भारतले निर्यातमा प्रतिबन्ध लगाएको दुई सातामा चिनीको मूल्य प्रतिकेजी २० रुपैयाँले महंगियो



काठमाडौं । भारत सरकारले गत जुन १ गतेबाट चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा त्यसको असर देखिएको छ ।

आन्तरिक बजारमा चिनीको मूल्य उच्चरुपमा बढेकाले चिनीको मूल्यलाई सन्तुलन गर्न निर्यातमा प्रतिबन्ध लगाएको थियो ।

भारतले निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपालमा दुई हप्ताको अवधिमै प्रतिकेजी चिनीको मूल्य २० रुपैयाँले बढेको छ ।

नेपालको वैदेशिक व्यापारमा ठूलो हिस्सा रहेको भारत सरकारको नीति तथा निर्णयले नेपाली बजार निकै प्रभाव पर्ने गर्दछ । त्यस्तै, भारत सरकारले चिनी निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपाली बजारमा चिनी अभावसँगै मूल्य बढ्ने देखिन्छ ।

नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधारले भारत सरकारले निर्यातमा प्रतिबन्ध गर्ने वित्तिकै बजारमा मूल्य क्रमशः बढ्दै गएको बताए ।

उनकाअनुसार दुई हप्ताअघिसम्म खुद्रा व्यवसायीहरूले उपभोक्तालाई प्रतिकेजी ९० रुपैयाँदेखि ९५ रुपैयाँमा बिक्री गरेका थिए । तत्कालीन समयमा उद्योगीहरूले ८५ रुपैयाँमा उपलब्ध गराएका थिए । अहिले उद्योगीहरूले नै मूल्य बढाएर पठाएको हुँदा प्रतिकेजी २० रुपैयाँसम्म बढेको हो ।

बजारमा अहिले चिनी पर्याप्तमा मात्रामा पाए पनि मूल्य भने निरन्तर बढ्दै गएको उनको भनाइ छ ।

‘चिनी वितरणमा कुनै समस्या छैन । तर, खुद्रा बजारका व्यवसायीहरूले बिक्रीका लागि चिनी खरिद गर्ने बेलामा प्रतिकेजी ५ देखि १० रुपैयाँसम्म बढाउँदै लगेको छ,’ उनले भने ।

दुई हप्ताको अवधिमै बजारमा २० रुपैयाँले बढेकाले उद्योगी तथा व्यवसायीहरूले भारतको प्रतिबन्धको नाममा कालोबजारी शुरु भएको उनले बताए ।

‘दुई हप्ता अघिसम्म खुद्रा व्यवसायीहरूले ९० रुपैयाँ देखि ९५ रुपैयाँमा चिनी बिक्री गरेका थिए,’ उनले क्लिकमाण्डूसँग भने, ‘अहिले उद्योगीले नै मूल्य बढाएर पठाएपछि उपभोक्तालाई १०५ रुपैयाँदेखि ११० रुपैयाँमा बिक्री गरिरहेको छ ।’

विगतका दिनमा पनि सरकारी निकायबाट प्रदान गर्दै आएको चिनीको मौज्दात कम हुने वित्तिकै निजी उद्योगीहरूले कालोबजारी र कार्टेलिङ गरी मूल्य बढाउने प्रवृत्ति छ । जसले गर्दा हरेक वर्ष उपभोक्ताले उच्च मूल्यमा खरिद गर्न बाध्य छन् ।

झन अहिले भारत सरकारले नै प्रतिबन्ध लगाएपछि बजारमा कालोबजारीसँगै मूल्य अत्यधिक बढ्न सक्ने उनको भनाइ छ ।

‘विगतको दिनमा पनि विभिन्न बाहाना बनाउँदै कालोबजारी गर्ने व्यवसायीहरूलाई अहिले भारतको प्रतिबन्धले झन सहज बनाएको छ,’ उनले भने ।

साथै, मूल्य बढाउने क्रम अझै कतिसम्म जान्छ भन्ने अनुमान गर्न नसक्ने उनले जानकारी दिए । खुद्रा व्यवसायीहरूले सरकारले तोकेका मापदण्डअनुसार उद्योगीले प्रदान गरेको वस्तुमा ५ देखि ७ प्रतिशत नाफा खाएर बिक्री गरेको हुन्छ । त्यसमा पनि उद्योगीहरूले मूल्यमा तलमाथि गर्दा बिक्री गर्न निकै मुस्किल रहेको उनको गुनासो छ ।

नेपाल चिनी उद्योग संघका अनुसार नेपालको आन्तरिक खपत २ लाख ५० हजार रहेको जनाएको छ । त्यसमा १ लाख ३० हजार मेट्रिक टन स्वदेशी उद्योगले धान्दै आएको छ भने बाँकी चिनी विभिन्न मुलुकबाट आयात गर्ने गरेको छ । जसमा नेपालले सम्पूर्ण चिनी भारतबाट आयात गर्ने गरेको सरकारी तथ्याङ्कले देखाउँदछ ।

भन्सार विभागको तथ्याङ्अनुसार नेपालले ९ महिनाको अवधिमा ४ अर्ब ७० करोड ६२ लाख रुपैयाँ बराबरको ८ करोड ९९ लाख ७९ हजार केजी चिनी आयात गरेको छ । नेपालको वैदेशिक व्यापारमा ठूलो हिस्सा रहेको भारत सरकारबाट मात्रै नेपालले चिनी आयात गर्दै आएको छ ।


क्लिकमान्डु