आइपीएलको डिजिटल राइटका लागि अम्बानी र जेफ बेजोसबीच युद्ध, ५० हजार करोड भारुको मोर्चा



एजेन्सी । अर्बपतिको लडाई पनि अचम्मलाग्दा खालमा हुन्छन् । उनीहरु व्यवसायिक स्वार्थलाई कुनै पनि अवस्थामा कमजोर हुन दिँदैनन् । हार खाएर पनि जित्ने लालसा हुन्छ उनीहरुको ।

व्यापारमा घाटा नहोस्, नाम होस् बदनाम होस् तर व्यापार भने चलीरहोस् । यस्तै सिद्दान्तको वरीपरी रहेर नै उनीहरुले काम गरिरहेका हुन्छन् ।

स्वार्थका लागि उनीहरु हुने नहुने सबै खालका गतिविधि गर्न तयार हुन्छन् । एकले अर्कोलाई पर्छान्, शक्तिको प्रयोग गर्न तथा प्रचार युद्धमा समेत एकले अर्कोलाई कमजोर बनाउन उनीरुले भए नभएका सबै खालका हर्कत गर्छन् ।

भारतका व्यापारीबीचको सम्बन्ध त्यति सुमधुर छैन । मुकेश अम्बानी र गौतम अडानीको सम्बन्ध जोगी देख्दा भैसी डराएको र भैसी देख्दा जोगी डराएको जस्तो खालको छ ।

यो आलेखमा भने भारतीय अर्बपतिको भन्दा पनि एक भारतीय अर्बपति र अमेरिकी अर्बपतिको बीचको लडाईको विषयलाई समेट्ने प्रयास गरिएको छ ।

भारत अमेरिकी अर्बपतिका लागि कारोबारका हिसाबले सानो बजार हुनसक्छ । यो आम मानिसको सोचाई हो । तर, अमेरिकी अर्बपतिका लागि भारतमा आफ्नो व्यवसायिक स्वार्थलाई बढावा दिनु अर्को महत्वपूर्ण स्वार्थको परिघटनाका रुपमा देखा परेको छ ।

विश्वव्यापीरुपमा क्रिकेटको ठूलो क्रेज छ । भन्न त क्रिकेट खेल्नेलाई मूर्ख र हेर्नेलाई महामूर्ख पनि भन्न भ्याएका छन् । तर, अवस्था त्यस्तो भने छैन । किनकी, क्रिकेटमा जोडिएको व्यवसाय र व्यापारले धेरै अर्बपतिको ध्यान खिचेको छ । धेरैलाई व्यापारिक साम्राज्य विस्तार गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको छ ।

दिग्गज व्यवसायीहरू फेरि आमनेसामने हुँदैछन् भन्ने आशयका समाचार भारतीय सञ्चार माध्यमहरुमा देखिन थालेका छन् । विशेष गरी मुकेश अम्बानी र जेफ बेजोसबीचको लडाई यतिबेला मुखरित भएर आएको छ । खासगरी इण्डियन प्रिमियर लिग (आइपीएल)को मिडिया अधिकारको लागि उनीहरु लडिरहेका देखिएको छ ।

त्यसमा पनि पहिलो पटक स्ट्रिमिङ अधिकार छुट्टै बेचिन लागेको छ । त्यसैका लागि उनीहरु एक आपसमा जुधीरहेका छन् । केही मिडियाले त यतिसम्म भनेका छन् कि यो लडाईका सिङ भने कस्को भाँचिने हो त्यो भने अहिल्यै भनीहाल्न भने मुस्किल नै छ ।

विश्वका दुई ठूला अर्बपति व्यापारी अम्बानी र जेफ बेजोसबीच भविष्यको खुद्रा व्यापार सम्बन्धी सम्झौतालाई लिएर चलिरहेको युद्धको बीचमा फेरि अर्को विषयमा आमने सामने भएका हुन् ।

त्यो इन्डियन प्रिमियर लिगको अनलाइन स्ट्रिमिङ अधिकारका लागि आमने सामने भएका हुन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले मंगलबार आईपीएल सिजन २०२३/२०२७ को मिडिया अधिकारका लागि बोलपत्र जारी गरेको छ । मिडिया अधिकारको लागि इ–अक्सन जुन १२ बाट सुरु हुने जनाइएको छ ।

स्ट्रिमिङ अधिकारहरू पहिलो पटक छुट्टै बेच्न सकिन्छ भन्ने ध्येयका साथ सो काम भइरहेको छ ।

यो पहिलो पटक हो कि टेलिभिजनमा खेलहरू प्रसारण गर्ने र तिनीहरूलाई अनलाइनमा स्ट्रिमिङ गर्ने अधिकार छुट्टै बेचिन लागेको हो । खासगरी अमेजन डट कम आइएनसीलाई कतै अनुमति दिन लागिएको त होइन भन्ने संशय पनि पैदा भएको छ ।

त्यसपछि प्राइम भिडियो सेवाको लागि ढोका खुल्नेछ । अम्बानीको रिलायन्स इन्डस्ट्रिज लिमिटेड र अमेजन दुबैले मिडिया अधिकार प्राप्त गर्न सक्दो प्रयास गर्नेछन् ।

त्यसका लागि उनीहरुको दौडधुप समेत शुरु भइसकेको छ । ती दुवै संस्था विश्वको सबैभन्दा छिटो गतिमा अगाडि बढीरहेको इ-कमर्सको बजारमा खास गरी सर्वोच्चता र श्रेष्ठताका लागि लडिरहेका छन् ।

उनीहरुले बोलपत्रको प्रक्रियामा पनि एकअर्कालाई पछार्नु र जित्नुलाई प्रतिष्ठाको प्रश्न बनाइरहेका छन् । आफ्नो रिपोर्टमा, ब्लूमबर्गले पकेट एसेस डिजिटल मनोरन्जन स्टार्टअपका सह–संस्थापक र सीईओ अदिती श्रीवास्तवलाई उद्धृत गर्दै लेखेको छ, ‘ लिलामी जित्नु प्रतिष्ठाको प्रश्न हो, त्यसैले रिलायन्स, अमेजन र अन्य खेलाडीहरूले आफ्नो पूर्ण शक्ति लगाउनेछन ।’

जानकारहरुका अनुसार अमेजन र रिलायन्सले डिज्नी र सोनी पिक्चर्स, जि इन्टरटेन्मेन्टबाट पनि बिडिङको लागि कडा प्रतिस्पर्धाको सामना गर्र्नुपर्नेछ । आईपीएल मिडिया अधिकार प्राप्त गर्न लाग्ने बोली मात्रै ५०००० करोड भारुभन्दा बढी जानसक्ने सम्भवना रहेको छ ।

लाइभ क्रिकेट स्ट्रिमिङ पछिल्ला दिनमा ज्यामितीय रुपमा लोकप्रियताको ग्राफमा चढ्दै गएको छ ।
क्रिकेटको लाइभ स्ट्रिमिङ भारतमा पनि बढ्दो क्रममा लोकप्रिय हुँदै गइरहेको छ । यो देशका १ अर्ब ४० करोड जनतासम्म पुग्ने प्रभावकारी माध्यम बनेको छ ।

किनकी, प्रविधिले दिएको अवसरको खास अथृमा सदुपयोग हुनुपर्छ भन्ने उनीहरुको मत छ । आइपीएलमा भारतको यो वर्षको सबैभन्दा ठूलो दर्शक संख्या रहेको बताइन्छ ।

यस्तो अवस्थामा, जसले लाइभ स्ट्रिमिङको अधिकार जित्छ उसले पाँच वर्षसम्म प्रत्येक वर्ष लगातार ६ हप्तासम्म अधिकतम दर्शकको पहुँच प्राप्त गर्नेछ। । यो आफैमा महत्वपूर्ण अवसर पनि हो ।

आइपीएलको २०२३ र २०२७ गरी कूल पाँच सिजनका लागि मिडिया अधिकारको लागि टेन्डरको निमन्त्रणा जारी गर्दा वा त्यसमा सहभागिताका लागि आग्रह गर्दा बीसीसीआईले भन्यो कि पहिलो पटक आइपीएल मिडिया अधिकारहरूको ई–लिलामी हुनेछ ।

जसको प्रक्रिया जुन १२ देखि शुरु हुनेछ । लिलामीमा भाग लिनको लागि, २५ लाख भारुको फिर्ता नहुने रकम मे १० सम्म जम्मा गर्नुपर्नेछ । बीसीसीआईका सचिव जय शाहले दुई नयाँ टोली र थप खेल आयोजना गरेर आइपिएलले नयाँ उचाइ चुम्नेमा आफू-आफू आशावादी रहेको बताएका छन् ।

त्यसमा पनि हटस्टारले पहिलो पटक लाइभ स्ट्रिमिङ अधिकार प्राप्त गरेको छ ।

इन्डियन प्रिमियर लिगको प्रसारण अधिकार हाल स्टार इन्डियासँग छ (पछि डिज्नीले किनेको थियो) । यसलाई स्टार इन्डियाले २०१८–२०२२ को लागि १६ हजार ३४८ करोड भारतीय रुपैयाँमा अधिग्रहण गरेको थियो ।

यसअघि सन् २००८ देखि २०१७ सम्म आईपीएलको प्रसारण अधिकार सोनीसँग थियो । सोनीले यी अधिकारहरू ८२०० करोड भारतीय रुपैयाँमा पाएका थिए ।

सन् २०१५ देखि २०१७ मा पहिलो पटक, हटस्टारले ३०३ करोड भारतीयरुपैयाँमा डिजिटल प्लेटफर्ममा म्याचहरू प्रसारण गर्ने अधिकार प्राप्त गरेको थियो ।

अब प्रश्न उठ्छ कसरी सुरु भयो अमेजन र रिलायन्स समूहबीचको विवाद ? यसको उत्तर खोज्न प्रश्नभन्दा जटिल काम र प्रक्रिया बाँकी रहेको छ ।

सन् २०१९ मा अमेजनले फ्यूचर कुपनको ४९ प्रतिशत सेयर १,५०० करोडमा किनेको थियो । यस सम्झौता अन्तर्गत, अमेजनले ३ देखि १० वर्ष भित्र फ्यूचर रिटेलमा हिस्सेदारी किन्नको अधिकार पनि पाएको थियो ।

तर, २०२० मा रिलायन्स रिटेलले फ्यूचर समूहको खुद्रा, थोक र रसद व्यवसाय २४ हजार ७१३ करोड भारतीय रुपैयाँमा खरिद गर्ने घोषणा गर्यो । त्यसयता यो विवाद शुरु भएको हो भन्नेहरु धेरै नै छन् ।

अमेजनले फ्यूचर-रिलायन्स रिटेल सम्झौतामा आपत्ति जनाउँदै सिंगापुर अन्तर्राष्ट्रिय मध्यस्थता केन्द्र मा मुद्दा पनि दायर गरेको छ ।

अमेजनले भनेको छ कि रिलायन्स र फ्यूचर रिटेल बीचको सम्झौता वा फ्यूचर कूपनहरू बीचको सम्झौताको बिरूद्ध देखिएको छ । त्यसपछि यो मुद्दा उच्च अदालतदेखि सर्वोच्च अदालत र राष्ट्रिय कम्पनी कानून न्यायाधिकरणसम्म पनि पुगेको छ । यसबाट अर्बपतिले एकले अर्कोलाई साइजमा राख्न के कति हदसम्मको भूमिका खेल्छन् भन्ने कुरा पनि देखाइदिएको छ ।

खासमा एकले अर्कोसँग हार्न हुन्न भन्ने मान्यताले घर गरेको छ । अर्बपतिमा देखिएको यस खालको शक्ति संघर्षले भने आयोजक संस्थालाई भने राम्रै कमाई गर्ने मौका प्रदान गरेको छ ।


क्लिकमान्डु