लकडाउनपछिका दुई वर्षमा मोबाइल आयातबाट ७१ अर्ब ७० करोड बाहिरियो



काठमाडौं । मुलुकमा कोरोना संक्रमणले धेरै व्यवसाय क्षेत्र गम्भीर असर गरिरहेका बेला मोबाइल व्यवसाय भने मालामाल भएको छ । कोरोना संक्रमणको दुई वर्षको अवधिमा मोबाइल आयात शतप्रतिशले वृद्धि भएको छ ।

मुलुकमा २०७६ चैत ११ गते लकडाउन शुरु भएको थियो । चालु आर्थिक वर्षको फागुन महिनासम्म आइपुग्दा अर्बौं रुपैयाँको मोबाइल हेन्डसेट मुलुकमा भित्रिएको छ ।

भन्सार विभागको विवरणअनुसार २०७६ चैत महिनादेखि २०७८ फागुनसम्म मुलकुमा ७१ अर्ब ७० करोड १६ लाख ७६ हजार रुपैयाँ बराबरका मोबाइल आयात भएका छन् ।

कोरोना संक्रमण शुरु भएको वर्ष २०७६ चैतदेखि असारसम्म ३ अर्ब ८० करोड ७० लाख ७१ हजार रुपैयाँ बराबरको मोबाइल आयात भएको थियो ।

त्यस्तै, आर्थिक वर्ष २०७७/७८ मा मुलुकमा ३६ अर्ब ९० करोड ४५ लाख ८४ हजार रुपैयाँ बराबरको मोबाइल आयात भएको थियो ।

चालु आर्थिक वर्षको २०७८/७९ को फागुन महिनासम्म ३० अर्ब ९९ करोड रुपैयाँको ४२ लाख ५९ हजार ९ सय ८९ लाई मोबाइल सेट आयात भएको छ । पछिल्लो २४ महिनामा मुलुकले मोबाइल हेन्टसेट आयातमा मात्रै ७१ अर्ब ७० करोड रुपैयाँ विदेश पठाउनु परेको छ ।

कोरोना संक्रमणको पहिलो वर्षमा मोबाइल आयात शतप्रतिशतले वृद्धि भए पनि पछिल्लो वर्षमा भने त्यसअनुसारको बिक्री नभएको व्यवसायीहरु बताउँछन् ।

आर्थिक वर्ष २०७६/७७ को चैतमा १४ अर्ब ६२ करोड ९ सय १७ रुपैयाँ बराबरको मोबाइल आयात भएको थियो । उक्त महिनामा ३८ लाख ४७ हजार ३ सय ४ मोबाइल सेट आयात भएको तथ्यांक विभागको विवरणमा उल्लेख छ ।

चालु आर्थिक वर्षको २०७८/७९ को फागुन महिनासम्म ३० अर्ब ९९ करोड रुपैयाँको ४२ लाख ५९ हजार ९ सय ८९ लाई मोबाइल सेट आयात भएको छ । कोरोना संक्रमण शुरु भएको चैत महिना र चालु आर्थिक वर्षको फागुन महिनासम्म आयात भएको मोबाइल आयातलाई हेर्ने हो भने ११२ प्रतिशतले वृद्धि भएको छ ।

समग्रमा हेर्दा यस अवधिमा मोबाइल व्यलसायमा उल्लेख्य वृद्धि भएको सम्बन्धित व्यवसायी बताउँछन् ।

‘पहिलो लकडाउनमा मोबाइल बिक्री धेरै फस्टाएको थियो,’ मोबाइल फोन आयात कर्ता संघका अध्यक्ष दीपक मल्होत्राले भने, ‘त्यसपछि भने त्यसरी वृद्धि हुन सकेन ।’

मोबाइल वितरण संघका अध्यक्ष दिनेश चुल्याद्योले कोरोनापछि मोबाइलको व्यवसाय राम्रोसँग फस्टाएको बताए ।

‘दुई वर्षको अवधिमा ५० प्रतिशतले व्यापार बढेको छ,’ चुल्याद्योले भने ।

‘कोरोनाको शुरुको ६ महिनामा माग ह्वात्तै बढ्यो । त्यसले गर्दा अभाव जस्तो देखियो,’ चुल्याद्योगले भने, ‘तर, आयात भने दोब्बर भएको थियो ।’ यो वर्ष मोबाइल आयात ४० अर्ब पुग्ने उनको अनुमान छ ।

सर्वसाधरण पनि अनलाइन कक्षा र वर्क फ्रम होममा गएपछि विशेष गरी दश हजारदेखि ३० हजारको फोनको बिक्री धेरै भएको थियो ।

लकडाउन शुरु भएपछि अनलाइन कक्षा, जुम मिटिङ, ‘वर्क फ्रम होम’ शुरु भए । यसका लागि स्मार्टफोनको माग बढेको मल्होत्रा बताउँछन् ।

‘जोसँग स्मार्टफोन थिएन, उनीहरुलाई स्मार्टफोन आवश्यक भयो,’ मल्होत्रा भने, ‘त्यसकारणले पहिलो लकडाउनमा व्यापक रुपमा मोबाइल फोनको बिक्री बढ्यो ।’

लकडाउन हुँदा भारतसँगको बोर्डर सिल थियो । चोरी पैठारीको फोन आउँदैनथ्यो । त्यसले पनि मोबाइल बिक्रीको तथ्यांक धेरै देखिएको थियो । अहिले मोबाइल फोनको बिक्री वितरण सामान्यरुपमा भइरहेको छ ।

‘बोर्डर खुलिसकेपछि चोरी पैठारीको पहिला जस्तै भएको छ,’ मल्होत्राले भने, ‘४० प्रतिशतसम्म चोरीका मोबाइल बिक्री भइरहेका छन् ।’

पछिल्लो वर्षमा भने बिक्रीमा कमी आएको उनले बताए । अहिले आयातमा वृद्धि भइरहेको छ । जति मोबाइल आयात भइरहेको छ त्यसअनुसार स्थानीय बिक्री नभएको चुल्याद्योगले बताए ।

‘अहिले आयातकर्तादेखि वितरक र खुद्रा पसलमा पनि मोबाइल स्टक धेरै छ,’ चुल्याद्योले भने, ‘आगामी वर्ष आयातमा कमी हुने देखिन्छ ।

२०७७/७८ मा कुल मोबाइल आयात ३६ अर्ब ९० करोड ४५ लाख ८४ हजार रुपैयाँ बराबरको ७० लाख ३० हजार ३ सय ६६ मोबाइल सेट आयात भएका थिए ।

यसअवधिमा ८ अर्ब ५८ करोड ४० लाख रुपैयाँको १ लाख ४४ हजार १ सय ८६ ल्यापटप र नोटबुक आयात भएका छन् ।


क्लिकमान्डु