नेपाली कागजको ‘दुस्मन’ बन्यो डिजिटल प्रविधि, धिताल भन्छन्, ‘पेशै छाड्नु पर्ने अवस्था आयो’



काठमाडौं । ससाना टिनका पातामा सेता कागजहरु पारिलो घाममा आगनभरी सुकिरहेका छन् । मान्द्रामा सुकाएको बिस्कुन जस्तै ।

घर छेवैको एउटा टहरोमा लोक्ता पकाउने, सफा गर्ने र कागज बनाउने मेसिनहरु छन् । केही महिलाहरु त्यहाँ काम गर्दै थिए ।

सुक्दै गरेका कागजलाई पुछपाछ पार्दै थिए, पसप्रसाद धिताल । काठमाडौं माँकलबारीको यो घरमा यसरी नेपाली हाते कागज उत्पादन हुन थालेको झन्डै २० वर्ष भइसकेको छ । यो घर उनै धितालको हो ।

नेपाली हाते कागज परम्परागत घरेलु उद्योग हो । २० वर्षदेखि यसै पेशामा परिवारसहित होमिएका धितालले नेपाली हाते कागजका धेरै उतारचढाव भोगेका छन् ।

कुनै समय नेपाली कागजको माग पुर्याउन हम्मेहम्मे परेको थियो । कागज दिएन भएर ‘साहुहरु’ रिसाउँथे । आज अवस्था ठीक उल्टो छ । नेपाली कागज उत्पादन गर्नेहरु विस्तारै पलाएन भइरहेका छन् । टिक्नसक्ने अवस्था छैन भन्छन् धिताल ।

यसको प्रमुख कारण नेपाली कागजको घट्दो प्रयोग नै हो । एकातिर सरकारले नेपाली कागज प्रयोगलाई प्रोत्साहन गरेको छैन भने अर्कोतिर सूचना प्रविधि यसको ‘दुस्मन’ बनेको छ ।

‘अहिले त पेशाबाट नै पलायन हुनुपर्ने अवस्था आएको छ,’ क्लिकमाण्डूसँग कुरा गर्दै धितालले भने, ‘सरकारले नहेरिदिँदा ठूलो समस्या भइरहेको छ ।’

धितालले आफ्नै उद्योगको आगनमा बसेर नेपाली कागजको दुखेसो पोखे ।

सिन्धुपाल्चोक घर भएका धिताल २०५६ सालमा कैलाली बसाईं सरेका थिए । त्यो बेला माओवादी द्धन्द्धको उत्कर्ष थियो । माओवादीले बोर्डिङ स्कुलहरु चल्न दिएन । अशान्ति भयो । धितालको परिवार कैलाली बस्न सकेन ।
कैलालीमा बेचबिखन पारेर ३ वर्षमै काठमाडौं छिरे धिताल ।

काठमाडौं आउपछि के गर्ने ? पढाइ एसएलसीमात्र थियो । काम खोजिरहेका धिताललाई एकजनाले सुझाव दिए, ‘घरेलु विभागले विभिन्न तालिम दिन्छ, त्यो लिनू जागिर पाइन्छ ।’

घरेलुमा गए । त्यहाँ धेरै किसिमका तालिम थिए । घडी, कप्युटर मर्मत, वायरिङ, सिलाइकटाई आदि । उनलाई भने नेपाली कागज बनाउने सीप सिक्न औधि मन थियो ।

नेपाली कागज मोहको छुट्टै कारण छ । त्योबेला उनी जोरपाटी, कपनतिर हिँड्दा नेपाली कागज सुकाएको देख्थे ।

‘टिनको पातामा सेतो कागज सुकाएको मलाई खुबै मन पथ्र्यो,’ धितालले सुनाए, ‘मैले पनि यस्तै कागज उद्योगमा जागिर खान पाए हुन्थ्यो भन्ने सोच्थेँ ।’

त्यही कारणले पनि उनले नेपाली कागज बनाउने तालिम रोजे । तीन महिनाको तालिम लिए ।

तालिम सकेपछि २०६० सालदेखि कौशलटारको एक कागज उद्योगमा जागिर गर्न थाले । महिनाको तलब २५ सय थियो । काम गर्दै जाँदा कागज बनाउनमा सिपालु भए । तलब ४ हजार पुग्यो ।

त्यसैगरी ४ वर्ष जागिर खाए । वि. सं. २०६४ सालमा भने माकलबारीको यही घरमा आफ्नै उद्योग स्थापना गरे- इन्द्रवति रिसाइक्लिङ नेपाली हाते कागज उद्योग ।

३ लाख रुपैयाँ लगानी गरे । कच्च पदार्थ, मेसिन, टिनका पाता, प्रेस मेसिन किने । उद्योग चलाउने ठाउँ बनाए ।

त्योबेला नेपाली कागजको माग धेरै थियो । उद्योग कम थिए । कागज राम्रो, नराम्रो जस्तो भए पनि जति पनि बिक्री हुन्थ्यो । व्यवसाय राम्रो हुँदै गयो । ६-७ जना कर्मचारी राखे ।

राम्रो व्यापार हुँदा महिनाको ३ लाख पुगेको व्यापार अहिले २ लाखमा झरेको छ । तलब र अन्य खर्चले गर्दा धेरै बचाउन नसकिएको धितालको भनाइ छ ।

उनले मासिक झन्डै १२० कोरी उत्पादन गर्छन् । जुन दैनिक हजार पिस हुन्छ । एक कोरीको १५ सय रुपैयाँ पर्छ । २ हजारमा बेच्न पाए बल्ला राम्रो फाइदा हुने उनको भनाइ छ । उद्योगीको कागजको मूल्य नबढे पनि बजारमा भने धेरै बढिसकेको उनी बताउँछन् ।

पछिल्लो समय धेरै उद्योगीहरु पलायन भइसकेका छन् । उनले तालिम दिएर उद्योग खोलेकाहरु पनि बन्द गरिसकेका छन् । टिक्न गाह्रो छ भन्छन् धिताल ।

‘म आफैं सबै काम गर्ने, मेरो आफ्नै घर भएकाले भाडा तिर्न नपर्ने भएकाले मलाई अलि सजिलो भएको छ,’ धिताल भन्छन्,’ ‘नत्र धेरै गाह्रो छ ।’

उनले तालिम दिएर उद्योग शुरु गरेकाले बन्द गरिसके । उनले कागज बनाउने तालिम पनि दिन्छन् ।

उनले गएको भदौमा एनएमबी बैंकबाट सहुलियत कर्जामा १० लाख रुपैयाँ ऋण लिएका थिए । यसले पनि उनको व्यापार बढाउन सहयोग गरेको छ ।

‘मैले लिएको ऋणबाट कच्चा पदार्थ किन्ने, केही उपकरण किन्ने र उद्योगको टहरो बनाउने प्रयोग गरेको छु,’ धितालले भने, ‘यसरी ऋण पाउँदा उद्योगलाई अगाडि बढाउन सजिलो भएको छ ।’

नेपालमा ६-७ सय नेपाली कागज उद्योग छन् । काठमाडौंमा मात्र ५०-६० वटा उद्योग रहेको उनी बताउँछन् । बजारमा कागजको सप्लाइ धेरै भयो ।

तर, माग लामो समयसम्म टिकेन । बिस्तारै घट्दै गयो ।

पछिल्लो ५ वर्षदेखि त यसको माग धेरै नै घट्दै गएको धिताल बताउँछन् । पछिल्ला दिनमा यसरी माग घट्नुमा २ कारण देखेका छन् ।

पहिलो कारण त सरकारले नेपाली कागजको प्रयोगलाई प्राथमिकतामा नराख्नु ।

नेपाली कागजको प्रयोग सीमित ठाउँमा मात्र छ । अहिले बढी नेपाली कागज प्रयोग हुने भनेको मालपोत, बैंकमा तमसुक लेख्नु, नागरिकताको फर्म भर्न हो ।

त्यसबाहेक केही मात्रामा भिजिटिङ कार्डहरु बनाउन र कसैले प्रमाणपत्र पनि बनाउन प्रयोग गर्छन् । तर, नगन्यमात्रै ।

उनले सुनेअनुसार लालपुर्जा बन्ने कागज भारतबाट ल्याउर प्रयोग भइरहेको छ । नेपाली कागज प्रयोग नगरेर भारतीय प्रयोग हुनुमा कमिसनको खेल हो भन्छन् उनी ।

दोस्रो कारण हो, कम्प्युटरको प्रयोग । कम्प्युटर तथा अन्य सूचना प्रविधिको प्रयोग भइरहँदा कागजको प्रयोग घट्दै गएको छ । पहिला बैंक, जिल्ला प्रशासन, मालपोतजस्ता सरकारी तथा निजी कार्यलयहरुमा ढड्डामा लेख्ने चलन थियो । त्यो ढड्डा नेपाली कागजको हुन्थ्यो ।

पछिल्लो समय यी कार्यालयहरमा ढड्डाको प्रयोगलाई हटाउँदै कम्प्युटरको प्रयोग हुन थालेको छ ।

‘नेपाली कागजको ढड्डामा लेख्ने चलन हट्दै जाँदा हाम्रो स्वात्तै घटेको छ,’ धिताल भन्छन्, ‘कम्प्युटरको प्रयोगले माग घटेको हो ।’

नेपाली हाते कागजमा अन्य धेरै समस्याहरु पनि थपिदै गएका छन् । कागजको मूल्य नबढ्नु ठूलो समस्याको रुपमा रहेको उनी बताउँछन् ।

‘तीन वर्षअघि प्रतिकुरी कागजको मूल्य १६ सय थियो भने अहिले १४ सयमा झरेको छ,’ धिताल भन्छन्, ‘मूल्य घट्नुको सट्टा उल्टो घटिरहेको छ ।’

एक कोरीमा २०० पिस हुन्छ ।

कागजको मूल्य घटिरहेको बेला यसको कच्च पदार्थको मूल्य भने बढिरहेको छ । जस्तो कि कागज बनाउँदा प्रयोग हुने कास्टिक सोडा ३५ सयबाट ८ हजार पुगेको छ । ७ सयको बोरा पर्ने ब्लिचिङ पाउडर १५ सय पुगेको छ । लोक्ता प्रतिकेजी १४० रुपैयाँ पर्छ । त्यस्तै, यसमा प्रयोग हुने बाविओ ३२ रुपैयाँ किलो पर्छ ।

नेपाली कागज उद्योगलाई बचाउने कि धरासायी बनाउने भन्ने हात सरकारमै छ । सरकारले केही नियम लगाउने हो भने नेपाली कागज उद्योग राम्रोसँग चल्ने धिताल बताउँछन् ।

‘सरकारले नेपाली कागज प्रयोग हुने उपायहरु खोजी गर्नुपर्छ,’ धितालले भने ।

जस्तो कि नागरिकता नेपाली कागजमा बनाउने, स्कुल, कलेजका सर्टिफिकेट नेपाली कागजले बनाउने र अन्य धेरै ठाउँमा नेपाली कागज प्रयोग गर्नै पर्ने नियम बनाउने हो भने उद्योग बाच्ने धिताल बताउँछन् ।


सन्तोष न्यौपाने