोड बजेट विनियोजन



काठमाडौं । प्रदेश सरकारले २०७९/८० को बजेट सार्वजनिक गरेका छन् । बुधबार सातै वटा प्रदेशले कुल ३ खर्ब ५ अर्ब ४६ करोड ५७ लाख ७४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेका छन् ।

चालु आवका लागि प्रदेशहरूले २ खर्ब ६१ अर्ब ८६ करोड ६७ लाख ७५ हजार रुपैयाँ बजेट विनियोवन गरेको थिए । जसमा अधिकांश प्रदेशको बजेटको आकार आगामी वर्षको लागि बढेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा १६.६४ प्रतिशत बढी बजेट विनियोजन गरेको छ ।

प्रदेशले विनियोजन गर्ने बजेटमा स्वरोजगार बनाउने उद्देश्यले सीप तालिमलाई जोड दिएका छन् । जसमा सातै प्रदेशले युवालाई स्वरोजगार बनाउनका लागि सीप तालिम प्रदान गर्नका लागि बजेट विनियोजन गरेको छ ।

गण्डकी र प्रदेश १ बाहेक अन्य ५ वटा प्रदेशले बेरोजगार युवालाई रोजगार प्रदान गर्ने उद्देश्यले ५० करोड ६३ लाख बजेट विनियोजन गरेको छ ।

उक्त प्रदेशहरूले सीप र तालिमलाई उच्च प्राथकितामा राखेर बजेटको सुनिश्चित गरेको छ । साथै, बजेट विनियोजन नगरेको प्रदेशले पनि सीप र तालिमलाई आवश्यक बजेट विनियोजन गरेको उल्लेख छ ।

बागमति प्रदेश: बागमति प्रदेशले पनि बजारको माग अनुरुपको दक्ष र अर्धदक्ष सीपयुक्त जनशक्ति तयार गर्न छोटो र लामो अवधिको तालिमहरू सञ्चालन गर्ने जनाएको छ । प्रदेशले प्रदेशभित्र बसोबास गर्ने गरिब, विपन्न र द्वन्द्व पिडित परिवारका रोजगारीको अवसरबाट वञ्चित १० हजार युवाहरूलाई स्वदेशमै काम गर्न सक्ने स्वरोजगारमुलक सीप सिकाउनका लागि ‘मुख्यमन्त्री सीप विकास तथा रोजगार कार्यक्रम’ सञ्चालन गर्न १५ करोड विनियोजन गरेको छ ।

सोही कार्यक्रमअन्तर्गत उद्योगहरूसँग सहकार्य गरी कार्यस्थलमा नै प्रशिक्षण दिई उद्योग तथा व्यवसायिक प्रतिष्ठानमा रोजगारी दिने व्यवस्था गर्ने बजेटमा उल्लेख छ ।

साथै, बेदेशिक रोजगारबाट फर्केका युवाहरूलार्य लक्षित गरी उद्यमशीलतामा प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरी स्वारेजगार अभियान र तालिम र सीप परिक्षणको विकास गर्ने उल्लेख छ ।

लुम्बिनी प्रदेश: लुम्बिनी प्रदेशले पनि रोजगार क्षेत्रलाई प्राथमिकतामा राखेको छ । ‘बरोजगारलाई रोजगारः साथमा ६ प्रदेश सरकार’ भन्ने नीति अनुरुप श्रम बजारमा रोजगारीका अवसर तथा सम्भावनाको अध्ययन गरी बेरोजगार युवा शक्ति, लक्षित वर्ष र द्वन्द्व प्रभावित परिवारलाई माग र आवश्यकताका आधारित सीपमूलक तालिम र वस्तुगत सहयोग कार्यक्रम सञ्चालन गर्न ३ करोड ४८ लाख बजेट विनियोजन गरेको छ ।

प्रदेश सरकारबाट निकायहरूबाट सञ्चालन गरिने सीपमूलक तालिम कार्यक्रमका लागि एकिकृत कार्यविधि बनाई नीजि क्षेत्रको समन्वयमा रोजगारीको व्यवस्था मिलाउने बजेटमा उल्लेख छ ।

साथै, वैदेशिक रोजगारीबाट फर्केका युवालाई सीप परिक्षण गरी सीपसँग सम्बन्धित पेशा व्यवसाय आबद्ध गराउने जनाएको छ । जसमा प्रदेशले युवा स्वरोजगारलाई बढी प्रोत्साहन गरेको छ ।

सुदुरपश्चिम प्रदेश: सुदुरपश्चिम प्रदेशले ‘सीप सिकौं, उद्यमशील बनौं’ भन्ने नारा साकार पार्न प्रदेशमा गुणस्तरीय बशुसीपयुक्त मानव संशाधनको विकास गरी रोजगार र स्वरोजगारका सम्भावना अभिवृद्धि गर्न महिला, दलित, जनजाती र पिछडिएका समुहलाई विशेष लक्षित गरी विभिन्न प्रकारका व्यावसायिक तथा सीप मुलक तालिम प्रदान गर्न ४ करोड १५ लाख विनियोजन गरेको छ ।

कर्णाली प्रदेश: श्रम तथा रोजगार सचेतना तथा प्रवद्र्धन सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ । जसमा वैदेशिक रोजगारबाट फर्केका तथा स्वदेशभित्र रोजगारीका अवसरबाट वञ्चित युवाहरूको सीप, प्रविधि र जाँगरलाई सिर्जनशील उद्यममार्फत् स्वरोजगार बनाउने कार्यक्रम सञ्चालनको व्यवस्था गरेको छ । जसमा प्रदेशले व्यावसायिक सीप नक्साङ्कन र सीप विकास सम्बन्धी क्षमता विकास गर्न ३ करोड बजेट विनियोजन गरेको छ ।

मधेस प्रदेश: मधेश प्रदेशले उद्योगहरूलाई चाहिने जनशक्ति उत्पादन गर्न निजी, गैरसरकारी संस्था, सथानीय तहको समेत सहभागितामा मुख्यमन्त्री सीप प्रवद्र्धन तथा रोजगार कार्यक्रममा २५ करोड बजेट विनियोजन गरेको छ ।

गण्डकी प्रदेश: गण्डकी प्रदेशले पर्यटन प्रवद्र्धन, औद्योगिक विकास र रोजगारीअन्तर्गत व्यवसायिक उत्पादन तथा रोजगारी अभिवृद्धिका लागि युवामा उद्यमशिल उद्योग स्थापना गर्न उद्यमशिलता विकास, सीपमुलक तालिम र स्टार्टअप बिजनेशलाई प्रोत्साहन गर्ने कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरेको उल्लेख छ ।

प्रदेश १: प्रदेश १ ले स्वरोजगार अभिवृद्धिका लागि व्युटिशियन, सिकर्मी, डकर्मी, हजाम, इलेक्ट्रिशियन, प्लम्बिङ एवं अन्य पियुक्त प्राविधकिहरू उत्पादन गर्न तालिम कार्यक्रमका लागि आवश्यक बजेट व्यवस्था गरेको छ । जसमा आगामी वर्ष रोजगार सूचना केन्द्रको सुदृढीकरण गरिनेछ । साथै, प्रदेश रोजगार नीति निर्माण गर्न आवश्यक बजेट व्यवस्था गरेको छ ।


क्लिकमान्डु